Categories
articles

गुरु सत्यमोहन दाई

[wpseo_breadcrumb]

गुरु सत्यमोहन दाइ

सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट गर्नुपर्दछ, भन्ने सोचाई राख्दथेँ । बाटो देखाउने कोही पाइनसकेकोले अलमिएको थिएँ । गुरुपदको पसल थापी व्यवसाय गरेका मास्टरमा भने श्रद्धा थिएन । यसै गरी दिनरात कटिरहेको थियो ।

यस्तै पर्यो । कसैको सहयोगी ‘एक्स्ट्रा’ भएर साथलागी सत्यमोहन जोशीजी कहाँ भेटनजानुपर्ने भयो । कहिले नभेटेको मान्छे । धेरै धेरै पहिले ३२ सालतिर आफू दार्चुलामा रा.वि.से.मास्टर भएर जाँदा सत्यमोहन जोशी भन्ने मान्छेले लेखेको कर्णाली लोकसंस्कृतिको पहिलो खण्ड पढेर ज्यादै प्रभावित भएको थिएँ । र,त्यसैको ढाँचाको नकलगरी आफूले पनि ‘लेकम लोक संस्कृति’ भन्ने भिलेज प्रोफाईल लेखी बुझाई मास्टरको डिग्री पनि लिएको थिएँ । त्यसैले उनि प्रति मनमा एक उत्सुकता थियो । साथै, विभिन्न विधामा तीनपटकको मदन पुरस्कार विजेता, नेवार संस्कृतिको मूर्धन्य विद्वान, इतिहासमा हराएको अरनिकोलाई खोजी चिनाउने व्यक्ति जस्ता उनका अनेक विशेषताहरू बारे निकै सुने पढेको थिएँ । विद्यार्थीकालमा क्वीज कन्टेस्टमा खुब चाख राख्दथेँ, यसैले यस्ता ‘विशिष्टता’का बारेमा निकै दखल राख्दथेँ । यसैले निक्कै जान्ने सुन्ने पनि थिएँ । अहिले पो जागीर नफापेर ढाक्रे हुनपुगेको ।

संस्कृतिको धनी शहर ललितपुरको केन्द्रकै नजिकको ‘पारावत विहार’ । कुनै प्राचीन मन्दीर वा विहारजस्तै लाग्ने सातओटा ढुँगेखुडकिलाहरू चढी पस्नुपर्ने चबूतरा माथि दायाँबाँया सेता परेवाहरू लगायत पञ्चबुद्ध चित्रित बीचमा वज्रसत्त्वको मूर्ति खोपिएको प्राचीन प्रवेशद्वार । शायद कुनै बेला रहेको विहार भत्किएपछि त्यस प्रवेशद्वारमाथि थपिएको जस्तो, पुरानै घर । भित्र वयोवृद्ध उमेरको अग्लो व्यक्ति, देख्दा सामान्य लाग्ने तन्नेरीमनको नेवारले विशुद्ध नेपालीमा छन्द व्याकरण उच्चारण आदि केहि पनि त्रुटि नगरी बोल्दै थिए । आधुनिक नेपालमा पहिलोपल्ट बौद्धधर्ममा प्रबज्ज्या लिए बापत जुद्ध शम्शेरले देशनिकाला गरेको वर्णन र पछि अन्तरराष्ट्रिय दवावको कारणले तथा आफूलाई सुधारवादी देखाउन पद्म शम्शेरले सो आदेश फिर्ता लिएको इतिहासको ओजपूर्ण अन्तरवार्ता रेकर्डिंग गराउँदै थिए । यसैले लुसुक्कपरी एक कुनामा नम्र भई उभिएको थिएँ । सत्यमोहन जोशी वहाँ नै होला भनेर खुट्याउन गाहारो परेन । क्यामेरामेनले त्रिखुट्टिमा ठड्याएको ठूलो मूभीक्यामेरावाट उनैको भनाईलाई भिडियोशूट गरिरहेका थिए । इतिहासका पन्नाहरू प्रवाहित भइरहेका थिए ।  मेरो द्वेषी मस्तिष्कमा यी राणाशाहीहरू आफूलाई भारतपरस्त देखाउने तृष्णाले कति असहिष्णु भएका रहेछन् भन्ने कुरा घुम्दै थियो । र, जसको हींगको टालो आजसम्म पनि निकैले बोकी राखेका छन् भन्ने मेरो सोचाई थियो ।

कुनै उपवन वा सानो झाडी जस्तै लाग्ने हरियाली । लटरम्म फुलेको बेगमकल्लीको लहराको झ्याँगतल मटानमा यी सव हुँदै थिए । संस्कृतिविद् सत्यमोहन जोशीको घर पनि संस्कृतिमय रहेछन् । पारम्परिक, सामान्य र पुरानो घर । सिमेन्ट छड र तडक भडक विहिन । सादा । मोटर, ग्यारेज, फ्रिज, कम्प्युटर  र टिभि बेगरको । सन्तोषं परमं सुखम् । ढोकासंगै  स्थापित एकजोडी स्त्री-पुरुषका ढुगेमूर्तिमा फूलमाला पहिराइएको थियो ।  उनका स्वर्गीय पितामाता रहेछन् । शङ्खरराज र  नुगलदेवी प्रतिदिन पूजिने रहेछन् । नब्बे वर्षका जोडीले पितामातालाई दैनिक पूजागर्ने रहेछन् । मेरो मनमा श्रद्धा पुलकित भयो । 

कुराकानी भयो, सकियो । के कुरा भयो भन्ने अहिले हाम्रो विषय होइन । त्यसै छोडिदिउँ, बरू पछि कुनैबेला विस्तारमा चर्चा गरौंला । बरू कुराकानी भैरहेको बेलामा मनमा आवाज आउँदै थियो, ‘तैंले खोजेको मान्छे यही हो । नछोड, समात् । सोध्ने जति सवै सोध्, यही बेला हो । पछि पश्चाताप होला’ । हृदयवाट उठेको डिंडिमको अनाहतनाद आभ्यान्तरको कर्णपटल दनादन ठोकिंदै थियो । कुराकानी सकिएपछी अनाचक बोल्न पुगेँछु, “संस्कृति र अध्यात्मका विषयमा मेरा निकै कन्फ्यूजनहरू छन्, के म यहाँवाट निर्देशन पाउन सक्छु ?” उहाँले हास्दै भन्नुभयो, “हुन्छ, हामी हरेक सोमबार छलफल गर्छौ । प्रज्ञापारमिताको छलफल र नामसङ्गीतिको पाठ पूजा आदि हुन्छ । आउनुभए हुन्छ, छलफल गरौंला । तपाईहरू जस्ता त आउनु पनि पर्छ ।”

सोमबार चारबज्नु अगावै पुगेँ । बसुन्धरादेवीको मूर्ति खोपिएको ढोकावाट टाउको निहुराई बैठकमा छिरेँ । भित्तामा भगवान बुद्धको सुन्दर मूर्ति स्थापित थियो । शायद एकमात्र चैत्यहीन विहार भएकोले यो बुद्धको प्रतिमा उहाँले नै स्थापना गर्नु भएको रहेछ । पछि थाहा हुँदै गए । त्यसको फलेँटिमा घ्यूको दीवाहरू जलिरहेका थिए । मूर्तिको तल सानो टेबिलमा हेर्नमा सामान्य लाग्ने व्यक्तिहरूको दुइटा फोटो थियो । यसअघिका गुरुहरू हुनुहुँदा रहेछन् । एकातर्फको भित्तामा रगीचंगी माछाहरू भएको सानो एक्वेरियम थियो । किताबका चाङहरू खात का खातपरी यताउता अरल्लिएर पडेका थिए । बैठकमा महिला र पुरुषहरू छुट्टाछुट्टै लहरमा बस्दै गरेका थिए । भगवान बुद्धको प्रतीमालाई अगाडी पर्नेगरी अर्को साइडमा एकजना महिला बसेकी थिइन् । उहाँ यस पाठपूजा र प्रवचन गर्नुहुने गुरुमा ‘शान्ति दिदी’ हुनुहुँदो रहेछ । साथमा वज्रयानका एकजना मुख्य ‘आचार्य’ टंकमान दाइ पनि रहेछन् । 

सत्यमोहनको थर ख’ख’ले गुणितागर्ने जोशी हो । पुर्ख्यौली धर्म निख्खरा तागाधारी हिन्दू हो । उहाँले आफ्ना कुल परम्परामा केहि आँच आउन नदिई वज्रयानी साधनाज्ञान परम्परालाई पनि साथै कायम गराउनु भएको रहेछ । यस बुद्धपूजाको पूजाक्रम विधि पञ्चोपचार रहेछ । साधना सप्तविधानोत्तर रहेछ । गुरुमा शान्ति दिदीले भन्नुभयो, “प्रकाशमानजी, म लेख्नपढन जान्दिन । पढेको छैन” । सत्यमोहन जोशी जस्ता विद्वान पनि औपचारिकरूपमा धेरै पढेका त रहेनछन् । सत्यमोहन जोशीले शान्तिदिदीलाई गुरुमाको स्थानमा राखी प्रवचन गराएका रहेछन् । अहिले शान्ति दिदी बस्नु भएको गद्दीमा यस अघि गुणरत्न जस्ता महापण्डित गुरू आसीन हुनुभएको रहेछ । आजका नाम कहलिएका निकै नामूद बौद्धविद्वानहरू वहाँका उत्पादन रहेछन् । त्यस्ता गुणका खानी भएका गुरु गुणरत्नले कस्ताकस्ता कतिकति पढेका आफ्ना शिष्यगणहरू मध्ये शान्ति दिदीलाई नै प्रमुख गुरुशिष्याको रूपमा चयनगर्नु  भएको रहेछ ।   

एक पल्ट सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, काशी विद्यापीठका प्राचार्य र प्रकाण्ड बौद्ध विद्वान प्राध्यापक जगन्नाथ उपाध्याय ब्रायन हगसन, राहुल सांकृत्यायन जस्ताको अनुशरणगरी बौद्धज्ञानको खोजी अनुसन्धानको क्रममा यहाँ आउनु भएको रहेछ । उहाँले महायानी परम्पराको पूजाविधि लुप्तप्राय भइसक्यो भन्ने क्रममा ललितपुरवाट समेत यो                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      लुप्त भैसकेकोछ भनी भनाई राखेका रहेछ । त्यो सुनेर सत्यमोहन जोशीले ‘लुप्त भएको छैन’ भनी भनेछन्, जसको समर्थन आशाराम शाक्य र लोकदर्शन वज्राचार्य आदिले पनि गरेका रहेछन् । र सत्यमोहन जोशीले प्रमाणको लागि  आफ्नै घरमा ल्याई यहि सोमबारे सप्तविधानोत्तर पूजा, नामसङ्गीतिको पाठ आदि देखाई दिएछन् । यस्तो महायानी परम्परा शुद्धरूपमा कायम राखेको दुर्लभ कुरा देखेर ती प्राचार्य छक्क परेका रहेछन् । साथै, गुणरत्नजस्ता महाज्ञानी गुरू तथा नेपालका बौद्धविद्वानहरूसंग छलफल गरी प्रभाबित भई गएका रहेछन् ।

महायानी सप्तविधानोत्तर भनेको सात क्रमको अर्चना रहेछ । शुरूमा आफ्ना आराध्य ‘भगवान बुद्ध’लाई आह्वानगर्ने, स्थान आसन दिने, स्नान अभिषेक गर्ने आदि ‘वन्दन’कर्म गरिने रहेछ । तत्पश्चात्, पञ्चोपचारपूजा गर्ने रहेछ । जसमा  केशरी अबीरआदि टिका लगाउने, वस्त्रालंकार लगाइदिने, फूलमाला पहिराइदिने, धूप जलाउने, नैवेद्य अर्पणगर्ने रहेछ । तेस्रोमा पापदेशना गरिने रहेछ जसमा यस अघि आफूले गरेको अकुशलकर्मको अरूलाई सुनाई प्रायश्चितगरी आइन्दा त्यस्तो नगर्ने संकल्प लिइने रहेछ । यो क्रिश्चियनहरूको बन्दबक्सामा लुकी प्रायश्चित गर्ने भन्दा बेग्लै तरीकाले सबैको अगाडी प्रकटरूमा भनि गरिने रहेछ । तत्पश्चात चौथोक्रममा कुनै पनि प्राणीले कुनैपनि कुशलकर्म गरेको भए त्यसको प्रशंसागर्ने, समर्थनगर्ने र त्यसबाट प्रेरणालिने रहेछ । पाँचौक्रममा आफ्ना अगाडि अधिष्ठान गरिएका आराध्य देवता वा बुद्ध बोधिसत्त्वसंग नजिकमा रही उनिहरुसंग आदर र श्रद्धापूर्वक ज्ञान माग्ने अध्येषणा गरिने रहेछ । तत्पश्चात, यसरी आफूले ज्ञानलिए पछि अन्य सवै सत्त्वप्राणीले पनि त्यसैगरी लाभ लेओस् भनि कल्पकल्पसम्म निर्वाण नलिई लोकहीतकार्य गर्दैरहनुहोस् भनी याचना गरिने रहेछ । र अन्त्यमा आफूले गरेको कुशलकर्मको ‘पुण्यफल’ एकक्षणपनि संभार नगरी तुरुन्तै सकलसत्त्वप्राणीको कल्याणमा समर्पण गरिदिनु पर्ने रहेछ । यि विधि सवै गर्दा लामो समयलाग्ने भएकोले सामान्य बेलामा यसलाई छोटकरी विधिमा सम्पन्न गर्ने गरिएको रहेछ ।

भाद्र महिनामा एक दिन राम्रो साइतमा घरमैं सत्यमोहन जोशीले सपरिवार भगवान कृष्णको झुला झुलाउने गर्नु भएको रहेछ । सुहृद्, बान्धव र यस सोमबारे चर्यामा आउने गरेका सवैलाई समेत यसमा समावेश गर्ने रहेछन् । भोज पनि खुवाउने  रहेछ । सवैलाई टिका लगाई दक्षिणासमेत दिने रहेछ । कस्तो अनौठो ! बुद्ध, कृष्ण र शिवमा उस्तै भक्ति । श्रद्धा र प्रज्ञाका दुई शिखरमा उभिएको व्यक्तित्व । नेपाली संस्कृतिको जिउँदो उदाहरण ।

स्तोत्र पढिए, धारणी पाठ गरिए । शान्ति दिदी गुरुमाको सामान्य प्रवचन पनि भयो । शान्ती दिदी गुरुमाले आफू सानी बच्ची हुँदादेखि नै कसरी पुरुषको एकछत्र राज भएको वज्रचार्यकर्ममा प्रवृत्त भएर गुरुसेवागरी कसरी गुरुकृपा समेत प्राप्त गरेकी थिइन्, ति मार्मिक घटनाहरू गद्गद हृदयले भक्कानोलिंदै सुनाइन् । मेरो मनमा कुरा बाँउडियो, मैले विश्वकै मान्यताप्राप्त विश्वविद्यालयवाटै डिग्री लिएपनि के भयो र ? पढेरमात्रै पो के नाप्ने रहेछ । शान्ति दिदीप्रति श्रद्धा जाग्यो, मनमा एकतमासको शान्तिको अनुभूति पनि भयो । केहि पाएको जस्तो लाग्यो, पाइने आश जाग्यो ।

पाठपूजा सकिए पछि सत्यमोहन जोशीज्यूले मलाई र सवैलाई लक्षित गर्दै भन्नुभयो; “कुनै पनि कुराले बाधित नगरिएको असीम शून्यदर्शन ज्ञानलाभको संकल्प गर्नु ‘प्रणिधि’ हो । त्यस ज्ञान लाभ गरी त्यसको अनुभूतिगर्न, आत्मसातगर्न सदासर्वदा चर्याकर्मगर्नु गरिरहनु ‘प्रस्थान’ हो । र त्यस मार्गमा जाँदा स्व:त पाइने पुण्यलाई उत्निखेरै सकलप्राणीको हीतकल्याणको लागि समर्पण गर्नु ‘परिणामना’ हो ।”

मैले भने दाइ (सबैले प्रीतिआदरपूर्वक दाइ भन्ने गरेकोले मैले पनि दाइ नै भनेँ), “त्यसरी पुण्य त्याग गर्ने हो भने के को लागि किन चर्याकर्म आदि गरिरहन पर्यो त ?”

उहाँ ले भन्नुभयो, “जबसम्म कर्मको फलको अवशेष बाकी नै रहन्छ, प्राणी भवचक्रमा घुमिरहेको हुन्छ । पुण्य वा पाप भनेको मात्र दिशाको भ्रम हो । आर्जित कर्मको फल जवसम्म विपाक नभै उपादानको रूपमा संग्रह अथवा स्टक डिपोजिट बाकी रहन्छ उसले निर्वाण प्राप्त गर्नै सक्दैन । पाप संचिति भएको भए प्रायश्चित शुद्धि गरी छुटकारा पाउन सकिने हुन्छ । तर, पुण्य संचिति भएको बेला कुनै सुकर्म वा प्रायश्चितादि कर्मले पनि त्यसको क्षय हुँदैन, त्यो त झन थपिंदै जान्छ । त्यस संचिति भएको पुण्यफल मृत्यपछि पनि भोग्नै पर्छ । र पुण्यफलको सुखभोगगर्दा अपायगतिमा झरिने  सम्भावना झनै वृद्धि भएको हुन्छ ।”

मैले सोधेँ, “दाइ, बुद्धधर्ममा निर्वाणलाई लक्ष मानिन्छ, जसमा रागद्वेष सवै प्रहीण भएको हुन्छ । विना रागद्वेष कसरी कर्म हुन्छ ? कसरी समाज चल्छ ? निर्वाणकामी हुनु भनेको पलायनबादी हुनु होइन र ?”

उहाँले भन्नुभयो, “बुद्धधर्म विशाल छ, साँघुरो छैन । यसको लक्ष निर्वाणमात्र होईन । बुद्धधर्म भन्नु सम्यकरूपमा  ज्ञानलाभ गर्नु हो । जगतसंसारको खेलवाट अलग हुन चाहने ‘निर्वाणकामी’लाई थेरवादी मार्ग छ भने महायानले परिवार र समाजमैं रही लोककल्याणकार्य गर्दैरहन सिकाउँछ । वज्रयानले त अझ यसै जुनिमा वा एकैक्षणमा पनि अभिसम्बोधी प्राप्त हुन सक्दछ भनेर भन्दछ । यसैले महायान-वज्रयानमा निर्वाणलाई प्राथमिकता दिइँदैन । यहाँ त अरूको लागि केही असलकार्य गरौं भन्ने भावना पलाएका ‘बोधिसत्त्व’ हुन्छन्, र यस्तो लोकहीतको लागि संकल्पगरी चर्यागरेका ‘महासत्त्व’हरू  हुन्छन् । यि बोधिसत्त्व-महासत्त्वहरू निर्वाणप्राप्तगर्न सर्वसक्षम भएर पनि निर्वाण नलिई बसेका हुन्छन् । सदासर्वदा सकलप्राणीका लोककल्याणमा रत रहन्छन् ।”

“यदि अनादिकाल देखि यस्ता सक्षम बोधिसत्त्वहरू करूणाचित्तले लोकको उद्धारकार्यमा लागीपरेको भए अहिलेसम्म त यो भवलोक खाली भैसक्नुपर्ने, अथवा कम से कम यमलोक त शून्य नै हुनुपर्ने थियो ।” मैले मेरो तर्क राखेँ ।

सत्यमोहन दाइले भन्नुभयो, “बोधिधर्मका प्रमुख विशेषता मध्ये यो पनि एउटा हो कि यहाँ कसैले कसैलाई केहि दिईंदैन, लिइँदैन । आफैले गर्नुपर्छ । बरदान तथा तथास्तु भन्ने कुरा यहाँ हुँदैन । आफ्नो उद्धार आफै गर्नुपर्छ । ज्ञान माग्न पनि तिनपल्ट अध्येषणा गर्नु पर्दछ । हो, बोधिसत्त्वले यस्तो बोधिचित्त उत्पाद हुनसक्ने वातावरण बनाइदिएको हुन्छ । तर, बोधिचित्त अर्थात् केहि गरौं भन्ने संकल्पभाव को उत्पादनगर्ने र त्यसलाई कृयान्वितगर्ने चेष्टा आफै नै गर्नुपर्छ । बोधिसत्त्वले मार्ग देखाउँछ, मार्गमा संरक्षण र सुरक्षण गर्छ । तर, जानु त आफैले पर्छ । बोधिमार्गमा आउनै नचाहने, सुतेको एक्टिङ्गर्नेलाई कसैले केहि उठाउन सक्दैन । यसैले संसारका यावत प्राणीलाई एकैपल्ट निर्वाणमा पठाइदिनसक्ने क्षमता राखेका करूणामय भगवान अवलोकितेश्वर आफू सर्वसमर्थ भएर पनि आफूसंग ज्ञान निर्वाण लिन नआएका प्राणीलाई देखेर दु:खितभई रोइरहनु हुन्छ भन्ने भनाइ रहेको हो ।”

मेले फेरि सोधेँ, “विराग भएका बोधिसत्त्व-महासत्त्वहरूले हीतचर्यागर्नु पुन रागतृष्णा फस्नु होइन र ?”

गुरु सत्यमोहनले भन्नुभयो, “यो महाकरूणा हो, यसमा कर्त्तापन हुँदैन, सत्त्वप्राणीको दु:ख देखेर द्रवितहुनु महायानको ब्यूटि हो । यसलाई हिन्दूधर्ममा ‘अहैतुक कृपा’ पनि भनिन्छ । यसलाई कृष्णलीला भने पनि बुद्धनाटक भनेपनि फरक पर्दैन । यो रागद्वेष भन्दा माथिको कुरा हो ।”

गुरु सत्यमोहन दाइले पुन भन्नुभयो, “महायानमा शून्यताको चर्या गरिन्छ । महायानको दर्शन नै शून्यतादर्शन हो । शून्यवाटै उत्पन्न शून्यमैं लय हुने हो । यस दर्शनमा प्रणेता नागार्जुन हुन् । उनी नेपालमा बालाजुको माथि नागार्जुन डाँडाको गुफामा बसेका थिए भन्ने जनश्रुति रहेको छ ।”

म भौतिकशास्त्रको विद्यार्थी थिएँ । महाविस्फोट हुनु अगि यस ब्रह्माण्डको स्थिति शून्यसमविन्दुमा हुन्छ भन्ने मलाई थाहा थियो । अझ particle physics अनुसार द्रष्टाको दृष्टि अनुसार वस्तुले व्यवहार गर्दछ भन्ने सिद्धन्तको बारेमा पनि पढेकै थिएँ । साथै, शून्यवाट अकस्मात वस्तु उत्पन्न हुन्छ र अकस्मात शून्यमैं बिलाउँछ भनि पनि पढेकै थिएँ । यसैले मलाई आश्चर्य पनि भयो । आफूले पढेको कुरामा घमण्ड पनि उठ्यो । मैले गुरू बोधिसत्त्वलाई परीक्षा लिन चाहेँ । धृष्टता गरेर सोधेँ, “के शून्यताको पनि दर्शन हुनसक्छ र ? गीतामा भनिएको छ, ‘न असतो विद्यते भाव …’, जुनकुरा छँदैछैन त्यसको अवबोधन नै कसरी हुनसक्छ र ?”

गुरु सत्यमोहन दाइले कतैपनि नहेरि भन्नुभयो, “शून्यता भनेको गणितको ‘शून्य’ वा भौतिकशास्त्रको matter/energy केहि नभएको vaccum को अवस्था होईन ।  यो विश्वका चार मूल दर्शनहरूलाई एकसाथ दृष्ट गर्नु हो । पहिलो दर्शन हो ‘सत् वाद’ अर्थात् वस्तुको अस्तित्त्व छ भनेर मान्नु, जसमा ईश्वर पनि पर्न सक्दछ, आत्मा पनि पर्दछ । दोस्रो हो ‘असत् वाद’ अर्थात् कुनै वस्तुको पनि अस्तित्त्व छैन, सवै भ्रम हुन् भन्नु । तेस्रो हो ‘उभय सत्’ अर्थात् छ पनि र छैन पनि भन्ने । र चौथो हो ‘उभय असत्’, न छ न छैन भन्ने । यी चारै ओटालाई एकसाथ देख्नु पक्डनु शून्यता दर्शन हो । यही उच्चस्तरको माध्यमिक दर्शन हो ।”

मैले के कति बुझेँ वा बुझिन यहाँ नभनौँ, पछि कुनै दिन कुरा गरौंला । तर, मेरो कुतूहलता जाग्दै थियो । मेरो अहम् पग्लिंदै थियो । मैले नम्र हुदै बाकी बचेको पाण्डित्याईँ देखाउँदै सोधेँ, “माध्यमिक दर्शन भनेको सुखभोगी पनि नबन दु:खभोगी पनि नबन, बीचको मार्ग अपनाउ भनेको होइन र ?”

उहाँले भन्नुभयो, “हो, पक्का हो । तर, के थाहा पाउनु पर्छ भने बुद्धज्ञान सवै एकैपल्ट पूर्णतामा प्रकाशित भएका होइनन् । यो तिन पटकगरी क्रमिकरूपमा विकसित भएका दर्शनका स्तरहरू हुन् । पहिलो धर्मचक्र प्रवर्तन, जुन सारनाथमा भएको थियो, जसमा चार आर्यसत्व, प्रतीत्य समुत्पाद र र आर्य अष्टाङ्गिकमार्गका देशना भएको थियो, त्यो निर्वाणलक्षी थियो, त्यो श्रावकवर्गलाई लक्षित थियो । कालान्तरमा राजगृहको गृद्धकूट पर्वतमा शून्यतादर्शनको ‘दोस्रो धर्मचक्र परिवर्तन’ भएको थियो, जसको गहनता त्यसबेला धारण ग्रहणगर्न सक्ने अवस्था नभएकोले नागराजले पातालमा लगि सुरक्षित राखेका थिए । र पाँचसये वर्ष पछि नागार्जुनले प्रकाशित गरेका हुन् भनी भनिएको छ । यस शून्यतादर्शनको मूलशास्त्र ‘प्रज्ञापारमीता’ हो । अब तपाईले सोध्नु होला इतिहासमा दोस्रो धर्मचक्र परिवर्तनबारे कतै उल्लेख छैन भनेर । के बुझनु पर्छ भने यस्ता कुरा हिस्टोरिसिटिमा सिद्ध हुने होईन । ज्ञानको प्रकटिकरण सुनसुकै कालमा भएता पनि ज्ञानलाई उसले देखाएको मर्मको रूपमा लिनुपर्छ । यो दिव्यरूपमा बुद्धवाट भएको देशना हो, मानवीय बुद्धबाट भएको होईन । अझ, थाहा पाउनुस्, भगवानले तेस्रो देशना पनि गर्नुभएको छ; एकसाथ दुई ठाउँमा, शम्बलदेशमा कालचक्रको र धान्यकटकमा नामसङ्गीतिको । ‘नामसङ्गीति’ सम्पूर्ण बुद्धदर्शनको सार हो, यो कालातीत र सर्वाङ्गीण ज्ञान हो ।” 

समुद्रको अथाह जलराशी कचौरामा घोप्टिरहेको थियो । म कहिल्यै नभरिने प्वालपरेको कचौरा हुन चाहन्न थिएँ । न त सवै माथिबाटै पोखिइजाने घोप्टिएको भाँडो । न त म कचौरावाट एकथोपा पनि ज्ञानामृत छचल्किएर पोखिएर खेर जाओस् भन्ने नै चाहन्थेँ ।

म संग धेरै प्रश्नहरू थिए । बुद्धधर्ममा पञ्चमकारको कुरालाई कसरी बुझ्ने, बुद्धधर्म र हिन्दूधर्ममा एकै देविदेवताहरू कसरी भए, द्वादशदर्शनको बजारमा के लिने के छोडने, अहिलेको देशको सांस्कृतिक धारले भोलि कहाँ पुर्याउनेहो, आदि इत्यादि  । तर यी कुराहरूका ज्ञानलिनु कालिमाटिमा आलु किनेको जस्तो हुँदैन भन्ने मैले बुझेको थिएँ । मलाई सत्यगुरु सत्यमोहन दाइको अनुकम्पालाई पछिपनि कायम राख्नु थियो । साथै मेरो बुवाभन्दा जेठो मान्छेलाई धेरै कष्ट दिनु पनि उचित थिएन । मैले भने, “दाइ म फेरि फेरि पनि आउँछु, मेरो पिपासा धेरै छ । पथ्यहुनेगरी मात्रामिलाई ग्रहण गर्नु फलदायी होला ।” उहाँले भन्नुभयो, “जहिले पनि स्वागत छ । मैले के जानेको छु र ? हामी सवै छलफल गरौंला । नामसङ्गीतिको पाठ छलफल भै रहन्छ, तपाई बुझ्दै जानुहुनेछ । तपाईको पूर्वसंस्कारले यहाँ ल्याएको हो, तपाईलाई हार्दिक बधाई छ ।”

उहाँ भित्र जानुभयो । ल्याएर एउटा सानो पुस्तिका दिंदै भन्नुभयो यो ‘प्रज्ञापारमिताको चिनारी’ हो ।  पुस्तकको तल लेखिएको थियो, ‘राधादेवि जोशिनी’ । मैले सोधे यी विदुषी को हुनुहुन्छ । सत्यमोहन दाइले केहि बोल्नुभएन । शान्तिदिदीले मुसुमुसु हाँस्दै मुसुमुसु हाँस्दैगरेकी  सत्यमोहन दाइकि सहधर्मिणीतर्फ इशारागर्दै भन्नुभयो, ‘वहाँ भाउजू’ । म तिन छक परेँ । कस्तो जोडी । मनमनै भने, ‘हे इश्वर, यो जस्तो जोडि सबैका होउन् !’  

मैले गुरु सत्यमोहन दाज्यूको अनुहार हेरेँ । न कुनै खुशी न कुनै दुख । केहि भाव छैन । न ग्लानी न उत्साह । उपेक्षा मिश्रित स्मीत हाँसोका साथ मुदित नयनले अन्तरीक्षवाट कसैले हेरिरहेको जस्तो, स्क्यान गरेको जस्तो । उहाँको मञ्जुवचन मेरो कान, आँखा, नाख, जिब्रो, र सम्पूर्ण काय भएर ‘म’ मा घुसिरहेको थियो । त्यस ब्रह्मघोष ‘कस्मिक साउण्ड’को प्रतिघातवाट मेरो अङ्गप्रत्यङ्ग सर्वाङ्ग नसानसा झम्झमाई झंकृत भैरहेका थिए, स्फुरित भैरहेका थिए । मलाई लाग्यो आकाशका दशैदिशामा दिव्यदेहधारी प्राणीहरू अदृष्यरूपमा अटेसमटेस गरिरहेका छन् । हामीलाई हेरिरहेका छन, सुनिरहेका छन्, अनुमोदन गरिरहेका छन् । मेरो आदरणीय गुरु सत्यमोहन दाइ ‘बोधिसत्त्व’को अनुहारको चाउरी घटदै गएको छ । उहाँ महासत्त्वतामा पुगिसकी पुन: किशोरकायको भई किल्लोल गर्दै हुनुहुन्छ । मलाई लाग्यो उहाँ केहि वस्तु आकाशमा फाल्दै टिप्दै खेल्दै रहनु भएको छ । उहाँको देह बढदै बढदै गएको छ । म उहाँको पाउसंगै बसी थरथर काम्दै मोहित हुनथालेको छु ।

(सत्यमोहन जोशीज्यू संग भएका कुराकानीका आधारमा)

——– समाप्त   ——–

प्रकाश मान श्रेष्ठ

भैंसीपाटी, ललितपुर

९७२१३२५५०८, ०१-५५९२९४८

[email protected]