Categories
श्रीमद् भगवद् गीता

श्रीमद्भगवद्गीता बौद्धटीका

[wpseo_breadcrumb]

प्रथमोऽध्याय

प्रथमोऽध्याय

धृतराष्ट्र उवाच-

धृतराष्ट्रले भने –

धृतराष्ट्र –  हस्तिनापुर राज्यका प्रतिनिधिराजा । कौरववंशमा जेष्ठसन्तान भएता पनि जन्मान्ध भएको हुनाले शुरुमा राजा हुनबाट बञ्चित । पछि भाई राजा पाण्डु बनवास (र  निःसन्तान भई मृत्यु भएबाट) उनको प्रतिनिधिरूपमा पुन: राजा बनाइका । सुयोधन सुशासन आदि शये पुत्रका पिता । पुत्रमोहले अत्यन्त ग्रस्त । महाभारतको युद्ध हुँदा राजमहलमा बसी आफ्ना प्रमुख सहयोगी सञ्जयसंग सोधेको सन्दर्भ ।

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव: ।

मामका पाण्डवश्चैव किमकुर्वत सञ्जय ।।१।।

धर्मक्षेत्रे कुरुक्षेत्रे –            (यस) कर्तव्यभूमि र कर्मभूमि (दुवै)मा    

समवेता युयुत्सव: –          हे समताभावले देख्ने !, (त्यहाँ) युद्ध गरिदिने ईच्छाले समावेश भैआएका          

मामका पाण्डव: च एव –      मेरा र पाण्डवका (सन्तान र पक्षधरहरूले)

किम् अकुर्वत सञ्जय –       के के गरे? (भन) हे सञ्जय !      

धर्मक्षेत्र –     पूर्वकालमा धेरै धार्मिक यज्ञ-अनुष्ठान गरेकोले स्थान, त्यहाँ देहच्यूति भएमा नर्क जानु पर्दैन भन्ने किम्बदन्ति । आभ्यन्तरको अर्थमा आआफ्नो धर्म, स्वभाव निष्ठा वा कर्तव्य । धर्म-अधर्मको परिभाषा प्रपञ्चमय भई आसन्न महायुद्धलाई रोक्न अन्य सवै प्रयास विफल भएकोले ‘युद्ध’नै अन्तिम निष्कर्ष मानिएको हुँदा यस युद्धकार्य लाई ‘धर्म’कार्य मानिएको । यसैले यस युद्धमा भारतवर्षका सवै पुरुष आफ्ना स्वभाव निष्ठा र कर्त्तव्य अनुसार पक्ष वा विपक्षमा विना कुनै दवाव स्व-समावेश भएको । पारमार्थिक अर्थमा काय, वाक चित्त (त्रिकुल)को क्षेत्र ।

कुरुक्षेत्र –     कुरुवंशी राजवंशको पारम्परिक राज्य हस्तिनापुरको सीमान्त । भूगोलमा अहिलेको दिल्लीको दक्षिणी भाग र जोडिएको हरियाणको पानीपत इलाका, जहाँ भारतलो इतिहास बदल्ने तीनओटा निर्णायक युद्ध भएको थियो । संवृत्तिको अर्थमा कर्मभूमि । लोकमा परिकल्पित परतान्त्रिक सम्बन्ध अनुसार गर्नुपर्ने लोकव्यवहार । लौकिक कर्तव्य ।

समवेता –    समन्तभद्रतामा सबैतीर सबैलाई देख्नेबुझ्ने अवबोध गर्ने बोधिचित्त भएको । कुशल-अकुशल कर्महरूको व्यवहारको कुरुक्षेत्ररूपी ‘लौकिकसत्त्य’ र धर्मक्षेत्ररूपी विकल्परहित ‘परमार्थसत्य’ दुवैमा समरूपमा सम्यक् ज्ञान भएको । सञ्जयलाई सम्बोधन गरिएको विशेषण ।

मामका पाण्डवा –    मेरा र पाण्डवका सन्तानले ।

किं अकुर्वत – के के गरे ।

वेदव्यासवाट प्राप्त दिव्यदृष्टिले जुनसुकै घटना पनि सञ्जयले तत्कालै देख्दथे । तर उसले धृतराष्ट्रलाई live-show वर्णन गरेको होइन । उ पनि एक वीरपुरुष भएकोले युद्धमा उसले पनि भाग लिएका थिए । कौरव सेनापतिको निधन पछि उ हरेक पटक धृतराष्ट कहाँ आएर युद्धको वर्णन सुनाउने गरेका थिए । यसैले यस गीता अर्जुनलाई युद्धको प्रारम्भमा सुनाएको भएतापनि धृतराष्ट्रले भीष्मको शरशैयामा गएपछि दशौं दिनमा मात्र सुन्न पाएका थिए । यसैले धृतराष्ट्रले, ‘के के गर्दैछन’ भनेर नसोधेर ‘के के गरे’ भनेर सोधेका हुन् ।

सञ्जय –     धृतराष्ट्रका अन्तरङ्ग सेवक, दिव्यदृष्टि प्राप्त । महर्षि वेदव्यासको राजा धृतराष्ट्र स्वयंलाई दिव्यदृष्टि दिन चाहेका थिए । तर, धृतराष्ट्रले आफूले नलिई सञ्जयलाई दिलाइका थिए । जस बाट युद्धक्षेत्रको विना अपवाद सबै कुरा स्वत: देख्न सुन्न बुझ्न सक्ने दिव्य क्षमता सञ्जयलाइ दिएका थिए । सञ्जयले युद्धको सबै घटनाको वर्णन राजा धृतराष्ट्रलाई सुनाउँथे ।

सञ्जय उवाच-

सञ्जयले भने –  

दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।

आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत् ।।२।।

दृष्ट्वा तु पाण्डवा अनिकं –    देखेर पाण्डव(हरू)को (सहायताको लागि जम्मा भैआएको)सैन्यको

व्यूढं दुर्योधन: तदा –         व्यूह रचना, तब दुर्योधन (व्यूढ भई)

आचार्यम् उप-सङ्गम्य – (द्रोण)आचार्यको समीपमा गएर

राजा वचनम् अब्रवीत् –       राजाले यस्तो वचन बोले ।

राजा –       दुर्योधनको वास्तविक नमा सुयोधन हो । तर, युद्धमा पार पाउन कठिन भएको अर्थमा, र उसले सबै नाश गर्नेश  भन्ने आकाशवाणी भैराखेको सन्दर्भमा उसलाई सबैले ‘दुर्योधन’ नै भन्दथे । उ हस्तिनापुरका उत्तराधिकारी (जेष्ठ राजकुमार) मात्र थिए, त्यो पनि विवादास्पद नै हो । तर राज्यको संचालनमा हर्ताकर्ता थिए, सवैकुरा उसले चाहे वमोजिम हुने गर्दथ्यो । व्यवहारमा उ नै राजा थिए । उनले पिता’धृतराष्ट्र’ नामको लागि मात्र राजा भएको कमजोरी बुझेको हुनाले सञ्जयले धृतराष्ट्रको अहं तुष्टिको लागि दुर्योधनलाई ‘राजाले भन्नुभयो’ भनि सम्बोधन गरेको देखिन्छ ।

अनिकं –     सहायताको लागि जम्मा भएका सैन्य समूहहरू । सामान्यतया सैनिकहरू द्रव्य वा जागीरको आधारमा बटुल्ने गरिन्छ । तर, पाण्डवका पक्षमा जमा भएका सैन्यहरू त्यसरी पाण्डवहरूले खडा गरेका होइनन्, तीनिहरू विना कुनै करकाप स्ववकेकमा आएका नाता-गोता बन्धु-बान्धव, सुहृद-मित्र, धर्म-कल्याणमित्रहरू हुन् ।

कौरव पक्षमा ११ अक्षौहिणी र पाण्डवपक्षमा ७ अक्षौहिणी गरी जम्मा १८ अक्षौहिणी सेना महाभारतको युद्धमा भाग लिएका थिए । अक्षौहिणीलाई चतुरङगिणी पनि भनिन्छ; एक अक्षौहिणीमा  … पैदल सैनिक, … घोडचढी, … हात्ती  र … रथी रहन्थे ।     

व्यूढं –       व्यूह रचना । युद्धको लागि गरिएको संचरना योजना ।

आफूले धेरैपटक नाशगर्न प्रयास गरेता पनि सफल नभएको साथै आफ्नो कार्य समेत धर्मविरूद्ध छ भनेर जानेकोले  यस युद्धमा सम्पूर्ण रणनीतिक कुराहरू आफ्नो पक्षमा हुँदाहुँदै पनि अन्तस्करणमा दुर्योधन आफ्नो विजय प्रति विश्वस्त हुन सकेका थिएनन् ।

आचार्यं –     गुरू द्रोणाचार्य । कौरव पाण्डवका गुरु । शास्त्र र शस्त्रास्त्र दुवैका विशारद आचार्य । परशुरामवाट सकल शस्त्र-अस्त्रविद्या पाएका । ब्राह्मण भएर क्षत्रियकर्म गरेका । द्रुपदवाट अहिच्छत्रनगर जितेर पुत्रलाई राजा वनाएका ।

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम् ।

व्यूढा द्रुपदपुत्रेण तव शिष्येण धीमता ।।३।।

पश्य एतां पाण्डुपुत्राणाम् –     हेर्नुहोस् ! यो पाण्डुपुत्र(हरू)को    

अचार्य महतीं चमूम् –        हे आचार्य ! ठूलो सेनासमूह

व्यूढा द्रुपदपुत्रेण –           द्रुपदपुत्रले रचेको व्यूहरचना

तव शिष्येण धीमता –        हजूरको बुद्धिमान शिष्य

पाण्डुपुत्राम् –  युधिष्ठिरादि पाँच पाण्डुपुत्रहरु, प्रतिबिन्ध्यादि पाँच पाण्डवपुत्रहरु, भीमपुत्र घटोत्कच, अर्जुनपुत्र अभिमन्यु, सहदेवपुत्र …, नकुलपुत्र .. । साथै तिनका सहयोगी ।

महतीं चमूम् – ठूलो सेनाको जमावडा ।

आफ्ना पक्षमा ११ अक्षौहिणी र पाण्डव पक्षमा ७ अक्षौहिणी सेना जमा भएका थिए । तापनि दुर्योधनले आफनो भन्दा सानो सेनालाई पनि ठूलो समूह भनेर भन्नुको तात्पर्य उ सशंकति भएको जस्तो देखाउँछ ।  

द्रुपदपुत्र –    धृष्टद्युम्न । द्रौपदी र शिखण्डीसंगै होमाग्निवाट उत्पन्न । द्रोणाचार्यको बधको लागि द्रुपदले अग्निदेवबाट प्राप्त गरेका । भक्तिवेदान्त स्वामी प्रभुपादका अनुसार आफूलाई मार्न उत्पन्न गराइएको भन्ने थाहा पाएर पनि धृष्टद्युम्नलाई द्रोणाचार्यले शिष्यत्वमा लिई युद्धविद्या सिकाएका थिए ।

दुर्योधनले आफ्ना र आफ्ना सहयोगी गरी एघार अक्षौहिणी सेना भएता पनि उसले मात्र सात अक्षौहिणी पाण्डवपक्षिय सेनालाई महति भनेर सम्बोधन गरे । साथै, आफैलाई मार्न भनेर उत्पन्न गरिएका शत्रु भएका मित्रका पुत्र र आफ्नै शिष्य । यस्ता धृष्टद्युम्नलाई पाण्डवका सेनापति भएको उल्लेखगरी दुर्योधनले गुरुलाई शुर्याउन चाहे ।   

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।

युयुधानो विराटश्च द्रुपदश्च महारथ: ।।४।।

अत्र शूरा महेष्वासा –         यहाँ छन्, शूर महान धनुर्धरहरू(ष्वासी)

भीम: अर्जुनसमा युधि –       भीम(सेन) र अर्जुन जस्तै युद्धगर्ने

युयुधान: विराटश्च –         युयुधान, विराट पनि

द्रुपदश्च महारथ: –           द्रुपद पनि महारथी हुन्

महेष्वासा –   महान धनुर्धरहरू । तन्त्रको गुह्यार्थमा धनुष शून्यताको प्रतीक हो ।

भीमसेन –    वायुपुत्र । माहिलो पाण्डव । सर्वश्रेष्ठ गदाधर । नेवारले मान्ने असल देवता (भिंद्यो) । दशहजार हात्तीको बल भएको, बलवान ।

अर्जुन –      इन्द्रपुत्र । सर्वश्रेष्ठ धर्नुर्धर । श्रीमहादेवबाट पाशुपतास्त्र र गन्धर्वराजबाट मोहनास्त्र समेत पाएका । महासमुद्रको बीचमा महाराक्षसराज्य निवातकवचलाई ध्वंश गरेका । खाण्डवबन दाह गरी अग्निदेवबाट अक्षय ठोक्रो, गाण्डिव धनुष, र त्यसमा रहेसम्म कुनै हानी नहुने दिव्य रथ पाएका । यी सामग्री … युद्धपश्चात ….ले अग्निदेव कहाँ नासो राखेका हुन् ।   

युयुधान –    गीता शांकरभाष्य अनुसार कृष्णका प्रिय शिष्य सात्यकि । युद्धको अन्त्यमा बचेका दशजना मध्ये एक ।

विराट –      पाण्डवहरू गुप्तवास बसेको ‘मत्स्य’देशको राजा । हालको विराटनगर ।

द्रुपद –       पाण्डवहरूको ससुरा । द्रुपददेशको राजा । पाञ्चाल नरेश पनि भनिएको ।

महारथी –    सेनामा सवैभन्दा माथिल्लो वीरहरू, एक्लै दश हजार जना सैनिकसंग युद्धगर्न सक्ने भनिएको

धृष्टकेतुश्चेकितान: काशीराजश्च वीर्यवान् ।

पुरुजित्कुन्तिभोजश्च शैव्यश्च नरपुङ्गव ।।५।।

धृष्टकेतु: च चेकितान-        धृष्टकेतु, चेकितानपनि

काशीराज: वीर्यवान –         काशीका राजा वीर्यवान

पुरुजित् कुन्तिभोज: च –      पुरुजित्, कुन्तिभोज पनि

शैव्य: च नरपुङ्गव –         शैव्य जस्ता मनुष्यमध्ये वीर पनि

धृष्टकेतु –    जसको झण्डाले मात्र पनि शत्रुलाई भयभीत पार्दछ । चेदिराज शिशुपालका पुत्र । कंस र शिशुपाल सनकादि ऋषिले जय-विजयलई दिएको श्रापको कारण कृष्णकालमा उत्पन्न भएक हुन् ।

चेकितान –    चेकितान वृष्णीवंशीका यादव भनिएको छ । कतै केकय र कतै चेदिराज धृष्टकेतुको दोस्रो पुत्र पनि भनिएको पाइन्छ ।

पुरुजित् –    धेरैजनालाई जित्नेवाला,

कुन्तिभोज –  पाण्डवका माता कुन्तीका धर्मपिता, फुफाजू? । कुन्तिभोज देशका राजा । कतै कुन्तिभोजलाई देशको नाम पुरुजित् लाई  राजा भनिएको ।

शैव्य –       शिविदेशका राजा हुन् । शिवि परेवालाई बचाउन आफ्नो मासु काटी तौल्ने प्रसिद्ध दयालु राजा हुन्, तर शैव्यराजा उही हो वा वंशको हो स्पष्ट छैन ।

युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान ।

सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा: ।।६।।

युधामन्युश्च विक्रान्त –       युधामन्यु, जो युद्धमा बडो बिकराल क्रोध प्रदर्शन गर्दछ

उत्तमौजाश्च वीर्यवान –        उत्तमौजा जस्ता सदा उत्साही उद्यमी 

सौभद्रो द्रौपदेयाश्च –         सुभद्रापुत्र र द्रौपदीपुत्रहरु समेत

सर्व एव महारथा –           जस्ता सवै नै महारथीहरु हुन् ।

युधामन्यु –   जो युद्धमा बडो विकराल क्रोध प्रदर्शन गर्दछ  । युधामन्यु र उत्तमौजा दुवै जना पाञ्चाल देशका वीर भनिएका छन् ।

उत्तमौजा –    उत्तमौजा जस्ता वीर्यवान पनि । वीर्यवान भनेको उत्साही, कहिले हताश नभई स्फूर्तिसाथ उद्यम गर्ने ।

सौभद्र –     सुभद्राकापुत्र अभिमन्यु ।

द्रौपदेय –     द्रौपदीका पाँचजना पुत्रहरु हुन्; युधिष्ठिरवाट प्रतिबिन्ध्य, भीमसेनवाट सुतसोम, अर्जुनवाट श्रुतकर्मा, सहदेववाट श्रुतसेन, र नकुलवाट शतानिक ।

अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।

नायका मम सैन्यस्य सञ्ज्ञार्थं तान्ब्रवीमि ते ।।७।।

अस्माकं तु विशिष्टा ये –     हाम्रा पक्षका पनि जुन विशेष-विशेषहरू छन्

तान् निबोध द्विजोत्तम – तिनिहरूलाई राम्ररी जान्नुहोस्, हे द्बिजोत्तम

नायका मम सैन्यस्य –       मेरो सेनाका नायकहरू    

सञ्ज्ञार्थं तान्ब्रवीमि ते –       हजूरको जानकारीको लागि म भन्दछु ।

द्विजोत्तम –   ब्राह्मणहरूमा उत्तम । द्विज भनेको ब्राह्मणकुलमा जन्म हुनको साथै औपचारिक रूपमा संस्कारित भई ज्ञान लिएका । दुइ पटक जन्मेकाहरू मध्ये उत्तम भन्ने अर्थमा ।

भवान्भिष्मश्च कर्णश्च कृपश्च समितिञ्जय: ।

अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ।।८।।

भवान् भीष्म: च –           हजूर, भीष्म समेत

कर्ण:च कृप:च समितिञ्जय: –  कर्ण पनि, कृप पनि । जहिले पनि युद्धमा विजय गर्ने

अश्वत्थामा विकर्ण:च –       अश्वत्थामा विकर्ण पनि

सौमदत्ति: तथैव च –         सोमदत्तका छोरा(भूरिश्रवा) तथा यस्तै अरू पनि ।

भीष्म –      कान्छा अष्टवसु, श्राप भोग्न पृथ्वीलोकमा आएका । भीष्म पितामह । कौरव सेनापति । कौरव पाण्डवका बाजे । गङ्गापुत्र । अपराजित अद्वितीय वीर, परशुराम समेतलाई युद्धमा हराएका । पिताको सुखका लागि राज्याधिकार त्यागेका, ब्रह्मचर्यव्रत लिएका, हस्तिनापुरको राजालाई आफ्नो पितामानी निष्ठापूर्वक सेवागर्ने प्रतीज्ञा गरेका । पितावाट ईच्छामृत्युको वरदान पाएका ।

कर्ण –       दुर्योधनको मित्र । कुन्तिको कानीन (विवाहपूर्व जन्मिएको, कुमारीमाताको) छोरा । सूर्यपुत्र, जन्मजात कवच र कुण्डल सम्पन्न । मातावाट त्यक्त, धृतराष्ट्रका सारथी अधिरथवाट पालित । दुर्योधनका अन्तरङ्ग मित्र, अङ्गदेशका राजा । अर्जुनद्रोही ।

कृपाचार्य –    द्रोणाचार्य भन्दा अगाडी हस्तिनापुरका आचार्य । कौरव पाण्डवका गुरू । द्रोणाचार्यका बालसखा र पत्नि कृपिका जुम्ल्याहा भाई । लामो आयुको वरदान पाएका ।

अश्वत्थामा –  द्रोणाचार्यका छोरा । वडावीर । जन्मजात चूडामणी भएका । द्रुपदसंग छिनेर लिएको अहिच्छत्रनगरका राजा । लामो जीवन (अमरता)को वरदान पाएका । बाबुको पुत्रपक्षपातले नानाविध शिक्षा पाएको, तर ब्राह्मणोचित गुणको कमि भएको । उत्तराको गर्भस्थ अजन्मा शिशुहत्या गर्न ब्रह्मास्त्र चलाएका । आजसम्म पनि कृष्णश्रापले पीडित ।

विकर्ण –     कान्छा कौरव राजकुमार । धर्मात्मा । द्रौपदी चीरहरणको बेला अन्याय भएको आवाज उठाएने एक्ला व्यक्ति ।

अन्ये च बहव: शूरा मदर्थे त्यक्तजीविता: ।

नानाशस्त्र प्रहरणा: सर्वे युद्ध विशारदा: ।।९।।

अन्ये च बहव: शूरा –         अरू धेरै शूरवीरहरू समेत

मदर्थे त्यक्तजीविता: –        मेरो लागि जीउने ईच्छा (जीविता) त्याग गरेका

नानाशस्त्र प्रहरणा: –         अनेक प्रकारका शस्त्रले सन्नाह-सन्नद्ध भएका

सर्वे युद्ध विशारदा: –        सवै नै युद्धकलामा दक्ष भएका ।

यी वीरहरु द्रव्य या राज्यभोगको लोभले यहाँ सन्नाहसन्नद्ध भई आएका होइनन् । आआफ्ना धर्म निष्ठा कर्त्तव्य अनुरूप कुनै एकमा मिसिएका हुन् । स्वविवेकमा स्वधर्म कर्तव्यपालन गरेका । करकाप बेगर ।

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षतम् ।

पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षतम् ।।१०।।

अपर्याप्तं तत् अस्माकं बलं –   उनिहरूसंग हामीलाई (जित्न) पर्याप्त बल छैन,

भीष्माभिरक्षतम् –            भीष्मवाट रक्षित भएका (हामी)लाई ।

पर्याप्तं त्विदमेतेषां बलं –      उनिहरूलाई (जित्न) हाम्रो बल पर्याप्त छ

भीमाभिरक्षतम् –            भीमवाट रक्षित भएका लाई ।

युद्धनीतिका युद्धविद्याका सारा सूत्रहरू आफ्नो पक्षमा भएकोले दुर्योधन ढुक्क थिए । उसलाई संझना थिएन, व्यासदेवको भनाई, “एक ले शयेलाई पनि जित्न सक्दछ, शयेले एकलाइ पनि जित्न सक्दैन; युद्धको रिजल्ट यस्तै हुन्छ भनेर भन्न सकिंदैन” ।

अयनेषु च सर्वेषु यथाभागमवस्थिता: ।

भिष्ममेवाभिरक्षन्तु भवन्त सर्व एव हि ।।११।।

अयन् एषु च सर्वेषु –         सवैले नै मोर्चाहरूमा जसरी

यथा भागम् अवस्थिता: –     जे जहाँ खटाएका छन्

भिष्मम् एव अभिरक्षन्तु –     भिष्मलाई नै अभिरक्षागरी    

भवन्त सर्व एव हि –         तपाईहरू सवै कार्य गर्दैरहनु होस् ।

एक भीष्मनै पर्याप्त छ । यसैले आआफ्नो खटिएको अनुसार युद्ध गर्दै गर्न र भीष्मलाई कुनै कसैले अप्रत्याशित घात गर्दछ कि भनेर चनाखो सुरक्षित राख्न सबैलाई निर्देशन दिए ।

तस्य सञ्जनयन्हर्षं कुरुवृद्ध: पितामह: ।

सिंहनादं विनद्योच्चै: शङ्खंदध्मौ प्रतापवान् ।।१२।।

तस्य सञ्जनयन् हर्षं – उसको(दुर्योधनको) हर्ष बढाउन    

कुरुवृद्ध: पितामह: –         कुरुवंशका वयोवृद्ध हजूरबा(पितामह)ले

सिंहनादं विनद्य: उच्चै: –     उच्चस्वरले सिंहनाद गर्जनगर्दै    

शङ्खं दध्मौ प्रतापवान् –      शङख बजाई प्रताप देखाए ।

कुरुवृद्ध –    कुरुवंशमा सर्वाधिक वरिष्ठ । महर्षि वेदव्यासका भाई, गङ्गाका पुत्र । युवराज पद स्वयं त्यागगरी पिता(शान्तनु) र माता(योजनगन्धा)को विवाह गराएका । ततपश्चात जन्मेका दुइटा भाइ(चित्राङ्गद र विचित्रवीर्य)हरू यौवनकालमा नि:सन्तान भई मरेकाले वेदव्यास मार्फत निग्रहगरी भाईबुहारीहरू बाट धृतराष्ट्र, पाण्डुर विदुर जन्म गराएका । धृतराष्ट्रका सन्तान कौरव र पाण्डुका पुत्रहरू पाण्डव कहलाए । कौरव-पाण्डवका अभिमन्यु, लक्ष्मण प्रभृति छोराहरूले पनि यस युद्धमा भाग लिएका थिए । यसरी भीष्म अत्यन्त वयोवृद्ध थिए ।

तत: शङ्खाश्च भेर्यश्च पणवानकगोमुखा: ।

सहसैवाभ्यहन्यन्त स शव्दस्तुमुलोऽभवत् ।।१३।।

तत: शङ्खा:च भेरी:च –       त्यहाँ शङ्खहरू भेरिहरू पनि 

पणवानक गोमुखा: –         पणवानक, गोमुखहरू

सहसा एव अभ्यहन्यन्त –     अकस्मात् एकैसाथ बजाइएको     

स शव्द: तुमुलो अभवत् –     त्यस ध्वनी भयङ्करको भयो ।

शङ्ख –      समुद्रि शङ्खे किराको खवटा, फुकेर बजाइने ।

भेरि –       ठूला ढोलहरू

पणवानक –   कर्नाल?

गोमुख –     ?

हन्यन् –     बाजाहरू चार प्रकारबाट बजाइन्छ १.फुकेर, २.खोलमा पीटेर, ३.तार तन्काएर, ३.बस्तु बजाएर । यहाँ हन्यन् शव्दले ‘प्रहारगर्ने’ अर्थमा यी चारैओटा लाई बुझाउँदछ ।

तत: श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।

माधव: पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतु: ।।१४।।

तत: श्वेतै: हयै:युक्ते –        त्यसपछि सेता घोडाहरूमा जोतिएका      

महति स्यन्दने स्थितौ –      विशाल रथमा स्थित भएका     

माधव: पाण्डव: च एव –      माधव र पाण्डवले पनि

दिव्यौ शङ्खौ प्रदध्मतु: –      दिव्य-दिव्य शङ्खहरू बजाए ।

श्वेतै:हयै:युतै-  सेता घोडाहरू जोतिएको रथ । खाण्डवबनको दहन पश्चात तृप्त भएका अग्निदेवले अर्जुनलाई वरुणदेवको निख्खुर सेता घोडाहरू जोतिएको दिव्य रथ, दिव्य गाण्डीव धनुष र अक्षय वाणको दिव्य ठोक्रो प्रदान गरेका थिए । दिव्य – सामान्य अर्थमा दैवी, अप्राकृतिक वा अलौकिक । यस लोकको होईन भन्ने अर्थमा ।

माधव –      कृष्णको अर्को नाम । मधु लाई मारेको भन्ने अर्थमा । मधु र कैटभ नामका दुई महादैत्यलाई मरेपछि तिनिहरुबाट यस भौतिक ब्रह्माण्ड बनिएको हो ।

पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनञ्जय: ।

पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर: ।।१५।।

पाञ्चजन्यं हृषिकेश: –        हृषिकेशले पाञ्चजन्य     

देवदत्तं धनञ्जय: –           धनञ्जयले देवदत्त 

पौण्ड्रं दध्मौ महाशङ्खं – पौण्ड्रनामका महाशङ्ख बजाए

भीमकर्मा वृकोदर: –          भयङ्कर कर्मगर्ने भीमसेनले ।

हृषिकेश –    हृषीक-ईश । चित्त हर्षिय गराउने ईश्वर, कृष्णको अर्को नाम ।

पाञ्चजन्य –  मत्स्यावतार विष्णु भगवानले शंखासुरलाई मारी उसको खवटा लाई फुकेर बजाउने गरेको । पाँचओटा महाभूतहरूवाट शून्यताबाटै जनिएको (उत्पन्न भएको) हो अन्ने अर्थमा ।

धनञ्जय –    धन जय गर्ने, अर्जुनको अर्को नाम ।

वृकोदर –     भीमसेनको अर्को नाम । ब्वाँसोको पेट; खाई रहनु पर्ने, खाईरहन सक्ने, धेरै मात्रमा खाने । जे पनि अटाउने पेट । एउटा सिंगै बोका खानसक्ने भनेर कतै भनिएको ।

भगवान कृष्णका अनन्त नामहरु छन् । तीमध्ये श्रीमद्भगवद्गीतामा यी नामले सम्बोधित हुनुभएको छ

१. माधव –         मह जस्तै मधुर । वसन्तऋतु जस्तै मनोहारी ।

२. हृषिकेश –        हृदय हर्षिय गराउने ईश्वर । चित्त मञ्जुलगर्ने, मञ्जुश्री ।

३. अच्युत –        आफ्नो स्थानबाट कहिले च्युति नहुने । हेतुप्रत्यय भन्दा बाहिरको । अपरिवर्तनीय

४. कृष्ण –          श्याम (हरियो अमोघसिद्धि) वर्णको । अरूलाई स्वत: आफूतीर खिंच्ने

५. केशव –         केशीनामको घोडारूपी असुरलाई संहार गरेका ।

६. गोविन्द –        गौविज्ञ । गोपालन विशारद

७. मधुसूदन –       मधु लाई मारेको भन्ने अर्थमा । मधु र कैटभ नामका दुई महादैत्यलाई मारेपछि तिनिहरुबाट यस भौतिक ब्रह्माण्ड बनिएको हो ।

८. जनार्दन –        सत्त्वप्राणीका पालक । सकलजनको अन्त:करणमा रहेका (अर्दन:)

९. वार्ष्णेय –        वृष्णी वंशमा उत्पन्न ।

१०. ….

महाभारत विराटपर्वमा अर्जुनले १०ओटा नामहरू यसरी अर्थ्याएको छ;

१. धनञ्जय –       सारा देशहरू जीती धन ल्याएको

२. विजय –         संग्राममा जहिले पनि जितेर आउने

३. श्वेतवाहन –      अग्निदेव प्रदत्त वरुणदेवको सेता घोडा जोतिएका सुनौला रथ वाहन भएका

४. फाल्गुन –        हिमालयमा जन्म लिएको

५. किरीटी –        इन्द्र महाराजले शीरमा मुकुट पहिराएकोले

६. बीभत्सु –        युद्धकालमा भयानक कार्य नगर्ने । संयमित रहने

७. सव्यसाची –      दायाँ मात्र होइन बायाँ हातले पनि उत्तिकै कुशलतासाथ वाण चलाउने

८. अर्जुन –         सरल सीधा नभएको । शुद्ध वर्णको, शुद्धकर्म मात्र गर्ने

९. जिष्णु –         दुर्दान्त लाई पनि दमन गर्ने

१०. कृष्ण –         वर्ण श्याम-गौरको बीचको भएकोले, बाबुले दिएको ।

श्रीमद्भगवद्गीतामा उसलाई यसरी पनि सम्बोधन गरिएको छ

१. पाण्डव  –        पाण्डुको पाँचजना सन्तान मध्येको

२. कुन्तिपुत्र –       कुन्तिको छोरा

३. गुडाकेश –        अन्धकारमा नडराउने । घुँघुरिएको कपाल भएको

४. पार्थ –           पार्थिया देश संग सम्बन्धिता ‘पृथा’ (कुन्तिको अर्को नाम)को छोरा भएको

६. पाण्डुपुत्र –        महाराज पाण्डुका पुत्र

७. कपिध्वज –       जसको ध्वजामा कपि हनुमान छ

८. कौन्तेय –        कुन्तिका छोराहरु मध्येको

९. भारत –         भरतवंशी । सम्पूर्ण भारतवर्षको प्रतिनिधि आदर्श

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिर: ।

नकुल: सहदेवश्च सुघोषमणिपुष्पकौ: ।।१६।।

अनन्तविजयं राजा – अनन्तविजय (नामको शङ्ख) राजा

कुन्तीपुत्र: युधिष्ठिर: –        कुन्तिपुत्र युधिष्ठिरले     

नकुल: सहदेव:च –           नकुल र सहदेवले पनि 

सुघोष मणिपुष्पकौ: –         सुघोष र मणिपुष्पक (नामका शङ्खहरू)

युधिष्ठिर –   धर्मराज पुत्र । जेठा पाण्डव । सर्वश्रेष्ठ धर्मपालक । युद्धमा स्थीर रहने ।

नकुल –      सर्वश्रेष्ठ बुद्धिमान ।

सहदेव –     सर्वश्रेष्ठ सुन्दर  ।

सहदेव नकुल अश्विनीकुमारहरुबाट प्राप्त जुल्याहा हुन् । यी दुइ मध्ये पनि सहदेवलाई जेठा मानिएको छ ।

काश्यश्च परमेष्वास: शिखण्डी च महारथ: ।

धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित: ।।१८।।

काश्य:च परम् इष्वास:-       महान धनुर्धर काशीका राजाले पनि 

शिखण्डी च महारथ: –        महारथी शिखण्डीले पनि 

धृष्टद्युम्न: विराट:च –       धृष्टद्युम्न र विराट(राजा)ले पनि

सात्यकि:च अपराजित:-       अपराजित सात्यकिले पनि

शिखण्डी –    द्रुपदको यज्ञवाट उत्पन्न कन्या शिखण्डिनी, पछि लिङ्ग परिवर्त भई कुमार शिखण्डी भएका । पूर्वजन्मका अम्बाले भीष्मवधकारिणी रूपमा जन्म लिएको ।

द्रुपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते ।

सौभद्रश्च महाबाहु: शङ्खान्दध्मु: पृथक्पृथक् ।।१८।।

द्रुपद: द्रौपदेय:च –           द्रुपद (राजा) र द्रौपदीका छोराहरूले पनि 

सर्वश: पृथिवीपते –           सवै नै राजाहरूले

सौभद्र:च महाबाहु: –          सुभद्राका महावाहु छोराले पनि  

शङ्खान दध्मु: पृथक्पृथक् –   आ-आफ्ना शङ्खहरू बजाए ।

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत् ।

नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन् ।।१९।।

स घोषो धार्तराष्ट्राणां –       त्यस आवाजले धृतराष्ट्रका (छोरा र पक्षधर) हरूका

हृदयानि व्यदारयत् –         हृदय चीर्दै

नभ:च पृथिवीं च एव –       आकाश देखि जमीनसम्म

तुमुलो व्यनुनात् अयन् –      कोलाहल गर्दै गुञ्जायमान गरे ।

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज: ।

प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डव: ।।२०।।

हृषिकेशं तदा वाक्यमिदमाह महीपते ।

अथ व्यवस्थितान् दृष्ट्वा –    त्यसपछि, यस्तो भएगरेको दृष्य देखेर     

धार्तराष्ट्रान् कपिध्वज: –      धृतराष्ट्रका पक्षमा; अर्जुनले

प्रवृत्ते शस्त्र सम्पाते –         शस्त्र चलाउन लागेको बेलामा

धनु:उद्यम्य पाण्डव: –        धनुषहरू उठाएर, पाण्डव (अर्जुन)ले

हृषिकेशं तदा वाक्यम् – हृषिकेशलाई त्यस बखत वचनगरी 

इदम् आह महीपते –         यसो भने, हे महीपते ! (पृथ्वीका राजा, धृतराष्ट्र)    

व्यवस्थितान् – रणनीतिक संरचना, formation वा strategy वा deployment ।

कपिध्वज –   अर्जुनको विशेष नाम । हनुमान बाँदर भएकोले कपि भनिएको, उ चढेको झण्डा (भएको रथ) । हनुमान र अर्जुन बीच भएको बाजी अनुसार हनुमानले ‘युद्धको बेला म तिम्रो झण्डामा बसेर डरलाग्दो आवाज निकाली शत्रु पक्षलाई तर्साउने छु” भने बमोजिम ध्वजामा स्थापित भएको ।

धनुरुध्यम्य – धनुषको उद्यम । धनुष-बाणको व्यवसाय, युद्धको बेला ।क्षात्रकर्म वा क्षत्रियधर्म भन्नु नै ‘युध्द’ हो । सुरक्षा, व्यवस्थापन, न्यायनिसाफ, प्रशासन हो । यसैले बुद्धधर्ममा क्षत्रियलाई ब्राह्मणभन्दा उच्च मानिन्छ ।

महीपते –     “माटो”लोकका राजा । यो सञ्जयले धृतराष्ट्रलाई गरेको सम्बोधन हो ।

अर्जुन उवाच-

अर्जुनले भने-

सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१।।

यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।

कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ।।२२।।

सेनयो: उभयो: मध्ये –        “दुई पक्षका सेनाहरू बीचमा      

रथं स्थापय मे अच्युत –      मेरो रथलाई राखिदिनुहोस्, हे अच्यूत     

यावत् एतान् निरीक्षे: अहं –    यि सवैलाई यहाँ म हेरूँ    

योद्धु-कामान् अवस्थितान् –   युद्धगर्ने मनसुवालिई (यहाँ) डटेका

कै:मया सह योद्धव्यम् –      को को सङ्ग मैले युद्धगर्नु पर्दछ

अस्मिन् रण समुद्यमे –      यो रणको उद्यममा ।    

अच्यूत –     जो आफ्नो स्थानबाट कहिले च्युति हुँदैन ।

रणसमुद्यम – क्षात्रकर्म वा क्षत्रियधर्म भन्नु नै ‘युध्द’ हो । सुरक्षा, व्यवस्थापन, न्यायनिसाफ, प्रशासन हो । यसैले बुद्धधर्ममा क्षत्रियलाई ब्राह्मणभन्दा उच्च मानिन्छ । 

योत्स्यमानानवेक्षेऽहं य यतेऽत्र समागता: ।

धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षव : ।।२३।।

योत्स्य मानान् अवेक्षे: अहं –   युद्धगर्ने मनसुवा लिइ आएकालाई म हेर्दछु    

य य एते इत्र समागता: –     जो तिनीहरू यहाँ सम्यकरूपमा जम्मा भएका छन्    

धार्तराष्ट्रस्य दुर्बुद्धे: –        धृतराष्टका खराब बुद्धिभएका (छोरा हरूका) लागि

युद्धे प्रिय चिकीर्षव : –       युद्धगरी प्रिय गरिदिन”

सञ्जय उवाच-

सञ्जयले भने –

एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत ।

सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।।२४।।

एवम् उक्त: हृषीकेश: –  यसरी भनिंदा हृषीकेशले  

गुडाकेशेन भारत –      गुडाकेश भारतद्वारा 

सेनयो: उभय: मध्ये –   दुवै पक्षका सेनाका बीचमा     

स्थापयित्वा रथोत्तमम् –  उत्तम रथलाई स्थापित गरिदिनुभयो

गुडाकेश –    अन्धकार, निद्रालाई वशमा गरेका । घुँघुरिएको कपाल भएको । अर्जुनको अर्को नाम ।

भारत –      भरतवंशी । कर्तव्यको भार बोकेका । अर्जुनको अर्को नाम ।

भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम् ।

उवाच पार्थ पश्यैतान् समवेतान्कुरूनिति ।।२५।।

भीष्म द्रोण प्रमुखत: –        (आफ्नै) अगाडी भीष्म द्रोणलाई    

सर्वेषां च महीक्षिताम् –       जहिले पनि देखि चिन्हि जानेका सवैलाई

उवाच पार्थ पश्य एतान् –      यहाँ हेर हे पार्थ ! भन्नुभयो (भगवानले)

समवेतान् कुरून् इति –       यसरी भलिभाँती जम्मा भएका कुरुवंशीलाई ।

महीक्षिताम् –  राजा प्रभृति हरू ।

मही –   जन-धन-सम्पत्ति र प्रकृति समेतको पृथ्वीलाई ।

ईक्षित – अवलोकन गर्ने ।  पालन-पोषण-रक्षण गर्ने हरू ।

तत्रापश्यत्स्थितान् पार्थ: पितृनथ पितामहान् ।

आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा ।।२६।।

तत्र अपश्यत् स्थितान् पार्थ: –  पार्थले त्यहाँ  स्थित भएका देखे     

पितृन् अथ पितामहान् –      बाबुपर्नेहरू, पितामह(बाजे)हरू     

आचार्यान् मातुलान् भ्रातृन् –   आचार्यहरू मामापर्नेहरू भाईहरू

पुत्रान् पौत्रान् सखीं: तथा – छोराभतिजाहरू नातीहरू साथीहरू पनि

अथ –       सन्दर्भ सहित; अर्थात्, नातागोतामा यसो भन्नुपर्नेहरू समेत

पार्थ –       पृथाबाट जन्मेको ।  कुन्तिलाई पालेका धर्मपिता, कुन्तिभोज पार्थिया (मत्स्यदेश) राजा भएकाले कुन्तिलाई पृथा पनि भनिएको ।      

श्वशुरान्सुहृदश्चैव सेनयोरूभयोपि ।

तान्समीक्ष्य स कौन्तेय: सर्वान्बन्धूनवस्थितान् ।।२७।।

श्वशुरान् सुहृद: च एव –   ससुराहरू शुभचिन्तकहरू पनि यसरी नै

सेनय: उभय: अपि –      सेनाहरूमा दुवैपक्षमा पनि

तान् समीक्ष्य स कौन्तेय: –     ति सवैलाई समीक्षा गरेर ती कौन्तेयले   

सर्वान् बन्धून् अवस्थितान् –    सकल बन्धुहरूका उपस्थितिलाई

सम् ईक्ष्य –   सबैलाई समुचित रूपमा अवलोकन गरी,

बन्धु –       बन्धु – रगतको नाता । बान्धव – फरियोको नाता ।

कौन्तेय –     कुन्तिका पुत्र, अर्जुनले ।

कृपया परयाविष्टो विषीदन्निदमब्रवीत् ।

दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् ।।२८।।

कृपया परया: आविष्ट: –      परम् महाकरुणाले आवेशित भएर 

विषीदन्-न इदम् अब्रवीत् –    खिन्न हुँदै यस्तो नहोस् भन्ने कामना लिएर यसो भने

दृष्ट्वा इमं स्वजनं कृष्ण –    देख्दा यी सवै स्वजनहरूलाई, हे कृष्ण      

युयुत्सुं समुपस्थितम् –        युद्धगर्ने मनसाय लिएका डटेर आएका

                         (सास रोकिएको जस्तो । सर्पको शरीरमा स्पर्शहुँदा आसन्न भयले जड भएको जस्तो)

कृपया –      कृपा उत्पन्न भई, महाकरुणाले ।

बौद्धदर्शनको मूल प्राण नै मैत्रीकरूणाको पालन हो । जसको बेगर ज्ञान शुष्क पाण्डित्याईँ बाहेक केहि रहँदैन

मैत्री –       जे जति प्राणी छन् ती सबै बिना अपवाद कुनै न कुनै बेलामा आफ्ना पितामाता थिए भन्ने भाव लिनु । उनीहरूको वेदना आफ्नै जस्तो गरी अनुभूति गर्नु ।

महाकरुणा  – बिना अपवाद सवैलाई आफ्नै एक्लो छोरा जस्तो देख्नु, र आफ्नो एक्लो छोराको दु:खकष्ट हटाउन बाबुआमा जसरी लागिपर्ने गर्दछ जस्तै गरी ती सबैको पनि भलो कल्याणकोलागि कार्य गर्नु; यस्तो कार्य सदा सर्वदा नथाकिकन अन्तिम प्राणि रहे सम्म गरिरहनु ।

स्वजन –     आफ्नै मानिस, जसका दु:खसुखलाई आफैले नै जस्तै वेदनाको अनुभूति गरिन्छ ।

युयुत्सुं –     १. युद्धगर्ने मनसाय लिएका

२. शरीरमा सर्प लपेटिंदा सास रोकिएको, आसन्न मृत्युभयले जड भएको जस्तो ।

सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।

वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ।।२९।।

सीदन्ति मम गात्राणि –       शिथिल भएका छन् मेरा शरीरका अङ्गहरू

मुखं च परिशुष्यति –         मुख पनि सुकिरहेको छ

वेपथु:च शरीरे मे –           शरीर पनि कम्प भईरहेकोछ, मेरो

रोमहर्ष:च जायते –           रौं पनि ठाडा भएका छन् ।

गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।

च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन: ।।३०।।

गाण्डीवं स्रंसते हस्तात् -‍     गाण्डीव पनि हातवाट फुस्किंदैछ

त्वक् चैव परिदह्यते –        छालामा पनि जलन भईरहेकोछ

न च शक्नोमि अवस्थातुं –    म उभिन-बस्न पनि सक्ने अवस्थामा छैन 

भ्रमतीव च मे मन: –         मेरो मन पनि भ्रमित भइरहेको छ ।

गाण्डीव –     खाण्डव वन दहन गरिदिको वापतमा अग्निदेवले अर्जुनलाई दिएको दिव्य धनुष ।

निमित्तानि च पश्यामि विपरीतानि केशव ।

न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।।३१।।

निमित्तानि च पश्यामि – निमित्त(शकुन)हरू पनि मैले देखिरहेको छु

न च श्रेय: अनुपश्यामि –      कुनै भलो नहुनेवाला नै देखेको छु   

हत्वा स्वजनम् आहवे – ललकार(सङ्ग्राम)मा स्वजनहरूलाई मार्नु

विपरीतानि केशव –          उल्टा अनर्थकारी छन, हे केशव ।

निमित्त –     कुनै घटना, चिन्ह वा संकेतवाट शुभ अशुभ हुनेछ भनि जान्ने, शकुन ।

श्रेय –        पारमार्थिक रूपमा कल्याणकारी ।

केशव –      केशीनामको घोडारूपी असुरलाई संहार गरेका, कृष्णको अर्को नाम ।

आहवे –      लौ आइज ! लौ आइजा ! भनेर ललकार गर्दैगरी गर्ने । युद्धको आह्वान ।

न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।

किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ।।३२।।

न काङ्क्षे विजयं कृष्ण –      छाहना छैन विजयी हुने हे कृष्ण      

न च राज्यं सुखानि च –      न त राज्य र राज्यसुखको चाहना नै 

किं न: राज्येन गोविन्द –     के (प्रयोजन छ) हामीलाई राज्यवाट, हे गोविन्द !   

किं भोगै: जीवितेन वा –      वा भोगवाट या जीवित रहेरै पनि ।

गोविन्द –    गौविज्ञ । गोपालन विशारद

येषामर्थे काङ्क्षितं नो राज्यं भोगा: सुखानि च ।

त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च ।।३३।।

येषाम् अर्थे काङ्क्षितं न: –     जसका लागि नै हामी ईच्छा राख्दछौं

राज्यं भोगा: सुखानि च –     राज्य, भोग र सुखहरू पनि

त इमे अवस्थिता युद्धे –     ती सबै युद्धगर्न (यहाँ) उपस्थित भएका छन्

प्राणां: त्यक्त्वा धनानि च –    प्राण(को चाहना) त्यागेर धनको पनि ।

आचार्या: पितर: पुत्रास्तथैव च पितामहा: ।

मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा: ।।३४।।

आचार्या: पितर: पुत्रा: –       आचार्यहरू, काका-बुवा पर्नेहरू, छोरा-भतिजा पर्नेहरू,

तथैव च पितामहा: –         त्यसरी नै हजूरबाहरू, 

मातुला: श्वशुरा: पौत्रा: –      मामाहरू, ससुराहरू, नातीहरू,

श्याला: सम्बन्धिन: तथा: –    जेठान-साला-साँढूहरू, नातेदार-सम्बन्धीहरू, अनि

आचार्या –    आचार व्यवहारको शिक्षा दिने, गुरु, शिक्षक । मार्गदर्शक । द्रोण, कृप प्रभृति ।

सम्बन्धी –    सम्बन्धको कारणले स्थापित । परितान्त्रिक सम्बन्ध ।

एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।

अपि त्रैलोक्यराज्यस्य हेतो: किं नु महीकृते ।।३५।।

एतान् न-हन्तुम् इच्छामि – यिनीहरूलाई नमार्ने इच्छा गर्दछु

घ्नत:अपि मधुसूदन –        (यिनीहरूले मलाई) बरू मारे पनि, हे मधुसूदन

अपि त्रैलोक्यराज्यस्य –       कामलोक-रूपलोक-अरूपलोक (तिनैओटा लोकको) राज्य 

हेतो: किं नु महीकृते –        पाउने हेतुको लागि, पृथ्वीको यस जनपदराज्य (महीकृत)को त के कुरा

त्रिलोक –     तीनओटै लोकहरू । कामलोक – रूपलोक – अरूपलोक ।

कामलोक –

रूपलोक –

अरूपलोक –

महीकृत –    माटोलाई संचालन गर्नुपर्ने भुवन । भौतिक पृथ्वी, बसुन्धरा । यहाँ यस सानो हस्तिनापुरको जनपदराज्य भनेर हेपेर भनेको अर्थमा ।

निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन ।

पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिन: ।।३६।।

निहत्य धार्तराष्ट्रात् न: –      मारेर धृतराष्ट्रका (सन्तान र पक्षधर)लाइ हामीलाई

का प्रीति: स्यात् जनार्दन –    के प्रसन्नता होला, हे जनार्दन !

पापम् एव आश्रयेत् –         पाप मात्रै गरेको हुनेछ

अस्मान् हत्वैतान् आततायिन:- हामीलाई, मार्दा यी आततायीहरूलाई ।

प्रीति –       इप्सित वस्तु प्राप्त गरेकोमा पाइने मानसिक तुष्टि । प्राप्त भएको वस्तुको आलम्बनमा रमाउने चित्त ।

जनार्दन –    सत्त्वप्राणीका पालक । कृष्णको नाम ।

आततायी –   अरूलाई दु:खकष्ट दिएर रमाउने ।

तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् ।

स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव ।।३७।।

तस्मात न अर्हा वयं हन्तुं –    त्यसैले हामीलाई अर्य(श्रेयष्) छैन, मार्नु     

धार्तराष्ट्रान् स्व-बान्धवान् –    धृतराष्ट्रका पक्षका हाम्रै बन्धु-बान्धवहरूलाई     

स्वजनं हि कथं हत्वा –       आफ्नै मानिसका हत्या गरेर कसरी

सुखिन: स्याम माधव –       सुखी भईएला, हे माधव !

अर्हा –       परमार्थको यात्रमा सहयोगी । श्रेयष् । आर्यजनसंग्रहयोग्य ।

यद्यप्यते न पश्यन्ति लोभोपहत चेतस: ।

कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।।३८।।

यदि अपि एते न पश्यन्ति – तापनि ती (कौरव)ले देख्दैनन्  

लोभ: उपहत चेतस: – लोभले हरेको चित्तमा

कुलक्षयकृतं दोषं – कुलक्षय गरेको दोष र

मित्रद्रोहे च पातकम् – मित्रद्रोह गरेको पातकी फललाई ।

कुलक्षय –    बाह्यार्थमा वंश, परिवार । आभ्यान्तरमा पञ्चकुल । योगमा त्रिकुल । क्षय – ह्रास हुनु ।

कुल –

दोष –       गर्नुपर्ने नगरेको र नगर्नुपर्ने कार्य गरेको कारणले प्रत्ययफलको कारणी हुनुको लांछना

पातकी –     निश्चितरूपमा तल (तीर्यक्, प्रेत, नरक) अधोयोनिमा झर्नुपर्ने फल भोग्नुपर्ने

कथं न ज्ञेयमस्माभि: पापादस्मान्निवर्तितुम् ।

कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन ।।३९।।

कथं न ज्ञेयम् अस्माभि: –     किन हामीहरू न-जानौं    

पापात् अस्मात् निवर्तितुम् –   यी हाम्रा पापवाट कसरी छुटकारा पाउन सकौं भनेर

कुलक्षयकृतं दोषं –           कुलको नाशगरेको फलको दोष

प्रपश्यत् भि: जनार्दन –       देखेर पनि, हे जनार्दन !       

निवर्तितुम् –  गरिएको अकुशलकर्मको मोचनहुने प्रायश्चितादि प्रातिमोक्षकर्म ।

कुलक्षये प्रणश्यन्ति कुलधर्मा: सनातना: ।

धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ।।४०।।

कुलक्षये प्रणश्यन्ति –         कुलको क्षय भएवाट विनाश हुनेछ

कुलधर्मा: सनातना: –         पहिले देखि चलिआएको कुलधर्महरू      

धर्मे नष्टे कुलं कृत्स्नं –       धर्म नष्ट भएमा कुल सम्पूर्ण

अधर्म: अभिभवति उत –      अधर्मको अत्यन्त अभिवृद्धि भएको भनिन्छ ।

कुलधर्म –    लौकिक अर्थमा समाजमा वंशपरम्परावाट कायम भएको आचार व्यवहार । पारमार्थिकरूपमा काय, वाक, चित्तको स्वभाव । कुल परम्परा देखि चलिआएको परम्परा; मूल्य, मान्यता र संस्कारहरू ।

धर्म –       धर्मको परिभाषा ज्यादै विषम र विपुल भएकोले यसकाई परिप्रेक्ष हेरि व्याख्या गर्नु पर्दछ । यहाँ कर्तव्य, आदर्श, मूल्य, दिशा, मर्यादा, लक्ष, मार्ग आदि तथा मनुष्यता कायम राख्ने गुणलक्षण अर्थ लगाउन सकिन्छ ।

अधर्म –      धर्मका विरोधी पक्ष हरू ।

अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय: ।

स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसङ्कर: ।।४१।।

अधर्म अभिभवात् कृष्ण –     अधर्मको अभिबृद्धि हुँदा, हे कृष्ण

प्रदुष्यन्ति कुलस्त्रिय: –       कुलका स्त्रीहरू दूषित हुन जान्छन्

स्त्रीषु दुष्टासु वार्ष्णेय –       स्त्रीहरू दुष्टा भएपछि, हे वार्ष्णेय    

जायते वर्णसङ्कर: – वर्णसङ्करहरू जन्मिन्छन् ।

कुलस्त्रिय –   कुल वंशपरम्पराको मर्यादाको आचार अनुशासन र कर्त्तव्यपालन गरिबसेका विवाहिता स्त्रीहरू । (विवाह नभइसकेका महिलालाई सामान्यतया स्त्री भनिंदैन) । पारमार्थिक अर्थमा प्रज्ञालाई स्त्री (र उपायलाई पुरुष) भनिएको । भूमि वा कुनै साधन जसलाई प्रयोग गरिछ स्त्री भनिन्छ । काय-वाक-चित्त वा गर्भ वा ‘ए’कारलाई वा भगलाई पनि भनिएको । 

दुष्टा –       दूषणमा रमाउने; अर्थात् भ्रष्ट र कलंकित हुन चाहने । आफ्नो मर्यादा आचार अनुशासन र कर्तव्य पालन नगर्ने, तोड्न खोज्ने । क्लेशमलको आवरण हुनु, शुद्ध आचरणको नहुनु । युद्धको कारणवाट धेरैजसो पुरुषहरूको नाश भई धेरै स्त्रीहरूका भर्ता एवं रक्षक नहुँदा सहजै परपुरुषका सम्पर्कमा रहने, जसका कारणले क्षेत्ररूपी स्त्रीका मन र शरीरमा अनार्य लगायत नीचको बीज पर्न जाने भन्ने अर्थमा ।

वार्ष्णेय –     वृष्णी वंशमा उत्पन्न, कृष्णको अर्को नाम ।

वर्णसंकर –    समानस्तरका जातिवर्णमा धर्मपूर्वको वैवाहिक सम्बन्ध वाहेक अनुलोम, प्रतिलोम, वा विधर्मीवाट उत्पन्न सन्तान ।

सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च ।

पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदककृया: ।।४२।।

सङ्कर: नरकाय एव –        यस्ता सङ्करहरू नरकयोनिका लागि (हेतुकारण हुन्छन्)

कुलघ्नानां कुलस्य च –       यी कुलघाति सहित कुलका  

पतन्ति पितरो हि एषां –      यिनिहरूका (कारणले) पितृहरू खस्दछन्

लुप्त पिण्डोदक कृया: –       पिण्ड र जल दिने कार्य लुप्त भएवाट ।

प्रेतयोनि भनेको अन्तराभवको अवस्था हो, यसमा भौतिक शरीरको च्युति भइ सकेको तर सूक्ष्मशरीर कायमै रहेको हुन्छ । यसबेला उसका चेतना शुरुमा अर्द्धमूर्छित अवस्थामा हुन्छ, वायुको  गतिले यताउता भईरहन्छ, र क्षुधा-पिपासा-वासना–तृष्णाले सताइ रहेको हुन्छ । पछि होश आएपछि भौतिक शरीरको अभावमा कुनै केहि भौतिक वस्तु खान-प्यून आदि भोग गर्न सक्दैन । सदा अतृप्तात्मा भई भौंतारि रहेको हुन्छ । यस अवस्थामा उसलाई बाह्यरूपमा सहयोग गरेमात्र अन्य योनिहरूमा जान सक्ने हुन्छ, नत्र सदाकाल प्रेत भै रहनु पर्न हुनसक्छ । यसले उसको मनुष्यले पिण्ड, पानी र पुण्यकर्मको फल परिणामना गर्नुपर्ने गरिएको हो । प्रेतकर्म, श्राद्ध वा बलिवैश्वदेवको मूल आशय पनि यही नै हो । यसैले हिन्दूधर्ममा छोरा नभएमा अगति हुन्छ भनिएको हो ।

पितृ –       पूर्वापूर जन्मका पितामाता हरू

पिण्डोदक –   पितृको लागि दिईने पिण्डदान र जलदान आदि कृया

दोषैरेतै: कुलघ्नानां वर्णसङ्करकारकै: ।

उत्साद्यन्ते जातिधर्मा: कुलधर्माश्च शाश्वता: ।।४३।।

दोषै: एतै: कुलघ्नानां –       यस्ता दोषको कारणले, यी कुलघातकहरूले     

वर्णसङ्कर कारकै: –          वर्णसङ्कर उत्पन्न गरेको कारणले

उत्साद्यन्ते जातिधर्मा: –      जन्मभएका सत्वप्रणिले गर्नुपर्न धर्माचार नष्ट हुन्छन्

कुलधर्मा: च शाश्वता: –       अनादि देखि चलिआएको कुलधर्म पनि ।

जातिधर्म –   जातवर्ण अनुसार पालन गर्नुपर्ने कर्तव्य व्यवहार ।

कर्मकाण्डी ब्राह्मणग्रन्थमा जाति जन्मजात मानिए तापनि गीतामा यसलाई पेशाकर्मगत मानिएको छ । यसलाई यसलाई ‘सङ्घ’पनि भन्न सकिन्छ ।

उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।

नरके नियतं वासो भवतीत्यनुशुश्रुम ।।४४।।

उत्सन्न कुलधर्माणां –        कुलधर्मको परम्परा टूटन जाँदा    

मनुष्याणां जनार्दन –         मानिसहरू, हे जनार्दन    

नरके नियतं वास: –          सदाको लागि नरकको बास

भवति इति अनुशुश्रुम –       हुन्छ, यो मैले सुनेको छु ।

अनादिकाल देखि शाश्वतचक्रको रूपमा संचालित जो उत्पन्न भएर पनि गैसकेका छन् र जो उत्पन्न हुनेवाला छन् ती दुईलाई अनवरत जोडने वर्तमानको कडी टूटन जाँदा धागो काटिएको अवस्थाको चंगा र लट्टाई दुवै बेकार हुनजाने हुन्छ ।

उत्सन्न –    कुहिएको, बर्बाद भएको,

कुलधर्म –    सामान्य अर्थमा वंश-परम्पराबाट चलिआएको ।

कुल – बौद्धदर्शन अनुसार जगत सारालाई छओटा कुलहरूमा विभाजित गरिएको छ । यसले जेजति प्रकाशित बस्तु-पदार्थ छन् ती सबैलाई समेटेको छ । यस कुल जन्मगत नभई व्यवहारगत हो ।

अहो बत महत्पापं कर्तुं व्यवसिता वयम् ।

यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यता: ।।४५।।

अहो बत महत्पापं –          आश्वर्य छ ! कति ठूलो पाप     

कर्तुं व्यवसिता वयम् –        गर्न ठीकठाक परेका रहेछौ हामीले

यत राज्य सुख लोभेन –      जुन राज्य सुख लोभमा परेर  

हन्तुं स्वजनम् उद्यता: –      स्वजनलाई मार्न तयार भएका रहेछौं ।

यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणय: ।

धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ।।४६।।

यदि माम् अप्रतीकारम् –      यदि मलाई मैले प्रतिरोध नगरेको कारणले     

अशस्त्रं शस्त्रपाणय: –         हतियार नलिई, हतियार लिएका

धार्तराष्ट्रा रणे हन्यु: –        धृतराष्ट्रका पक्षकाले युद्धमा मारिदिए,

तत् मे क्षेमतरं भवेत् –       त्यो मलाई बढी शान्तिदायक हुनेछ ।

सञ्जय उवाच –

सञ्जयले भने –

एवमुक्त्वार्जुन:सङ्ख्ये रथोपस्थ उपाविशत् ।

विसृज्य सशरं चापं शोकसंविग्नमानस: ।।४७।।

एवम् उक्त्वा अर्जुन: सङ्ख्ये –  यसप्रकार भनेर युद्धभूमिमा अर्जुन    

रथ उपस्थ उपाविशत् –        रथको एकातीरको आसनमा बसे 

विसृज्य सशरं चापं –          वाण सहित धनुषलाई राखेर

शोक-संविग्न मानस: –        शोकले विक्षिप्त चित्त भएर ।

इति श्रीमहाभारते शतसाहस्र्यां संहितायां वैयासिक्यां भीष्मपर्वणि श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादेऽर्जुनविषादयोगो नाम प्रथमोऽध्याय: ।।१।।

व्यासपुत्रवाट भनिएको एकलाखश्लोकि संहिता महाभारत भीष्मपर्वको श्रीमद्भगवतगीता उपनिषद्को ब्रह्मविद्याको योगशास्त्रवारे श्रीकृष्ण र अर्जुनले संवाद गरेको विषादयोग नामगरेको प्रथम अध्याय समाप्त भयो ।

बौद्धदर्शन विशेषत महायान-वज्रयानलाई दृष्टिगतगरी बनाइएको हुनाले त्यही रूपमा हेरिदिन र कमेन्ट गरिदिन अनुरोध छ ।   प्रकाश मान श्रेष्ठ, भैंसिपाटी २०७३।११।२८