Categories
प्रज्ञापारमिता

।। स्वल्पाक्षरा प्रज्ञापारमिता ।।

[wpseo_breadcrumb]

।। स्वल्पाक्षरा प्रज्ञापारमिता ।।

सकल बुद्ध बोधिसत्त्वहरुमा नमस्कार ।


यस्तो मैले सुनेँ । एक समयमा भगवान राजगृहको गृध्रकूट पर्वतमा विहरण गर्नु भएको थियो । बाह्रहजार पाँचशये भिक्षुसंघबाट घेरिएर, साथै कोटिनियुतशतसहस्र बोधिसत्त्वसंग साथै भएर, एवं कोटिनियुतसहस्र लोकपालादि देवताबाट परिवृत पुरस्कृत भएर श्रीसिंहासनमा बस्नु भएको थियो ।

त्यस बेला बोधिसत्त्व-महासत्त्व आर्यावलोकितेश्वरले आसनबाट उठेर विस्तारै गई दायाँ घुँडाले भूईँमा टेकी अञ्जुलि बाँधि प्रणाम गरी प्रहसितवदन भई भगवान संग भन्नुभयो, – “दिनुहोस् हे भगवान् ! (त्यस) महापुण्यमयी स्वल्पाक्षरा प्रज्ञापारमिता, जसको श्रवणमात्रले सर्वसकल सत्त्वहरुका सर्वकर्मावरणहरु समाप्त भईजाने हुन्छ । र तिनीहरू निश्चितरूपमा बोधिपरायण पनि भईजाने हुन्छ । (साथै) ति सत्व जसले यस मन्त्रको साधनको उद्यम गर्दछ, उसलाई बिना कुनै बिघ्नबाधा मन्त्रसिद्धि पनि भईजाने हुन्छ” ।

तब त्यहाँ भगवानले आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्व महाकरुणिकायलाई साधुकार दिंदै भन्नुभयो, – “साधु, साधु, हे कुलपुत्र !, यसरी तिमीले सर्वसकल सत्त्वप्राणिका लागि हित गर्न र सुख दिनको लागि अघि सरी मुख्यब्यक्ति भई दीर्घरात्रसम्म लागिपरी रहेका छौ । त्यसैले (म भन्दछु), हे कुलपुत्र ! तिमी सुन, अनुमोदन गर, राम्ररी पालन गर, मनमा लेऊ । मैले त्यस प्रज्ञापारमितालाई भन्दैछु, (जुन) स्वल्पाक्षरा छ, महापुण्यमयी छ; जसको श्रवणमात्रले पनि सर्व सत्त्वप्राणिका सर्वकर्मावरणहरू खतम भईजान्छ, र निश्चितरूपमा बोधिपरायण पनि भएको हुँन्छ । (साथै) ति सत्त्वहरु जो यो मन्त्रसाधनामा उद्यत छन्, तिनीहरुका मन्त्रसाधना पनि अविघ्नरूपमा सिद्ध हुनेछ” ।

तब आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्वले भगवान समक्ष भन्नुभयो – “त्यही नै, हे तथागत ! मलाई देशना गर्नुहोस् जुन सर्वसत्त्वहरुलाई हित गर्ने सुख दिने र कल्याणकारी छ” ।

त्यहाँ त्यस बेलामा भगवान सर्वदुःखप्रमोचन नामको समाधिमा बस्नुभयो । जुन समाधि समापन्न भई उहाँ भगवानको ऊर्णाकोशको छिद्रहरुबाट अनेक प्रकारका कोटिनियुतशतसहस्र रश्मिहरु निस्कियो । ति रश्मिहरुबाट सर्वबुद्धक्षेत्रहरु परिस्फुट भई देखिने भैगए । जसको प्रभामा त्यहाँ रहेका सत्त्वहरु पनि देखिए । प्रकट भइ देखिएका ती सबैले निश्चितरुपमा अनुत्तरको सम्यक्संबोधि लाभ गरिसकेका थिए । (देवलोक देखी) नरकलोक पर्यन्तमा रहेका सत्त्वप्राणीहरु (बसोबास गरेका लोकधातु लगायत) सकल बुद्धक्षेत्रमा छप्रकारबाट कम्प भयो । दिव्य चन्दनचूर्णको वर्षा भई तथागतको पैताला छोपियो ।

तब भगवानले त्यहाँ त्यसबेलामा प्रज्ञापारमिता देशना गर्नुभयो । जो यस्तो छ – बोधिसत्त्व-महासत्त्व समचित्त भएर रहोस् । सर्वसकल सत्त्वहरु प्रति मैत्रचित्त भएर रहोस् । कृतज्ञ भएर रहोस् । कृतवेदिना(?) भएर रहोस् । सर्वपापबाट विरत भएको चित भएर रहोस् । (र) यसरी प्रज्ञापारमितालाई हृदयमा लेओस् – (म) त्रिरत्नलाई नमस्कार गर्दछु ।  तथागत, अर्हत, सम्यक्संबुद्ध हुनुभएका शाक्यमुनिलाई नमस्कार गर्दछु; ओं मुने मुने महामुनये स्वाहा । यस प्रज्ञापारमिताया लाभ भएबाट नै मलाई अनुत्तरको सम्यक्संबोधि अनुप्राप्त हुने हो । सर्वसकल बुद्धहरु पनि यसरी नै भई गएका हुन् । यसै प्रज्ञापारमिता लाइ नै सुनेर (म) साक्षात महाशाक्यमुनि तथागत भएको हूँ । त्यसै गरी तिमी. पनि सर्वसकल बोधिसत्त्वहरु मध्ये अग्रको बुद्ध हुने छौ भनि व्याकृत गर्दछु –  हे मानव ! तिमी भविष्यमा आउनुहुने माणव नामको तथागतको कालमा समन्तरश्मिसमुद्गत श्रीकूटराजा नामको तथागत, अर्हन्, सम्यक्संबुद्ध, विद्याचरणसंपन्न, सुगत, लोकविद्, अनुत्तरः, पुरुषदम्यसारथिः, देवता र मनुष्यहरुका शास्ता, बुद्ध भगवान् हुने छौ, भनेर भन्दछु । यस्तो नामधेय जसले सुन्दछ, धारण गर्दछ, पाठ गर्दछ, सुनाउँदछ, लेख्दछ, लेखाएर प्रकाशित गर्दछ, पुस्तकरूपमा लेखाएर घरमा समेत राख्दछ, त्यस्ता ति सबै सानोतिना अल्प उपाय गरे पनि अल्पश्रवण नै गरे तापनि उ तथागत भएको हुनेछ । जुन यस्तो छ, ‘ओं जेय जेय पद्माभे अवमे अवमे सरसरणि धिरिधिरि देवता अनुपालनि युद्धोत्तारिणि परचक्रनिवारिणि पूरय पूरय भगवति सर्व आशा मम च सर्वसत्त्वानां च । सर्वकर्मावरणानि विशोधय, बुद्धाधिष्ठिते स्वाहा’ ॥

हे कुलपुत्र उहाँ परमार्थप्रज्ञापारमिता सर्वबुद्धहरुका जननी, बोधिसत्त्वका माता, बोधिदात्री पापहारका हुनुहुन्छ । सर्वबुद्धहरुले नै यावत शतकोटि कल्पहरु सम्म भने तापनि उहाँको कृपा अनुशंसाको बर्णन गर्न सक्ने छैनन् । यसको पाठमात्र गरे पनि. सर्व मण्डल परिषदबाट अभिषिक्त भएको हुनेछ । सकल मन्त्रहरुमा अभिमुख भएको समेत हुनेछ ।

तब आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्वले भगवानसंग यसो भन्नुभयो, – “के  कारणले हे भगवान ! यो स्वल्पाक्षरा प्रज्ञापारमिता भनिएको हो” ? भगवानले भन्नुभयो, –“अल्प उपायबाट यो सिद्ध हुने भएकोले स्वल्पाक्षरा प्रज्ञापारमिता भनिएको हो । अर्थात्, कुनै सत्त्वप्राणि मन्दास्वादा भए तापनि, जसले यस स्वल्पाक्षरा प्रज्ञापारमितालाई धारण गर्दछ, वाचन गर्दछ, लेख्दछ, लेखाउँदछ भने, ती सबै अल्पोपाय बाट नै उ बोधिपरायणा भएको हुनेछ । यस्तो कारणले हे कुलपुत्र, यो संक्षिप्त स्वल्पाक्षरा प्रज्ञापारमिता हो’ ।

यसो भनिए पछि आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्वले भगवान समक्ष भन्नुभयो – “आश्चर्यं छ, हे भगवन् ! परम आश्चर्य छ, हे सुगत ! जुन यो  भगवानले सर्वसत्त्वहितायको लागि यो धर्मपर्याय बताउनु भएको यो मन्दपुद्गलका लागि समेत हितगर्ने र सुख दिने हो” ।

भगवानले भन्नुभयो; – ‘हे अरुको दुःख हटाउन सदा तत्पर रहने आर्तमना आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्व ! तिमी भिक्षु तथा बोधिसत्त्व लगायत सर्बसकल देव-मानुष्य-असुर-गन्धर्व समेत लोकबाट लोकबाट अभिनन्दित भएका छौ” ।



स्वल्पाक्षरा प्रज्ञापारमिता समाप्ता॥