सद्धर्मपुण्डरीक
प्रवचन
मीन वहादुर शाक्य
अहिले गर्न लाग्नुभएको यो कार्यक्रम एक ऐतिहासिक कदम भन्नु पर्दछ । यसको लागि साधुवाद छ । वैपूल्यसूत्रहरु मध्ये यो सद्धर्मपुण्डरीकलाइ नै मैले किन रोजेको हो भनने वारेमा संक्षिप्त रुपमा चर्चा गर्छु ।
नेपालमा प्रचलित नवग्रन्थ संस्कृत त्रिपिटकको महत्वपूर्ण सारकुरा मानिन्छ । देश विदेशमा बौद्ध संस्कृत साहित्यको कुरा गर्दा नेपालको नवसूत्रको ठूलो महत्व रहेको सवै विद्वानले मानिआएकै हो । महायानी सूत्रहरु तिव्वती भाषामा पनि छन्, जसलाइ कञ्जूर, तञ्ज्यूर भनिन्छ । त्यस्तै चीनीयाँ भाषामा लेखिएको त्रिपिटक महायानी सूत्रहरु पनि प्रशस्तै प्राप्य छन् । तर, संस्कृत भाषामा लेखिएका वहुताय त्रिपिटक लोप भैसकेको र हाल मात्र करीव २० प्रतिशत जतिमात्र वचेको अनुमान छ । संस्कृत त्रिपिटक मध्येको ‘नवसूत्र’ वची नेपालमा कसरी प्रवेश भइ नाश हुनवाट कसरी वच्न पुगेको हो, हेरौं ।
नेपाल उपत्यकामा भगवान वुद्धकै जिवनकालमैं विडूढवले गरेको शाक्यवंशको संहारवाट वची भागी नेपाल आइ सुरक्षित भई वसेका हुन् । शाक्यहरुमा आफ्नै वंशगोत्रका शाक्यमुनी गौतमबुद्धको देशना प्रति विशेष सम्बन्ध र गौरवहुनु स्वभाविकै पनि हो । १५०० वर्ष पहिले हिन्दूस्तानका आचार्य बसुवन्धुले करीव एकहजार शिष्यहरु र हातमा ‘सद्धर्मपुण्डरीक’ पुस्तकलिइ नेपाल अर्थात् कान्तिपुर प्रवेश गरेका हुन भन्ने मान्यता रहिआएको छ । सो समूहले तथागतगुह्यक वाहेकको ८ ओटा ग्रन्थहरु लिइ आएको (तथागतगुह्यक तन्त्रसम्बन्धि भएकोले) मानिन्छ । (पछि तथागतगुह्यकलाइ समेत समावेश गरी उक्त नौओटा ग्रन्थहरुको समूहलाइ नवग्रन्थ भनि मानिआएको हो ।) यी नौओटा ग्रन्थहरुको समूहलाइनै नवखण्ड, नवग्रन्थ, वैपूल्यसूत्र आदि नाम दिइएको हो ।
भारतमा महाराज अशोकका नाती पुष्यमित्रले वौद्धधर्मलाइ ध्वंशगर्ने क्रममा नालन्दा, विक्रमशील जस्ता विश्वविख्यात विश्वविद्यालयहरु पनि ध्वंश गरेको र टाउकोको मोल राखि भिक्षुहरुलाइ मारेको, र त्यस्तैगरी भारतमै मुस्लिम आक्रमणको वेला बौद्ध ध्रर्मको पुर्णविनाश गर्न विहार, चैत्य, ग्रन्थहरु सम्पूर्ण ध्वष्टगरी वौद्ध धर्मावलम्वीलाई धर्मपरिवर्तन गराएको र भिक्षुकहरुका टाउकोको मूल्य राखि आम नरसंहार गरेको वेला केहि भिक्षुहरुको आफनो धर्म बचाइराख्न सुरक्षित स्थानको खोजीमा नेपाल उपत्यका प्रवेश गरेका थिए । उनीहरु नेपालका सुरक्षित भइ विभिन्न बाहा-बहीहरुमा बसोवासगरी धर्मको सम्भार र प्रवर्धन गरि वस्दैआएका हुन् । यसैले धर्म र शास्त्रहरुको संरक्षणगर्न शास्त्रका अन्तिमखण्डमा यो पुस्तकलाइ वचाइराखने, प्रतिलिपी वनाउने, संरक्षण गर्ने, र अरुलाइ वताउने सिकाउने व्यक्तिलाइ असंख्य पुण्यलाभ हुन्छ भनि लेखिराखिएको हो ।
यसरी यहाँका निवासी भगवान गौतमबुद्धका वंशज भएको; महाविद्वान भिक्षु, आचार्य, तथा धार्मिकजनका आश्रयस्थल भएको, इतिहाकाल देखि ग्रन्थको संरक्षणकार्य गरी धर्मलाइ व्यावहारिक जिवन पद्धतिसंग गासेको र ‘धर्मधारण’कार्यलाइ सर्वोत्तम मान्यता दिइएको हुँदा नेपालमा संस्कृत वौद्ध साहित्यको यति धेरै संरक्षण भएगरेको हो । यसको लागि नेवारजातिलाइ विश्वसमाजले उच्च मूल्यांकन गरेको छ । यसको हामी गौरव गर्नु पर्दछ ।
नेपालमा प्राप्त संस्कृत त्रिपिटकको पुस्तक एक हजार वर्ष जति भन्दा पुरानो छैन । त्यस अघिको पुस्तक नेपालमा प्राप्त छैन । त्यो भन्दा पुरानो पुस्तकहरु चीनको Dunhuang भन्ने स्थानमा एक पहाडी गुफामा प्राप्त भएको र ती चीनीयाँ भाषामा अठारसये वर्ष पुराना छन् । यी चीनीया भाषाका पुस्तकहरु मूलरुपमा संस्कृत भाषावाटै अनुदित भएको हुँदा यस ग्रन्थ संस्कृत भाषामा दुहजार वर्ष पहिले नै लेखिसकिएको हुनुपर्छ भनि मान्यता दिइआएको छ । धर्मरक्षितले लेखेको चीनीया भाषाको सद्धर्मपुण्डरिकसूत्रमा तिथिमिति समेत उल्लेख गरेको छ जस वमोजिम जसवाट त्यस पुस्तक इस्वी सम्बत् २८६मा लेखेको ठहरिन्छ । तर, दुखको कुरा त्यो पुस्तक हाल हराइराखेको अवस्थामा छ । त्यसपछि कुमारजीवले चीनीयाँ भाषामैं लेखेको पुस्तक भने अहिलेसम्म पनि सुरक्षित छ । यसैले यो शास्त्रको इतिहास २००० वर्ष पुरानो हुनुपर्दछ भनि मान्न सक्दछौं ।
भगवान शाक्यमुनी वुद्धले ‘त्रि-धर्मचक्र प्रवर्तन’ गर्नुभएको थियो, अर्थात् पटक पटक गरी तिनपटक धर्मचक्र-प्रवर्तन गर्नुभएको थियो । प्रथमत: सारनाथमा गर्नुभएको धर्मचक्र प्रवर्तनमा चतुरार्यसत्य, आर्यअष्टाँगिकमार्ग, प्रतित्यसमुत्पाद आदिको धर्मदेशना गरी निर्वाण चाहनेलाइ निर्वाण र सर्वज्ञता चाहनेलाइ सर्वज्ञताको बोध गराउनु भएको थियो । यस अनुसारको शिक्षण अनुशासन ५०० वर्षसम्म राम्रैसंग चलेको थियो । त्यसपछि भगवानले दिनुभएको देशनाको विषयवस्तुमा थेरवादी मतमात्र होइन अन्य कुराहरु पनि छन् भन्ने विवाद चल्यो । कनिष्कको बेला भएको चतुर्थ सांगायनमा वुद्धवचन पाली, प्राकृत, अपभ्रंष, पिशाच गरी चारभाषाहरुमा लिपिवद्ध भएको थियो । त्यसवेला भएको सो सांगायनमा संस्कृतमा भाषामा कुँदिएको शिलापत्रहरु चैत्यमा संरक्षित गरी राखेको पनि थियो । यसकुराको उल्लेख चीनीयाँ भाषामा प्राप्त ग्रन्थहरुमा उल्लेख गरिएको छ । तर, ती संरक्षित गरी चैत्यमा राखिएको भनिएको शिलापत्रहरु भने हालसम्म पनि भेट्टाउन सकिएको छैन । चीनीया भाषामा सात ओटा अभिधर्मग्रन्थहरु पालीभाषाको त्रिपिटकमा लेखिएकिए जस्तै व्यहोराको छ । त्यसैगरी तिव्वती भाषालेखिएको त्रिपिटक पनि प्राप्त छन् । तर, महायानी संस्कृत सूत्रहरु सवैगरी ५०० ओटा जति वुद्धवचनहरु र ५००० जति शास्त्रवचनहरु भएगरेको मानिएतापनि त्यसको २० प्रतिशत जतिमात्र वची हाल उपलव्ध रहेका छन् ।
भगवान वुद्धको प्रथमपटक दिनुभएको देशना जुन पञ्चभद्रियलाइ दिनु भएको थियो थेरवादी तरीकाको थियो । द्वितीय धर्मचक्रप्रवर्तन त्यसको ६ वर्ष पछि भगवान वुद्ध ४१ वर्षको वेला राजगृहको गृध्रकूट पर्वतमा देशना भएको थियो । त्यसवेलाको ‘चतुर्परिषद, (भिक्षु, भिक्षुणी, श्रावक, श्राविका) को अलावा देव, गन्धर्व, किन्नर, नाग, अमनुष्यहरु समेतको ‘अष्टपरिषद्’ समूह समक्ष देशना भएको थियो । राजा अजातशत्रु, राजपरिषद, श्रावकश्राविका साथै १२५० भिक्षुकहरु पनि समावेश थिए । त्यसवेला भगवानले देशना गर्नु भएको ज्ञान विपुल अथवा ‘विस्तार’ले वताए को भन्ने अर्थमा वैपूल्यसूत्र नाम प्रचलित भएको हो । पाली भाषामा देशना भएको र विस्तृतरुपमा व्याकरण भएको भनिएको दीघ्घनिकाय (५ – ७ पेजमात्रका) पनि वैपूल्यसुत्रको तुलनामा र धेरै छोटा रहेका छन् ।
भगवान वुद्धले यसमा देशना गर्नुभएको तरीका पनि प्रथम पटक भएको देशनाको तरीकासंग फरक छ । प्रथम पटक भएको देशना ‘महामानव’रुपमा देशना भएको र दोस्रो पटक भएको देशना ‘दिव्यमानव’रुपमा भएको देखिन्छ । यहाँ भगवानको दुइ आँखाको वीचको भाग, उर्णाकोषवाट तेजप्रकाश फैलिंदै अकनिष्ठ भुवन देखि नरकलोकसम्म पुग्ने, ऋद्धिअनुभाव प्रकट हुने, त्यसवेला भएका सम्पूर्ण बोधिसत्वहरु छर्लंग प्रकट हुने, उनीहरुले गरेका अभ्यास कामकार्य देखिने र यसवाट भगवाने के गर्न लाग्नुभयो भन्ने सवैमा उत्सुकता हुने गर्दछ । त्यस्तो ऋद्धप्रतिहार्य देखाइ मैत्री करुणा वोधिचित्त उत्पन्न गराइ ८०,००० वोधिसत्व लगायत १२५० भिक्षु भिक्षुणीहरु समेतलाइ राजा अजातशत्रुको व्यवस्थापनमा (sponsorship) देशना भएको थियो भन्ने भनिएको छ ।
त्यस देशनामा मैत्रेय वोधिसत्वले वरिष्ठ वोधिसत्व मञ्जुश्रीकुमारभूतसंग ‘भगवानले के गर्न लाग्नु भएको हो, अवश्य पनि नयाँ कुरा हुनुपर्छ होला’ बनि जिज्ञासा राखनु भएको रहेछ । भगवान वुद्धले गम्भीर नयाँकुरा देशना गर्न अघि यस्तै ऋद्धि प्रतिहार्य देखाउने जसको आशय यस्तो धर्मश्रवण र छलफल गर्न सम्पूर्ण वोधिसत्वलाइ भन्ने वोलावट गरेको अभिप्राय हो ।
त्यसवेला भगवान शाक्यमुनीवुद्धले समाधिवाट व्युँझेर शारिपुत्रलाइ भन्नुभयो, ‘वुद्धवोधिलाई श्रावक र प्रत्येकबुद्धले वुझन सक्दैन तथा बुद्धको सन्धाभाष्य पनि बुझन गाहारो छ ।’ यसप्रकार वोधिसत्वत्व प्राप्तगरिसकेका ज्ञानीजनलाइ पनि वुझन गाहारो छ भनेको सुन्दा त्यहाँ भएका सवै अलमलमा परेको देखि आयुष्मान शारीपुत्रले सवैको कुरा वुझी भगवान संग ‘यो कुरा बुझ्न दुर्विज्ञेय छ गाहारो छ’ भनि किन भन्नुभएको’ भनि सोधि सवैको मनमा उठेको शंका समाधानगरी सद्धर्मको उपदेशगर्न अनुराध गरे । भगवानले यो सन्धाभाष विषयवस्तुको ज्ञान श्रावक, प्रत्येकवुद्धले वुझ्न सक्दैन, दुर्विज्ञेय छ भनि पटक पटक भन्नुभयो । यसरी पटक पटक गरी तीन पटकसम्म तेहेराएर भन्नुभएपछि त्यस परिषदमा उपस्थित मध्ये केहि घमण्डी अभिमानी भिक्षुहरुले अप्ठ्यारो मानी ‘हामीले बुझिसकेकै छौं; चतुरार्यतसत्स, आर्यअष्टाँगिकमार्ग, प्रतीत्यसमुत्पाद हामीलाइ थाहा छ, अव के वाकी छ र ? हामी अर्हत भइसकेका पनि छौं, तापनि भगवानले त्यसो किन बन्नु भएको होला’ भनि कसोकसो मानी ५०० जना भिक्षुकहरु उठेर गए । ती अभीमानी घमंडी भिक्षुहरु गएपछि भगवानले ‘अव यो परिषद शुद्धभयो शंकागर्ने रहेन, अभिमानी घमण्डीहरु गए’, भनि देशना शुरु गर्नुभयो । यो कुरा ५७औं अध्यायमा छ ।
यस ग्रन्थको पहिलो र दोस्रो अध्यायको मुख्य विषय उपाकौशल्य रहेको छ । यो ज्ञान विषय अरुलाइ कसरी वुझाउने सिकाउने दिने भन्ने शिक्षण तरीका, technique, वताइएकोछ । श्रावकयान, प्रत्येकवुद्धयान र वोधिसत्वयानगरी तीनओटा वेग्लावेग्लै स्वतन्त्र वाटोहरु जस्तो देखिए तापनि यी त्रियानका वाटोहरु छुट्टाछुट्टै समानान्तरको नभइ एक पछि अर्को गरी जाने स्तरका क्रमिक तहहरु मात्र हुन् । अन्तिम लक्ष त एउटै हो, वुद्धत्व नै हो । एक तह पूरा भएपछि अर्को तहमा चढने हो, चुपो लागेर बस्ने होइन । श्रावकको उद्देश्य श्रोतापन्न, सकदागामी, अनागामी, अर्हत्व भएपछि त्यसपछि अर्को छैन, पुग्यो भन्ने होइन । अर्हत्व प्राप्त गरे पछि पनि ‘म पनि बुद्ध हुन्छु’ भन्ने हुनुपर्दछ । अर्हत् भएपछि ‘म बुद्ध हुन्छु’ भनि प्रणिधान लिएमा उ सम्यकसम्वुद्ध हुनसक्छ भन्ने महायानी सिद्धान्त हो ।
सद्धर्मपुण्डरीकसूत्रशास्त्र वोधिसत्वज्ञानको उत्तम ग्रन्थ हो । यसमा वोधिसत्वले गर्नुपर्ने कुराहरुको सार संक्षेप हो । वौद्ध दर्शन सम्बन्धी बाकी सवै शास्त्र नष्ट भएपनि कदाचित यो एउटैमात्र बाकी वचे वुद्धधर्म नष्ट हुदैन, यसको आधारमा अन्य सवैशास्त्रलाइ पुनर्उपलव्ध गर्न सकिन्छ भन्ने मान्यता पनि छ । सद्धर्मपुण्डरीक अध्ययन अनुशरण गरे अवश्य वुद्धत्व प्राप्त हुन्छ । त्रियानको शिक्षाव्यवस्था व्यक्तिको अवस्था, चाहना, क्षमता हेरि उपायकौशल्यासाथ उसलाइ अगाडी वढाउन दिइएको विकल्पको अवस्थामात्र हो, ती सवै यानहरुको उद्देश्य एउटै हो । यसरी यी तिन यानहरु छुट्टाछुट्टै होइनन्, एकै हुन् ।
एउटा उपमा लिउँ । औपम्य परिवर्तमा श्रावकको स्तरवाट क्लेशरहित भइ अर्हत् बन्न सक्छ, र ‘अर्हत भएपछि मैले केहि गर्न पर्दैन भन्ने होइन’ भन्ने उपमा दिइएको छ । घरमा आगो लागिरहेको वेला घरभित्र वच्चा खेलिरहेको वाबुले वोलाउँदा पनि ती वच्चाहरुले थाहा नपाई, डर नमानी, नसुनी, परवाह नगरी, मग्न भै वाहिर आउन नमानिरहेको अवस्थामा बाबुले कसरी उपायकौशल्य गर्ने भन्ने सुन्दर उपमा छ । ती वच्चाहरुको इच्छा चाहनालाइ विचार गरी वाबुले मृगरथ, गोरथ र अधीरथ अर्थात् त्यसवेलाका तिन प्रकारका वाल्यखेलौनाहरु जसलाइ जे चाहिन्छ लिनआउ भनि वोलाएको र ती वच्चाहरु पनि खुशीभै वाहिर आएको वर्णन छ । तर, मूलकुरा के भने बच्चाहरु वाहिर आएपछि त्यस वाबुले ‘उत्कृष्ट निकृष्टको विवार नगरी वच्चाहरुले मागे बमोजिमको’ खेलौना दिन्छ कि ‘आफूसंग भएको सवैभन्दा उत्कृष्ट’ दिन्छ भन्ने प्रश्न हो । सद्धर्मपुण्डरीकले जसरी क्षमतावान बाबुले आफूसंग उत्कृष्ट ज्ञानवस्तु हुँदाहुँदै तल्लोस्तरको निकृष्ट ज्ञान आफ्नो वच्चालाइ दिदैन त्यसरी नै भगवानले राग् द्वेष, मद, मोह, मात्सर्य रुपी क्लेशमा भुली रमाएकालाइ चेतना दिंदा सर्वोच्च स्तरको ज्ञान दिनसक्ने हुदाहुदै तल्लोस्तरको ज्ञान दिनुहोला र ? भन्ने प्रतिप्रश्न गरेको छ । भगवानले ज्ञानदेशना दिंदा प्रत्येकवुद्धको मात्र किन दिने, वुद्धत्वनै किन नदिने ? भन्ने कुरालाइ यस ग्रन्थमा राम्रो व्याकरणगरि व्याख्या गरिएकोछ ।
अव हेरौं, भारत, श्रीलंका र बर्मा प्रचलित बुद्धदर्शन अन्तर्गतको थेरवादमतको उद्देश्य निर्वाण हो, अर्हत्त्व हो । वुद्धत्व हुन आवश्यक छैन भन्ने धारणा हो । अर्हतको कर्मक्लेश हुदैन र क्लेश नभएपछि जन्म हुदैन भन्ने दर्शन हो । यहाँसम्म महायान पनि सहमत छ कि कर्मक्लेशवाट अर्हतको पुनर्जन्म हुदैन । तर, क्लेशकर्म नभएतापनि ‘महाकरुणा’वाट पुन:पुन: जन्म हुन्छ भन्ने महायानी दर्शन हो ।
अभिसमयसलंकारले वोधिसत्वले प्रज्ञावाट संसारको आदिनव दोष देखेर करूणले प्राणीहरुको लागिआवश्यक उपकार गर्नको लागि परतन्त्र भइ निर्वाण पनि नभइ संसारमा लिप्तपनि नभइ रहन्छ अनन्तनिर्वाणमा वस्दैन “प्रज्ञया न भवे स्थानं कृपया न शमे स्थिति: अनुपायेन दूरत्वमुपायेनाविदुरता”, ‘प्राणीप्रति करुणा भएकोले वुद्ध अनन्त निर्वाणमा बस्दैन’ भनि भनि लेखेको छ । जसरी आफ्ना बच्चाहरु आगोले जलेको हेरेर बस्न सक्दैन त्यसरी नै कुनै वुद्ध पनि महाकरुणा उत्पन्न नगरी वस्न सक्दैन । किनकि आफूसंग हुँदाहुँदै पनि सवैभन्दा उत्तम ‘अधिरथ’ खेलौना नदिए तल्लोस्तरको ज्ञान दिए वुद्ध स्वयं झुट्ठा सावित हुदैन र ? शाक्यमुनी वुद्ध आफैपनि चोधिज्ञान प्राप्त गरेपछि सातदिनसम्म रमाएर वसेपछि जगत उद्धारको लागि सारनाथमा देशना गर्नु भएको त थियो । वहाँलाइ त्यसरी देशना गर्नुपर्ने आवश्यकता नै किन किन पर्यो त ? जे जस्तो जति पनि दिनसक्ने क्षमता भएका व्यक्तिले ‘माग्नेले उत्कृष्ट निकृष्ट जे जे मागेको सोही बमोजिम दिने’ कि ‘नमागे पनि आफूसंग भएको सर्वश्रेष्ठ वस्तु दिने’ भन्ने विकल्प नै ‘अर्हत्व’ र ‘वुद्धत्व’ मूलभूत अन्तर हो ।
तत्पश्चात भगवानको उपदेश सुनी आयुष्मान शारीपुत्रले उसोभए ‘म के हुन्छु त?’ भनि भगवानसंग सोधनु भयो । भगवानले ‘तिमी वुद्ध हुनेछौ’ भनि भविष्यवाणी गर्नुभयो । त्यसै प्रकारले अन्य वोधिसत्वहरुलाइ पनि वुद्धहुने भविष्यवाणी गर्नुभयो । त्यसैगरी श्रावकहरु समेत जजसले सोधे सवैलाइ भविष्यमा वुद्धहुने भविष्यवाणी गर्नुभयो । यसरी ‘वोधिचित्त उत्पन्नगरेका वुद्धयानमा लागेका महाकरूणा उत्पन्न गरेका सवै नै तुरुन्तै अथवा कुनै न कुनै वेलामा वुद्धत्व प्राप्त गर्नेछन्’ भन्ने कुराको घोषणा गर्नुभयो । सद्धर्मपुण्डरीकसूत्रको मूल दर्शन यही नै हो ।
अर्को पक्षवाट हेर्दा प्रश्न उठन सक्छ; कुन हेतुवाट महाकरुणाप्रेरित पुनर्जन्म हुन्छ, अथवा वुद्ध भैसकेपछि किन देशना गर्नपर्छ ? थेरवादले पनि भगवान मुक्तभैसके पछि पनि सयौं किलोमीटर पैदल घुमेर ४५ वर्षसम्म देशना गर्दै हिँडनुभएको भनि मानेकै छ । यसको जवाफ हो, प्रज्ञा भएपनि महाकरुणा हुन्छ । अरुको दुख देख्दादेख्दै, उसको दुख विमुक्तिको क्षमता र साधन हुँदाहुँदै उ शान्तनिर्वाण हुन सक्दैन, अन्नतकालसम्म निर्वाणमा रहन सक्दैन । आफू निर्वाण भैसकेपनि अन्यप्राणीका दुखले उ द्रवित हुन्छ र ‘महाकरुणा’को हेतुवाट जगतउद्धारको लागि पुन: पुन: प्रकट हुन्छ । त्यसरी नै जसरी एउटी आमाले वच्चालाइ नि:शर्त सेवा गरेको जस्तो ‘करूणा’ निसृत हुन्छ । र, यो कर्मजनित क्लेश होइन ।
समन्तमुखपरिवर्तमा भगवान अवलोकितेश्वरको महात्म्य वर्णन छ । अवलोकितेश्वरको ‘जवसम्म सकल प्राणीको उद्धार हुदैन म निर्वाण लिनेछैन’ भन्ने अद्वितीय प्रतिज्ञा विश्वमै ‘न भूतो न भविष्यति’ को रुपमा स्थापित भएको छ । यस परिवर्तमा जहाँ लोकधातु छ त्यहाँ अवलोकितेश्वर वोधिसत्व महासत्वले धर्मोपदेश दिनुहुनेछ भन्ने कुरा उल्लेख छ । गृहस्थीले गरेको उपदेश भिक्षुले सुन्दैन, भिक्षुलाइ भिक्षु भएर नै उपदेश दिनु पर्दछ, त्यसरी नै राजालाइ उपदेश दिनु परेमा अवलोकितेश्वरले पनि सम्राट भएर दिने गर्दछ भन्ने भनिन्छ । अर्थात् जो जसलाइ जसरी दिनुपर्नेहो तत्प्रकारले नै त्यहि रुपमैं दिने गर्दछ, र वहाँको शरणागत भइ नाममात्र लिइ पुकारा गरेपनि सम्पूर्ण आपत् दुखवाट छुटकारा पाउछ भन्ने कुराको उल्लेख छ ।
‘तथागतगर्भसिद्धान्त’ भनेको ‘सकल प्राणी वुद्ध हुनसक्छ’ भन्ने विषय हो र यहि कुरा यस ग्रन्थको मूलसार हो । सदाऽपरिभूतपरिवर्तमा एक कथा उल्लेख छ । सदाऽपरिभूत भन्ने व्यक्तिले सवैलाइ ‘म तपाइहरुको परिभव गर्न चाहन्न वरु म आफै परिभव बन्न सक्छु तपाइहरु वोधिचर्या पालन गरी सम्यक सम्वुद्ध हुनुस्’ भनि अथकित रुपमा भन्दै रहने गरेको आख्यान छ । सवै प्राणीमा वुद्धत्व हुनसक्ने क्षमता छ भन्ने कुरा यसले देखाउँछ । साथै, ‘सवै प्राणीमा वुद्धत्व देखने’ यस महान आदर्श ‘म तपाइभित्रको इश्वरलाई वन्दना गर्दछु’ भन्ने हिन्दू पद्धतिको ‘नमस्कार’ र जापानी भाषाको ‘ओम म्योहोरेंगे हुम्’ को पनि प्रेरणास्रोत हो भनि भन्न सक्दछौं।
ठूलो अभ्यास, ठूलो अध्ययन गर्नेले मात्रै वुद्धत्व पाउछ भन्ने होइन । सद्धर्मपुण्डरीक देशना गरेको स्थानमा गर्ने ठाउँमा चैत्य उत्पन्न हुने सिद्धान्त छ । यसैले जापानी शिन्शिंकाईले धेरै ठाउमा चैत्य वनाएका छन् । सद्धर्मको देशना सुन्ने, सुनाउने, लेखने, प्रतिलिपी वनाउने, लगायत मूर्ति बनाउने, चित्र कोर्ने; चैत्य वा वुद्धको मूर्ति वनाउने, स्थापना गर्ने, संभार जिर्णोद्धार गर्ने, आदि कुशलमूल कर्म गरेमा पनि वुद्धत्व पाउँछ भन्ने धारणा च । यसैले, यस पाटन शहरमा मात्र १६७ विहारहरु र १००० भन्दा वढी चैत्यहरु स्थपित भएका छछन् । यी वुद्धकारकधर्म हुन् ।
सकल प्राणीमा ‘तथागतगर्भ’ हुन्छन् । एउटा कथा छ, एउटा गरीव मान्छेले भीखमाग्दै जाँदा एक साधक ले ‘तिम्रो आफ्नै घरआँगनमा गाडिएको सुनको घडा छ खोज’ भनि भन्दा उसले खोजिहेर्दा साँच्चै सुनको घडा पाएको रहेछ । यो कथाले हामीले सुख भनि वाहिर खोजी हिड्छौं, छलोकको भ्रमण गर्छौं, तर सुख हामी भित्रै छ भन्ने कुराको प्रतीक हो । सवैसंग सुनको घडा छ र त्यस सुनको घडा कसरी निकाल्ने भन्ने विषयमा हाम्रो अन्तरमन ‘आँगन’मा रहेको माटोरुपी राग, द्वेष, मोह, मद, मात्सर्य आदि फाल्ने हो । यी पञ्चक्लेशनै हाम्रो सम्पूर्ण दुखको आधार हो । माटोको रुपमा रहेको क्लेशले पुरिएको मनलाइ क्लेश हटाउने साधन पञ्चक्लेश हटाउने स्रोत उपाय ‘महाकरूणा’ उत्पन्न गराउनु नै हो । पञ्चक्लेश निवरण हुनु र वुद्धत्व प्राप्त गर्नु एकै कुरा हो ।
महाकरुणा उत्पन्न गराउने तरीका सम्वन्धमा एक आख्यानको यहाँ उल्लेख गर्न सान्दर्भिकै होला । गुरुको सल्लाह वमोजिम आचार्य असंगले मैत्रेय वोधिसत्वको आराधना गरे । तर ३ वर्ष वितेपछि असंगको धैर्य डगमगायो । उ दिक्क भइ ध्यान छाडी वाहिर आउदा एउटा भँगेराले पखेटा भिजाइ एउटा पोखरी वाट अर्को पोखरीमा सार्दै गरेको दृष्य देखे र पुन: ध्यान गर्न थाले । अर्को ३ वर्ष वितेपछि फेरि दिक्क भएर ध्यान छोडे । वाहिर आउदा एउटा कागले कपासको सियोले फलाम सिउने प्रयासमा लागेको दृष्य देखे र पुन: ध्यान गर्न वसे । बाह्रौं वर्ष सम्पन्न भएपछि वाहिर आउँदा शरीरभरी उपियाँले ढाकेको एउटा अत्यन्त दुखी कुकुर देखे । आफ्नो कष्ट सहन गर्न नसकेको कारणले गर्दा वाटोमा हिँडने सवैलाइ भुक्न टोक्न खोज्ने कुकुर देख्दा असंगको करूणा उत्पन्न भयो । उसले ति उपायकौशल्य गरी काँचो मासुको गन्ध पाएमा किराले कुकुरलाइ छोड्ने भएकोले आफ्नो तिघ्राको मासु काटी कुकुरको अघि लग्दा मासु भूइमा झर्यो । त्यो खसेको मासुलाइ हातले पुन: टिपी उठाउँदा त्यहाँ कुकुर थिएन, मैत्रेय वोधिसत्व उभिएको पाए । यसरी आफ्ना आराध्य वोधिसत्व अगाडी उभिएको पाएपछि असंगको सम्वेग उत्पन्न भयो । मलाइ किन छोडनु भएको भनि प्रश्न गरे । मैत्रेय वोधिसत्वले ‘म जहिले पनि तिमी संगै छु । चरा, कौवा र कुकुर पनि मैं हुँ । तिमिले जुन दृष्टिले मलाइ हेर्यौ, त्यसरी नै म देखिएको हुँ’ भने । ‘क्लेश भएकाले मलाइ देखन सक्दैन, मलाइ देखन करुणा चाहिन्छ’ भने ।
भगवान अवलोकितेश्वरले पनि भगवान वुद्धलाइ एकपल्ट भन्नुभएको थियो, ‘किन ८४,००० किसिमले किन देशना गर्नुभएको हो, महाकरूणको एउटैमात्र देशना गर्नु भएपनि पुगीहाल्थ्यो’ । जसरी राजालाइ वोलाए उसका भारदार मन्त्री अमात्यहरु सवै पछिलागेर आउछ, त्यसरी नै महाकरुणा भए अन्य सवैकुरा स्वत: पछि लागेर आउछ, सवै कार्य सम्पन्न हुन्छ । यो कुरा धर्मसंगीतीसूत्रमा उल्लेख छ ।
गुणकारण्डव्यूहसूत्रमा उल्लेख छ । सकल प्राणीले वुद्धत्व प्राप्त गर्न सक्छ । महाकरुणा भएपछि पञ्चआवरण क्लेश सवै नाश हुन्छ । वोधिचित्त भन्नु र महाकरुणा भन्नु एकै हो । महाकरुणा क्लेशनिवारणको लागि एटम बम जस्तै हो । सवैलाइ आफू सम्झने, आत्म-परात्म समताभाव, करुणाको घेरा वढाउन सकिन्छ । सवै प्राणी आआफ्नो स्वार्थको घेराभित्र रहन्छ, र त्यस घेरालाइ वढाउदै ठूलो पार्दै सवैप्राणीलाइ त्यस घेराभित्र पार्ने कुरा दलाइ लामाले पनि बताएको छ । यो अरुलाइ सुख दिएमा आफूलाइ पनि सुख हुन्छ भन्ने cause and effect को सिद्धान्तमा आधारित छ । स्वार्थमा लागेकाहरु इतिहासमा ‘प्रियनेता’ भएका छैन् । प्रिय हुन परार्थ हितमा लागेको हुनु पर्दछ । अरु प्राणीको दुख हटाउने हुनुपर्दछ । सद्धर्ममा निर्देश गरिएको पाठ गर्ने भनिएको कुरा संस्मरण गरी कसैलाइ तिरस्कार नगरी वुद्ध बन्न सक्नु पर्दछ ।
क्रिश्चियन दर्शन अनुसार ‘जनावरहरु भनेको खानको लागि जन्मिएको हुन् तिनीहरुलाइ मार्न हुन्छ’ । तर, वुद्ध धर्म अनुसार ‘सवै प्राणी जीव भएका हुन् सवै वुद्ध हुन सक्छ’ भन्ने हो । ‘छ ओटा लोक मध्ये जनावरहरु तिर्यकलोकका वासिन्दा हुन् । उनीहरुले आफ्नो कर्मको भोग गरिरहेका हुन् । रागद्वेषका कारणले दुर्गतिमा परेका हुन् ।’ हामी यो निश्चित प्रत्याभूति गर्न सक्दैनौं कि सो दुर्गतिको वास्तविक कारण के हो । त्यसको हेतु के हो । तर, सद्धर्मको अभ्यास महाकरूणाको अभ्यासले ती दुर्गति नहुने प्रत्याभूति भने गर्न सक्दछौं ।
आजकाल प्रश्न उठन सक्छ के आजकाल पनि वोधिसत्वहरु छन् त ? यसको जवाफ हो अवश्य छन् । म स्वयमले तिनचार जना वोधिसत्वहरु भेटेको छु । ताइवानको एक भिक्षुणीले करूणागरी केहि धन जमागरी शुरु गरेको कार्यवाट ८० करोड डलरको हस्पिटल वनेको छ । ४० लाख जना स्वयंसेवकहरु कार्यरत छन् । वाढी पहिरो आदि कुनै केहि भए पनि सो टीमले तुरुन्तै सहयोग गर्छ । एक साधारण भिक्षुणीले त्यसो गर्न सक्छ भने हामी किन सक्दैनौं ? अभियान थालौं ।
समाप्त
यस लेख ललितपुर, हिरण्यवर्ण महाविहार, नागबहालमा नवग्रन्थको वारेमा वज्राचार्यसमाजले आयोजना गरेको नौ-दिने प्रवचन कार्यक्रमको सन्दर्भमा सुप्रसिद्ध विद्वान मीन बहादुर शाक्यज्यूले ‘सद्धर्मपुण्डरीकसूत्र’ ग्रन्थको वारेमा मिति २०६७।०९।०? मा दिनुभएको प्रवचनको सार हो । यस लेखमा लिपिकारले सामान्य छाँटकाँट गरि बढी पठनीय बनाउने प्रयास सम्म गरेको हो । कतै कुनै परिमार्जनको आवश्यकता भए कृपया जानकारी दिनुहुन विनम्र अनुरोध छ ।
लिपिकार : प्रकाश मान श्रेष्ठ, २५’ए’ रिलायबल कोलोनि, भैंसिपाटी ।
९८५११-९३९४८, ०१-५५९२९४८ [email protected]