Categories
articles नवबैपुल्यसूत्र

गुह्यसमाज तन्त्र

[wpseo_breadcrumb]

गुह्यसमाजतन्त्र एक गम्भीर शास्त्र हो, यसलाई रमाइलो पाराले लालित्यसाथ वर्णन गर्न सकिदैन । यसमा उल्लेखित विषयहरु विस्तृत, गूढ र गहन भएकोले सवैकुरा बुझ्न वा भन्न पनि सकिदैन । अत: मैले जे जति जानेको छु सकेको कुरा वताउँछु ।

सामान्य परिचय :

गुह्यसमाजतन्त्र बौद्धतन्त्रसाहित्यको सवैभन्दा पुरानो शास्त्र भएको देखिन्छ । यो भन्दा पुरानो अर्को तन्त्रशास्त्र रहेको देखिदैन । हेवज्रतन्त्र, चक्रसंबरतन्त्र, ज्ञानोदय तन्त्र .. आदि पछि आएका हुन् । यसलाई सवैतन्त्रहरुको राजा पनि भनिन्छ । यसैको आधारमा अन्य तन्त्रहरु बनिएका हुन् । यो इसाको तेस्रो शताव्दिमा लिपिवद्ध भएको हो । बसुबन्धुका दाजू असंगले यो लेखेको हो भन्ने मान्यता छ । त्यसवेला यो सवैले हेर्नहुने गरी वनाइएको थिएन, र त्यसवेला प्रतिलिपी वनाउने छापाको चलन पनि थिएन । यसलाई गुह्य नै राखिएको थियो । अत: दुइशये वर्षसम्म यो प्रकाशमा पनि आएन ।

यस गुह्यसमाजतन्त्र तीन शव्दहरु मिली बनेको हो, ‘गुह्य’, ‘समाज’ र ‘तन्त्र’ ।  यसको अर्थहरु छुट्टछुट्टै केलाएर हेरौं ।

गुह्य :

हामी कहाँ आगम शास्त्र, देउता, पूजाविधि आदि इत्यादि कुरा दीक्षा नलिएका व्यक्तिले हेर्नुहुन्न भन्ने प्रचलन छ । गुह्य छ भन्ने गरिन्छ । तर, यस तन्त्रमा ‘गुह्य’ शव्दको प्रयोग यस्तो हेर्न वा देखाउन नहुने भन्ने अर्थमा प्रयोग भएको होइन । हामीले गुठीमा गुठीयार नभएकाले हेर्न हुन्न भन्छौं, तर, त्यही मान्छे गुठीयार भएपछि हेर्न दिन्छौ । अझ, कुनै चोरले चोरेर लग्दा त्यो चोरलाई हेर्नहुन्न भन्ने कुराको कुनै अर्थ लाग्दैन । त्यो चोरले हेर्यो नि, अनि गुह्य कसरी रह्यो । राणा प्रधानमन्त्री जंगबहादुरले ललितपुरको कुनै विहार पसी ग्रन्थहरु सडकमा फालेको थियो, उसले त हेर्यो नि, हेर्न त सक्छ नि । यसैले यस तन्त्रमा गुह्य शव्दको प्रयोग यसप्रकारको हेर्न हेराउन नहुने भन्ने अर्थमा राखिएको होइन भनि वुझनु पर्दछ ।

गुह्य शव्दको अर्थ ‘शरीरभित्रको देखाउन, वताउन र देखन नसकिने’ कुरा हो । तर, शरीरभित्रको मुटू, फोक्सो आदि भित्री अंगहरु भने होइन, किनकि यी अंगहरु भौतिक वस्तु हुन् र यसलाई कुनै डक्टरले हेर्न सक्दछ वा उसलाई देखाउन सकिन्छ । गुह्य शव्दको आशय ‘न रुप, न शव्द, न स्वाद, न स्पर्श, न घ्राण, .. नभएको’ लाई भनिएको हो, जसलाई कसैले देखन, देखाउन सक्दैन ।

समाज :

त्यसैगरी ‘समाज’ को अर्थ पनि आजकल अनेक अर्थ लाग्ने गरी प्रयोग भएको जस्तो गरि वज्राचार्य समाज वा यस्तै प्रकारका अन्य कुनै समूहलाई भन्न खोजिएको पनि होइन । समाजको अर्थ ‘मिलन’ हो । यसको परिभाषा ‘स्थान, वास, उद्देश्य अनुसारको व्यक्तिहरुको समूह’ हो । तर, यी कुराहरु भौतिक वस्तुहरुको समूह भएमा देखन, देखाउन सकिने हुनजाने, तर अभौतिक भएमा देखन वा देखाउन नसकिने हुन्छ । यसरी देखन वा देखाउन नसकिने ‘न रुप, न शव्द, न गन्घ, न रस, पदार्थहरुको समूहलाई यस तन्त्रमा ‘समूह’ शव्दले दर्शाउन खोजेको हो ।

यस जगत ‘पृथ्वी, आप, तेज, वायु’ गरि चार धातुहरुको सम्मिश्रणले वनिएका हुन् । भगवान बुद्धले खोजको क्रममा प्रकाशमा देखिने हावामा उडिरहेका धूलकणलाई पनि टुक्रामा विजाजित गरी अन्वेषण गर्दै जाँदा सोह्र सोह्र टुक्रा गरी पटक पटक टुक्राउदै जाँदा अन्त्यमा सवैमा पृथ्वी, जल, तेज, वायु र आकाश’ मात्र रहेको पाउनु भएको थियो । त्यसपछि त्यो पनि ‘न पृथ्वी, न आप, न रस, न गन्ध’ भयो । र, यस तन्त्रमा ‘समाज अथवा समूह को अर्थ त्यस ‘पञ्चधातुको समूह’लाई ईगित गरी भनिएको समेत होइन ।

यस तन्त्रमा समाजको अर्थ ‘काय, वाक र चित्त’ को समूह, ‘त्रिगुह्य’ को मिलन लाई भनिएको हो । यस काय, वाक र चित्तको सम्मिश्रण भएपछि ‘म’, ‘तिमी’ भन्नेको परिभाषा हुन्छ । यस काय, वाक र चित्तको जोड या योगलाई समाधि, सन्धी, सम्मिश्रण, घुलमिल,  …जेसुकै शव्द प्रयोग गरिए तापनि त्यो सम्मिश्रण भन्न, देखन वा देखाउन सकिदैन । काय, वाक चित्तले छुट्टाछुट्टै कार्य गरेको प्रतीत भपता पनि वास्तवमा त्यसरी छुट्टाछुट्टै भइ स्वच्छन्द रुपमा कार्य गरेको पनि हुदैन । स्वतन्त्ररुपमा काम गरेको छ भन्नु त्रुटी हुन्छ । सिद्धान्त यो हो कि काय, वाक र चित एउटै भएर रहनु पर्दछ, एकीकृत भएर कार्य गर्नु पर्दछ । नभएमा कसैले विश्वास पनि गर्दैन । यसरी काय, वाक र चित्त एकै हुनुलाई नै गुह्यसमाज भनिएको हो ।

ज्यामितीय तरीकाले भन्नुपर्दा यी को, वाक र चित्तहरु समभुज-त्रिकोण (isosceles triangle) का अंगहरु हुन् । यस समभुज-त्रिकोणमा प्रत्येक अंग अर्को दुई अंगहरुसंग समदूरी अथवा समकोणमा बसेको हुन्छ, न टाढा न नजिक । कदाचित, एउटाको अर्को कुनैसंग सम्वन्ध वढी वा घटी भएमा त्यो त्रिभुज सम-त्रिकोणीय हुन सक्दैन । यसरी काय, वाक चित्तका आआफ्नै बेगला-वेग्लै स्वभाव भएता पनि ती सवै पुर्ण-समन्वय (perfect coordination) गरी वस्नु पर्दछ । गुह्यसमाजले सिकाएको पनि यही नै हो । र यस्तो समन्वय पूर्णरुपमा नभएसम्म ‘बुद्धत्व प्राप्त हुन पनि सक्दैन ।

तन्त्र :

अव तन्त्र शव्दको अर्थ हेरौं । हामीले कुनै कुरा राम्ररी गर्न ‘तन, मन, धन’ लगाइ गर्ने भन्ने भन्दछौं । तन भन्नाले शरीर, मन भन्नाले चित्त्त र धन भन्नाले सामग्री-सम्पत्ति हो । कुनै पनि कार्य ती तीन वस्तुवाट मात्र गर्न सकिन्छ । तनवाट गरिने लाई ‘तन्त्र’, मनवाट गरिने लाई ‘मन्त्र’ र सामग्री प्रयोग गरी गरिनेलाई ‘जन्त्र’ भनिन्छ । तन्त्रभित्र मन्त्र छ, र यसलाई जन्त्रको सहयोगलिइ सफल गर्नु पर्दछ । हुनत अमरकोषमा तन्त्रको अर्थ लुगा वुन्ने तानको रुपमा लिइएको छ, जुन हामीलाई तादात्म्य राख्दैन ।

अव यस ‘तन्त्र’ पनि एक व्यवस्था नै हो, प्रवन्ध नै हो । यसअघि भनिसक्यौं, व्यवस्था हुनको लागि तीन कुरा हुनु पर्दछ, स्थान, वास र उद्देश्य । तन्त्रमा पूजाआजा उचित हुनु पर्दछ, यसको उद्देश्य यसै जुनीमा मोक्ष पाउने हो र यसको स्थान … हो । यस कुरालाई भगवान बुद्धवाट सुनेपछि सकल वोधिसत्वहरु आश्चर्य भइ एकै जुनीमा यती सरल तरीकाले मुक्त हुनसक्ने विधि थाहा पाएर आफूले अनेक कल्प लगाएरमात्र वोधिसत्वत्व प्राप्त गरेको संझी सहन गर्न नसकी मूर्छा भए । भगवानले पनि ऋद्धिवलले उनीहरुलाई व्यूँझाएको उल्लेख छ ।

यस कथन कसरी पनि प्रमाणित हुन्छ बने अंगुलीमाल जस्ता ९९ जना मान्छेको हत्या गरिसकेका, चण्डाल-अशोक जस्ता युद्धपिपासु र अजातशत्रु जस्ता पितृहन्ता पनि यसै जन्ममैं असल मनिसमा परिणत भए, मोक्ष प्राप्त गरे । यस्ता कुरा अन्य धर्मदर्शनमा पनि उल्लेख भएका छन् । हिन्दू धर्ममा रत्नाकर भन्ने डाँका समेत महर्षि वाल्मिकी भइ रामायण लेखेको प्रसंग सवैले सुनेको पनि छ । गुह्यसमाजले यसै जूनीमा मोक्ष पाउने प्रत्याभूति गर्दछ, ‘यही धर्मणैव मोक्षं प्राप्नुवन्ति’ । यस्तै कुरा अन्य सवै तन्त्रहरु, जस्तै हेवज्रतन्त्र, ज्ञानोदयतन्त्र, चक्रसम्वरतन्त्र, चण्डमहारोषण तन्त्र(?)मा पनि गरिएको छ ।

गुह्यसमाजतन्त्रको महत्व यसकारणले छ कि यसले ‘यसको साधक यसै जुनीमा मोक्ष हुनसक्छ’ भनि प्रत्याभूति गरेको छ । यस्तै प्रत्याभूति यसपछिका अन्य तन्त्रहरुले पनि गर्ने गरेको देखिन्छ । यसको साधना गर्नको लागि साधकको qualifications जेजस्तो भएपनि वा नभएपनि हुन्छ; यो गर्न हुन्छ वा हुदैन भन्ने पनि छैन; जातीय वा आर्थिक योग्यता केहि पनि वन्धनकारी छैन, तर यौटैमात्र कुरा के भने उ गुरुद्रोही हुनु हुँदैन । गुरूद्रोही वाहेक जोसुकैले यो साधना गर्न पाउँछ । यसको साधनगर्ने उपयुक्त स्थान एकवृक्ष, श्मशान, मातृगृह, शून्यागार, पर्वत, गर्भगृह, अभ्यन्तर, निर्जन, चतुष्पद जहाँ पनि हुनसक्छ । के होश गर्नु पर्दछ भने यस तन्त्रमा उल्लेखित कुनै पनि कुरा लाई सरलरूपमा लिनु हुदैन; लेखिएका कुरालाई गहिरिएर सोच्दा यसका अर्थहरु गूढ वाट झनै  गूढतर भएर जान्छ । उदाहरणको लागि ‘मातृगृह’ भन्नाले आमाको घर अथवा ‘माइतिघर’ हुन्छ । तर, यस तन्त्रले आइमाइहरुलाई माइतीमा गएर साधना गर भनेको होइन । मातृगृहको अर्थ ‘आफ्नै शरीरभित्र रही’ भन्ने हो । यसैले लेखिएको कुरा शव्दार्थको रूपमामात्र लिएमा अनर्थ हुने भएकोले गुरूसंग दिक्षालिई गुरूले बताए वमोजिम गर्नुपर्छ भनि भनिएको हो । पढेको सुनेकोमात्र भरमा गर्न हुँदैन भनिएको हो ।   

साधकले प्रयोग गर्नपर्ने साधन दुइटा छन् । प्रथमत: साधकले ‘सेवा’ गर्नु पर्दछ, यसमा सेवा भन्नाले सामान्यत: विशेष रुपमा कर्त्तव्यपरायण हुनुपर्ने भनिएको छ । आफूले गर्नुपर्ने कार्य वा  दायित्ववाट भाग्ने होइन, विक्षेप वा विरक्ति हुने होइन, आफूले गर्नुपर्ने कार्य कर्त्तव्यवाट च्युति हुने होइन । काय, वाक र मनले अर्थात् पूर्णरूपमा कर्तव्य पालन गर्नुपर्दछ । कर्मवाट भाग्न हुदैन । यसमा के याद गर्नु पर्दछ भने ठूलो कार्य गर्दा सानो छोडन भने सकिन्छ, जस्तै भगवान वुद्धले गृहत्याग महानिभिष्क्रमण गर्दा आफ्नो कर्तव्यवाट च्युति भइ पलायन भैगएको नभइ प्राणीप्रतिको कर्तव्यवोध भइ सवैलाई पूर्वसंकेत गरी सत्यको खोजमा निस्केका हुन् । अब साधकले प्रयोग गर्नुपर्ने दोस्रो साधन तीन किसिमको छ; (१) उप-साधन कृया अर्थात् चर्या (२) योग साधन र (३) महासाधन  जसलाई अनुत्तरयोग पनि भनिन्छ । यसरी साधनागर्दा पनि कदाचित् चित्तशुद्ध नभए त्यसको शोधनगर्ने समीक्षाको व्यवस्था पनि छ । यसरी निर्देशित चर्या पूरा गरे पछि ‘योग’ प्राप्ति हुन्छ, र तत्पश्चात ‘अनुत्तर योग’ गरेपछि साधना पूरा भएको ठहरिन्छ ।

अनुत्तरयोग भनेको सर्वोच्च तन्त्र हो । यसमा पुगेकाले पूजागर्न हुदैन, जप गर्न हुदैन, भनि सामान्यजनले पालना गर्नुपर्ने नियम आदि पालन गर्न हुँदैन भनेर निर्देशन दिइएको छ । यसको मान्यता यो हो कि अनुत्तरमा पुगेको व्यक्ति मोक्ष भैसकेकोले, जो मोक्ष भैसकेकोछ, त्सले तल्लो तहमा फर्किन नपर्ने; र ‘नकुर्विते’ भएको हुनाले त्यसरी आफ्नो स्तर भन्दा तल झरेर कार्य गर्न हुदैन भन्ने हो ।

काय, वाक, चित्त एक गर्ने भनेको दृष्टा, दृष्टि र दृष एक हुनु हो । यसरी त्रिपुटि एकाकार हुनु भनेको चित्त आलय हुनु हो । चित्त आलय हुनु भनेको समाधि हो,  निर्वाण हो । समाधिवाट प्रज्ञोपाय उत्पन्न हुन्छ । यसरी काय, वाक, चित्त एकाकार गर्ने भन्दा अर्को माथिल्लो धर्म छैन, यसैले अनुत्तर भनिएको हो । क्वाबहालका वाक्वज्र वज्राचार्यले भन्नुभएको थियो, ‘अनुत्तरयोग भन्दा माथी केहि छैन, वेदपुराण सवै वखानमात्र हुन्; मूल योगधर्म नै हो ।’

‘आगम’ भन्नाले अरुवाट शरीरमा प्रवेश गराइएको अर्थ लाग्छ । अंग्रेजीमा imported knowledge  भन्न सकिन्छ । योगमात्र एक सच्चा धर्म हो । योग गरे अरू धर्म गर्नुपर्दैन । यसमा रमाइला कुराहरु पनि छन् । फूल भावना ‘स्वभाव शुद्धोऽहं’ । दीक्षा ‘ओम् हूँ धारे धारे .. हूँ फट्’ । उठ्दा ‘ अमृतकुण्डली, नमो रत्नत्रयाय .. ।

गुह्यसमाजतन्त्रमा किसिमका ८० – ९० ओटा समाधिहरूको उल्लेख छ । यसैले यो शास्त्र समाधिसंग्रह जस्तो छ ।

समाधि पनि तीन प्रकारका छन, (१) देवता उत्पन्न गर्ने (२) मन्त्रपद उत्पन्न गर्ने (३) कार्यनिर्देशन वा सिद्धान्त प्रतिपादन सम्बन्धी । गुह्यसमाजतन्त्र तन्त्रदेवता वा  धर्मधातु उत्पन्न गर्ने हो । यहाँ भगवान वुद्धले ध्यानद्वारा वैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ, रत्नसंभव गरी पाँचजना बुद्धहरु उत्पन्न गर्नुभएको हो । यसरी उत्पन्न भएका ध्यानी बुद्धहरु ऐतिहासिक होइनन् ध्यानी वुद्ध हुन् । यस ग्रन्थमा पूर्व दिशाका अक्षोभ्यलाई वज्राधिक्, दक्षिणदिशाका रत्नगर्भलाई रत्नाधिक्, पश्चिमदिशाका अमिताभलाई आरोलिक्, उत्तरदिशाका अमोघसिद्धलाई प्रज्ञाधृक् र बिचका वैरोचनलाई जिनजिक् भन्ने नाम दिइएको छ । साथै, लोचना, मामकी, पाण्डुरा, तारा गरी चारजना स्त्रीरूपा-शक्ति पनि उत्पन्न गरिएको छ । यसरी उत्पन्न भएका चार स्त्री-शक्तिहरु चारओटा धातुका प्रतीकका रुपमा रहेका छन् । दक्षिण-पूर्वकोणमा रहेको लोचना पृथ्वीधातुको प्रतीक, दक्षिण-पश्चिमकोणमा रहेको मामकी आपधातुको प्रतीक, पश्चिम-उत्तरकोणमा रहेको पाण्डुरा तेजधातुको प्रतीक, उत्त-पूर्वकोणमा रहेको तारा वायुधातुको प्रतीक हो । वैरोचनको स्त्रीशक्ति वज्रधात्विश्वरी आकाशधातुको प्रतीक हो, वहाँ वैरोचनसंगै मण्डलको बिचमा अुनुहुन्छ ।

ती धातुहरुको सम्मिश्रणवाट वस्तुहरु (tangible goods) तथा विषयहरू (intangible goods) को रुपमा उत्पन्न हुन्छन् । वस्तुहरू ‘नाम’ र विषयहरू ‘रूप’ हुन् । यी पञ्चघातुको संयोजनमा चित्त उत्पन्न भएपछि जीब बन्दछ । जीब भन्नु पञ्चस्कन्धका संयोजन हो ।   

पञ्चध्यानी वुद्धहरु पञ्चस्कन्धका प्रतीक हुन् । पञ्चस्कन्ध धातुहरुलाई अंग्रेजीमा 5s’ (shape, sound, sweet&sour, smell, sensation) भन्न सकिन्छ । नामरुपस्कन्धको अधिपति जिनजिक, संज्ञास्कन्धको अधिपति आरोलिक, वेदनास्कन्धको अधिपति रत्नधृक,  संस्कारस्कन्धको अधिपति प्रज्ञाधृक, र विज्ञानस्कन्धको अधिपति वज्रधृक हुन् ।

यसरी पञ्चध्यानीबुद्ध र पञ्च ताराहरूलाई स्थान दिइएको चौकोर मण्डलको चार दिशामा द्वारपालहरु खडा गरिएका छन् । पूर्वद्वारको द्वारपाल यमान्तक, दक्षिण दिशाको द्वारपाल प्रज्ञान्तक, पश्चिम दिशाको द्वारपाल पद्मान्तक र उत्तर दिशाको द्वारपाल विघ्नान्तक हो । त्यस मण्डलभित्र धेरै देउताहरु उत्पन्न गरिएका छन् ।

मन्त्र दुइ प्रकारका छन्; कुनै मन्त्र सुनाउन हुने र कुनै आवाज ननिकाली मनले मात्र भन्नुपर्ने ।

सिद्धान्त दर्शन:   यस गुह्यसमाजतन्त्रले अनुत्तर योग तन्त्र प्रतिपादन गरेको छ ।

ग्रन्थ प्रारम्भ :

यो ग्रन्थको प्रारम्भ, “एवं मया श्रुतम्। एकस्मिन्समये भगवान्सर्वतथागत कायवाक्चित्त हृदयवज्रयोषिद्भगेषु विजहार” वाट भएको छ । यो पहिलो श्लोक ४० अक्षरको छ । यहाँ एक सन्दर्भ जोडौं कि शाक्यमुनी बुद्धले वुद्धत्व प्राप्त गर्न अघि विशाखाको खीर ग्रहण गर्दा आफूले भोग लगाउन अघि एक एक गरी ४० ओटा भाग लगाइ छुट्याइ आफूले प्राप्त गरेको ४० प्रकारको ध्यानहरुको संस्मरण (review)  गरेको थियो ।

साथै यो पनि रमाइलो पक्ष छ कि एक युगमा दुइ गरी एक कल्पमा आठ जना मात्र बुद्ध हुन सक्छ भनिएको छ । यसरी कल्पमा सात जना वुद्धहरु भइसक्नु भएको र अहिले मैत्रेयी वुद्धमात्र आउन बाकी भएको देखिन्छ । तर, गुह्यसमाजले यसो भन्दैन र वुद्धत्व प्राप्त गर्नेको संख्या पनि सीमित गर्दैन । यसले धेरै वुद्धहरु हुनसक्छ भन्ने सिद्धान्त दिएको छ । गंगा नदीको किनारामा रहेका वालुकाका समान असंख्य संख्यामा वुद्धहरु भइसकेका र भविष्यमा हुने कुरा बताउछ । ‘सर्वन् अभिलाप्य नभिलाप्य..’ । सर्वतथागत काय, वाक, चित्त ।

अव ‘एवंमया’ श्रुतं ..’ लाई हेरौं । यसमा ‘ए’ ताराको, ‘वं’ लोचनाको, ‘म’ मामकी’को र ‘य’ पाण्डुराको प्रतीक हो । यसरी यो शुरुमैं चार अक्षरले चारधातुको अर्थकारक भएको छ । यसको क्रम पनि हेरौं । तारा पछि लोचना, मामकी र पाण्डुरालाई क्रमैसंग राखिएको छ । तारा वायुको प्रतीक हो । वायुवाट अग्नी उत्पन्न हुन्छ, लोचना अग्नीको प्रतीक हो । अग्नी वाट जल उत्पन्न हुन्छ, मामकी जलको प्रतीक हो । त्यसरीनै पाण्डुरा जसलाई पछि पद्मिनी भनियो त्यो पृथ्वीधातुको प्रतीक हो ।

अव हाम्रो साधनामा प्रयुक्त हुमे साधनहरु हेरौं । अर्ध्यशंख राखने त्रिखुट्टीको तीन ओटा खुट्टाहरुले काय, वाक र चित्तको प्रतिनिधित्व गर्छ । काय, वाक, चित्त एक भएमा उर्जा आउँछ, शक्ति आउँछ, विभिन्न सिद्धिहरु प्राप्त हुन्छ भनि भनिएको छ । यस्तो शक्ति तपाइ हामी जो सुकैलाई प्राप्त हुनसक्छ । तर, यसको लागि साधना गर्नुपर्छ । निर्वाध गमन शक्ति, पूर्वानुस्मृति शक्ति, अरुको मनको कुरा बुझनसक्ने इत्यादि शक्ति पनि प्राप्त हुनसक्छ ।

अव अक्षरको वनावट हेरौं । ‘ऐ’ भन्ने अक्षरको आजकालको वनोट भन्दा त्यसवेला केहि फरक थियो । ‘चुच्चो तलतीर फर्केको सम-भुज त्रिकोण’ लाई स्त्री अथवा भगको प्रतीक, लम्ब रुपमा रहेको लाई पुरूष वा लिंग र त्रिकोणको वीचको विन्दुलाई बीजको प्रतीक मानिन्छ । यसरी ‘ऐ’ माता र ‘वं’ पिता अक्षर मानिन्छ । यी दुइको मिलनवाट बीज उत्पन्न हुन्छ, सृष्टी हुन्छ । यस प्रकृयालाई अंग्रेजीमा cause and effect  पनि भन्न सकिन्छ । यही ‘बीज’ र ‘आहार’ शव्दवाट बीजाहार र सो को पनि अपभ्रंश हुदै ‘विहार’ शव्द वनिएको हो । यो ‘स्त्री’ र ‘पुरुष’ को मिलन अथवा अर्को शव्दमा ‘प्रज्ञा’ र ‘उपाय’ को मिलन हो । स्रोतसाधनहरु स्त्रीजाति हो र उपायप्रयास पुरुष हो । स्रोतसाधनलाई जथाभावी प्रयोग गर्न हुँदैन, ‘सम्मानसाथ’ उपभोग गर्नु पर्दछ । गुह्यसमाजतन्त्रले यही वताएको छ कि स्त्रीलाई सन्तुष्ट राखनुपर्छ, सम्मानसाथ उपभोग गर्नु पर्दछ र निर्विकल्प चित्तले व्यवहार गर्नु पर्दछ । वज्रयानको अभिषेक लिएका वरवधुले परस्पर भोग गर्न हुदैन त्यसकारण विछोड नगर्ने प्रतिज्ञा गर्नु पर्दछ । स्त्री अथवा प्रज्ञा जे भने पनि प्रेरणा हो, स्रोत हो, शक्ति हो, यसलाई राम्रो तरीकाले उपयोग गर्नु पर्दछ । अंग्रेजी मा यस्तो प्रयोगलाई efficient utilization पनि भनिन्छ ।

बौद्ध साहित्य ‘एवं मया श्रुतं..’ वाट शुरु हुने गर्दछ । कुनै शास्त्र ‘एवं मया श्रुतं..’ वाट शुरु भएको पाइएमा यो बौद्धसाहित्य हो पनि आँखा चिम्लेर भन्न सकिन्छ । ‘अथ’ शव्दवाट शुरु हुने एक दुइ अपवाद जस्तै नामसंगीति र चक्रसंवरतन्त्र लाई छोडेर वाकि सवै बौद्ध साहित्य ‘एवं मया श्रुतं..’ वाट शुरु भएको छ । ‘अथ’ र ‘एवं मया श्रुतं..’ को अर्थ पनि एकै हो ।

नामसंगीति नामको संग्रहमाला हो गीतमाला होइन । हिन्दूहरुको विष्णुसहस्रनाममा विष्णुका हजार नामको प्रशस्ति भए जस्तै नामसंगीतिमा ८५२ जति नामहरु उल्लेख गरिएका छन्  । यस नामसंगीतिमा उल्लेख भएका अनेकौं नामहरु गुह्यसमाजतन्त्रमा मात्र उल्लेख भएको पाइएकोले नामसंगीतिको आधारस्रोत पनि गुह्यसमाजतन्त्र नै हुनसक्दछ ।

गुह्यसमाजतन्त्रमा लेखिएका कुरा, तरीका, अर्थ अत्यन्त गूढ भएकोले सामान्य व्यक्तिले किताव पढी गुढअर्थ केहि वुझी केहि नबुझी साधना गर्न गाहारो भइ कष्टसाध्य हुने मात्र होइन अवांछित प्रतिकूल प्रभाव पर्ने र अनर्थ भइ मृत्यु समेत हुने लगायत अपाय दुर्गतिमा समेत पर्न सक्ने सम्भावना हुन्छ । यसैले यो शास्त्रलाई सामान्य व्यक्तिको लागि हेर्न लायकको गरी वनाइएको छैन । योग्य गुरुको संरक्षकत्वामा बसी, दीक्षालिइ गुरुको आदेश निर्देशमा साधना गर्नु पर्दछ । अनुचित प्रयोग भएमा अकालमृत्यु पनि हुन सक्दछ ।

तर, यसको लागि साधको निम्ति खाली गुरुद्रोही हुनु हुदैन, अन्य कुनै शर्त वा योग्यता चाहिदैन ।

———————

यस लेख ललितपुर, हिरण्यवर्ण महाविहार, नागबहालमा नवग्रन्थको वारेमा वज्राचार्यसमाजले आयोजना गरेको नौ-दिने प्रवचन कार्यक्रमको सन्दर्भमा सुप्रसिद्ध विद्वान श्री यज्ञमानपति वज्रचार्यज्यूले ‘गुह्यसमाधिराजसूत्र’ ग्रन्थको वारेमा मिति २०६७।०८।?? मा ‘ दिनुभएको प्रवचनको सार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *