प्रज्ञापारमिताहृदयसूत्र
१. एक समयमा मैले यस्तो सुनेँ । भगवान अनेक बोधिसत्व तथा भिक्षुहरुका साथमा राजगृहको गृध्रकूट पर्वतमा बिहार गरिरहनु भएको थियो ।
२. त्यसबेला भगवान गंभीर ‘अवसंबोधं’ भन्ने समाधीमा हुनहुन्थ्यो । त्यसैबेला आर्य अवलोकितेश्वर बोधिसत्व महासत्व गम्भीर ‘प्रज्ञापारमिता’को चर्या गर्दैहुनुहुन्थ्यो । (त्यस बेला) वहा (आर्य अवलोकितेश्वर बोधिसत्व) ले तलतीर हेर्नुभयो; वहाँले पञ्चस्कन्धहरु हेर्नुभयो र तीनीहरु आफैमा स्वभावशून्य रहेको देखनुभयो ।
३. तत्पश्चात भगवान बुद्धको प्रेरणावाट आयुष्मान शारिपुत्रले आर्य अवलोकितेश्वर बोधिसत्वलाई सोधनु भयो; “कसरी कुनै असल कुलपुत्र वा कुलदुहिताले जसले यस गम्भीर प्रज्ञापारमिताको चर्या गर्ने चाहना राख्दछ कसरी आफूलाई तयार गर्नु पर्दछ ?”
४. यसरी सोधनी भएपछि आर्य अवलोकितेश्वर वोधिसत्व महासत्वले आयुष्मान शारिपुत्रलाई यस्तो भन्नुभयो; “शारिपुत्र, कुनै कुलपुत्र वा कुलदुहिता जसले यो गम्भीर प्रजापारमिताको चर्यामा रहन चाहन्छ यसरी हेर्न पर्दछ;
५. पञ्चस्कन्धहरु छन्, र ती पञ्चस्कन्धहरु आफैमा स्वभावशून्य छन् भनि देखनु पर्दछ । रूप शून्यता हो, शून्यता नै रुप हो । रूपवाट बेग्लै शून्यता होईन, र शून्यतावाट बेग्लै रुप होईन । जो रुप छ त्यो शून्यता हो र जो शून्यता छ त्यो रुप हो ।
६. यसरीनै बेदना, संज्ञा, संस्कार, विज्ञान हरु पनि शून्यता नै हुन् । यसकारण, हे शारिपुत्र सबै धर्महरु शून्यता लक्षणवाट अनुत्पन्न छन्, तीनीहरु शान्त हुदैनन्, न अपवित्र हुन्छन् न पवित्र, तीनीहरुमा न केहि कमी पनि हुदैन न त ती पूर्ण हुन्छन् ।
७. यसैले हे शारिपुत्र, यस्तो शून्यतामा रूप हुदैन, बेदना हुदैन, संज्ञा हुदैन, संस्कार हुदैन, विज्ञान हुदैन । आँखा हुँदैन, कान हुँदैन, जिब्रो हुँदैन, शरीर हुँदैन, मन हुँदैन, रूप हुदैन, शब्द हुदैन, गन्ध हुँदैन, रस हुँदैन, स्पर्श हुँदैन, धर्म हुदैन ।
८. चक्षुधातु हुँदैन, यस्तै तरीकाले (श्रोत्रधातु, घ्राणधातु, जिह्वाधातु, कायधातु, र) मनोधातु सम्म हुदैन, धर्मधातु हुदैन, मनोविज्ञानधातु हुदैन । न विद्या न अविद्या; यस्तै प्रकारले जरा देखि मरणसम्म पनि रहदैन; यसरी नै दु:ख, दु:ख समुदय, दु:खको हान र दु:खनिरोधमार्ग हुदैन; न ज्ञान, न प्राप्ति न अप्राप्ति पनि हुदैन ।
९. त्यसैले, हे शारिपुत्र, जब कुनै कुराको प्राप्ति नै छैन, बोधिसत्वहरुवाट देशना भएबमोजिम प्रज्ञापारमितामा आश्रित रहि निर्भर भै चित्तावरणमै विहार गरी रहन्छन् । चित्तावरण पनि नरहेपछि निर्भय रहि, विपर्यास (दाँया बाँया गर्ने बिचार) रहित भै, अति (सवैभन्दा माथिल्लो तह), क्रान्त (पार भै), निष्ठ (अन्तिम) निर्वाण प्राप्त गर्दछन् । त्रिकाल (भू, वर्तमान र भविष्य) का सम्पूर्ण बुद्धहरुले प्रज्ञापारमितामा निर्भर रहि सबैभन्दा माथिल्लो तहको सम्यक सम्बोधि ज्ञान प्राप्त गरी सम्बुद्ध हुन्छन् ।
१०. त्यसैले, हरेकले यो बुझ्नु पर्दछ कि प्रज्ञापारमिताको मन्त्र महामन्त्र हो, अनुत्तर (यो भन्दा माथिको नभएको) मन्त्र हो, असम (यसको बराबरको अर्को नभएको) अतुलनिय (तुलना गर्न नसकिने)–सम मन्त्र हो, दु:खनाशक मन्त्र हो, यो सत्य मन्त्र हो किनकि यसमा कुनै अमिथ्या छैन, यो प्रज्ञापारमिता भनिने मन्त्र हो ।
११. जुन यस्तो छ; ‘ओँम् गते गते पारंगते पारसंगते बोधि स्वाहा ।’
१२. यसप्रकारले, हे शारिपुत्र, बोधिसत्वले गम्भीर प्रज्ञापारमिताको चर्या गर्दैजानु पर्दछ ।”
१३. तत्पश्चात् तथागत भगवान समाधीवाट उठनुभई आर्य अवलोकितेश्वर बोधसत्व महासत्वलाई लाई साधुवाद दिई भन्नुभयो; “साधु, साधु, हे कुलपुत्र ! यसै हो, हे कुलपुत्र, यहि हो । जसरी यहाँले सिकाउनुभयो, गम्भीर प्रज्ञापारमिताको चर्या त्यसरी नै गर्नु पर्दछ । यो सबै तथागत तथा अर्हतहरू वाट अनुमोदन भएको हो ।
१४. भगवानले यसरी आज्ञा गर्नु भएपछि आनन्दमनले आयुष्मान शारिपुत्र, आर्य अवलोकितेश्वर बोधिसत्व लगायत त्यस परिषदमा भेला हुनुभएका देवमनुष्य, असुर, गन्धर्व समेत सवैले अभिनन्दन गरे ।
१५. प्रज्ञापारमिता हृदयसूत्र समाप्त भयो ।