Categories
articles Uncategorised लेख, निबन्ध

बुद्ध धर्ममा के ज्ञान छ ?

[wpseo_breadcrumb]

बुद्ध धर्ममा के ज्ञान छ ?

प्रकाश मान श्रेष्ठ

शिक्षा सल्लाहकार,

बौद्ध जागरण संघ, ललितपुर ।

बुद्ध धर्म भगवान बुद्धले दिनु भएको हो । भगवान बुद्ध हाम्रै पुर्खा हुनुहुन्छ । यसैले हामी जन्मजात बौद्ध हौ । हामीले पनि बाबुआमा, छरछिमेक र गुरुहरुले भनेको देखासिकी गर्दै ‘म पनि बुद्धधर्मी  हूँ’ भन्ने गर्दछौं । तर, बुद्ध धर्ममा के कस्तो ज्ञान दिइएको छ, र त्यसको मर्म के हो, भन्ने कुरा गहिराईमा बुझ्न सकेका छैनौ । यसैले जोसुकै ले जेसुकै भने पनि चुपो लागि पत्याइदिने गर्दछौं । किनकी त्यो भनाई  सत्य हो वा होइन भनेर हामीले छुट्याउन सकेका हुँदैनौं । अझ, हामी आफैले पनि जे जति अलिकता सुनेका जानेका हुन्छौं, त्यहि मात्रै सत्य हो भन्ने अभिमान बोक्दछौं । र, अरु सबै झूठो हो भन्ने विवाद गर्न ठाल्दछौं । हामी यस्ता अर्धज्ञानी अज्ञानी अवस्थामा अलमलिएका बौद्ध भएका छौ ।

यसैले यहाँ बुद्ध धर्ममा के कस्ता ज्ञान समेटिएका छन्, त्यसको सार समष्टि बारे संक्षेपमा बुझौं ।

बुद्ध धर्म भनेको बुद्ध-बोधिसत्त्वहरुले दिनु भएको धर्म हो । बुद्ध भनेको ‘सत्यको बोध गरेको’ (अर्थात्, जो जस्तो छ त्यसलाई त्यसै गरी बुझेको) र ‘त्यसै बमोजिम पालन गरी बसेको’ व्यक्तिलाई भनिएको हो । हाम्रै देशको लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थले पनि सत्यको अवबोधन गरी बुद्ध हुनुभएको हो । धर्म भनेको ‘आफू र अन्यसंग व्यवहार गर्ने कर्म’ हो । कर्म भनेको ‘कर्तब्य’ हो अर्थात्, ‘आफूले लिएको जिम्मेवारी इमान्दारीता साथ निर्वाह गर्ने’ हो ।  

बुद्ध धर्म अन्धभक्ति अथवा श्रद्धा-विश्वासको कुरै होईन । न त यो कसैले तथास्तु भनि वरदानमा दिइने कुरा नै हो । यो सबैले आफै लाग्ने, प्रयत्न गर्ने र लाभ गर्ने हो । योग्य सद्‌गुरुले सहयोग गर्न र बाटो देखाउन सम्म मात्र सक्दछ, उसले पनि बोकेरै लगिदिन भने सक्दैन । त्यसैले यहाँ ‘अप्पो दीपो हुनु पर्दछ’ । अर्थात्, ‘सबैले आफ्नो मार्ग आफैले खोजी जानु र अरुलाई पनि मार्गदर्शन गर्ने’ गर्नुपर्दछ । यसैले यो बुद्ध धर्म तर्कपूर्ण छ, वैज्ञानिक छ, प्रत्यक्ष फलदायी छ, र सुखकरी छ ।

जन्म र मृत्युको क्रम-बन्धन तोडी दुःखबाट मुक्ति दिने प्रयोग सिद्ध बाटो देखाउने भगवान गौतम बुद्ध विश्वकै इतिहासमा एक्लो व्यक्ति हुनुहुन्छ । ‘दुःखको चक्रलाई भंग गर्नु भएको’ हुनाले उहाँलाई भगवान भनिएको हो । उहाँले चार ओटा शाश्वत सत्यहरू अर्थात् आर्यसत्यको ज्ञान दिनुभयो;

१.     जगत दुखमय छ । दुःख भनेको जन्मनु, जीर्ण हुनु, रोगी हुनु, मर्नु, प्रियसंग बिछोड हुनु, अप्रियसंग बस्नु, ईच्छा पूरा नहुनु हो । अर्थात् पञ्चस्कन्ध हुनु नै दुःख हो । किनकी यो जगतमा जे जति उत्पन्न भएका छन्, ती सबै नाश हुने हुन् । केहि  पनि अविनाशी र शाश्वत छैन, सबै कुरा अनित्य हुन् । आत्मा भनेको छैन, सबै अनात्म हुन् ।

२.     तृष्णाले यस दुःखको चक्करमा घुमाइ राख्दछ । साथै, यस दुखको आगोलाई निभ्न नदिई इन्धन थप्दै जगाई राख्दछ । यस चक्रमा अविद्या, संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जन्म र जरामरण भनिएका बाह्र ओटा आराहरु छन् ।

३.     यस धर्मचक्र लाई तोडे पछि मात्र दुःखबाट मुक्त हुन जान्छ । यो चक्रलाई कमजोर बनाउँदै तोडन आठओटा कुराहरु, अर्थात् “आर्य अष्टाँगिक मार्ग”लाई होशियारी साथ पालन गर्दैरहनु पर्दछ । यसरी क्रमिकरूपमा यस चक्रलाई क्षीण गर्दै शक्तिहीन गराउँदै लगि यसलाई निरूद्ध गर्न सकिन्छ ।

४.     सम्यक् सोच, सम्यक् बोली, सम्यक् कर्म, सम्यक् आजिवीका, सम्यक् प्रयास, सम्यक् स्मृति, र सम्यक् समाधि गरी आठओटा बाटाहरुलाई आर्य अष्टाँगिक मार्ग भनिन्छ । यो मार्गमा प्रवेश गर्न हिंसा नगर्ने, झूठो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, र मद्यपान नगर्ने पाँच ओटा शीलहरु पालन गर्नु पर्दछ ।

यसरी शील सदाचार र प्रज्ञाको बलले पाप क्षय भई पुण्य संचय गर्दै आफूलाई ब्यवहारमा परिशुद्ध गर्दै लैजानु पर्दछ । यसरी चित्तको निरुद्धि भएपछि रागद्वेष आदि सबै क्लेशहरु क्षय हुन्छ । यस स्थितिलाई निर्वाण भन्दछ । यो नै दुःखमुक्तिको अवस्था हो । यसमा पुगेको सत्वलाई अर्हत भनिन्छ ।

यसरी संबृत्तिसत्य अनुसार जीवन विर्वाह गर्न कुशल कर्म गर्दै रहन पर्दछ ।  अर्थात्, ज्ञानसंभार र पुण्यसंभार गर्दै रहनु पर्दछ । ज्ञानसंभार भनेको ‘ज्ञान लाई शुद्ध पार्दै उन्नति गर्दै गई प्रज्ञापारमिताको शून्यता ज्ञान अवबोधन गरि रहनु’ हो । पुण्यसंभार भनेको ‘अरुको भलो कल्याण हुने गरी त्यसबाट प्राप्त हुने पुण्यफल बटुलि राख्ने’ हो । र भलो नहुने तर नोक्सान गर्ने अकुशल कर्महरु गर्नबाट जोगिएर बस्ने पनि हो ।

सबै कुराको शुरुवात गर्ने मन नै हो । सारा जगतसंसार पृथ्वी, जल, अग्नि र वायु भनिएका चारओटा धातुहरुले बनेको हो । मनले चित्तद्वारा भौतिक वस्तुमा रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान (अर्थात् पाँचओटा स्कन्धहरु) उत्पन्न गराउँदछ । प्राणी भनेका यी चारओटा धातुहरु र पाँचओटा स्कन्धहरुको मिलाप हो । राग, द्वेष र मोह भनिएका त्रिबिष नै मूल क्लेशहरु हुन् । क्लेश भनेका ‘दुःखका मूल कारण’ हुन् । कर्मको नियम अनुसार सबैले आआफ्नो कर्म अनुसारको फल भोग्नै पर्दछ । ‘कर्मको फल स्वतः प्राप्त हुन्छ’, ‘फलको जोखना गरी दण्ड र पुरस्कार दिनेवाला बेग्लै कोही देवता छैन’ । सुकर्म अर्थात् अरुको उपकार हुने कर्मको फल आफैलाई झन सुख हुने हुन्छ, र अरुको हानी हुने कर्म गरेको फल आफैलाई झन धेरै दुःख भोग गर्नु पर्ने हुन्छ । मृत्यु र जन्म भनेको क्रमबद्ध प्रकृया हो, यो भनेको चित्तको प्रवाह मात्र हो । प्राणी आफ्नो कर्मको फल अनुरूप छओटा लोक र एकतीस ओटा भुवनहरुमा घुमिरहन्छ । सहंपति ब्रह्मा देखी किरा-फटेंग्रा पर्यन्त कोहि पनि अजर अमर छैन ।

भगवान बुद्धले देवता र बोधिसत्त्वहरु लाई महायानको ज्ञान दिनुभयो । देवतावर्ग भनेका देवता, असुर, नाग, किन्नर गरुड जस्ता विशेष क्षमता भएका सत्व हुन् । देवता भनेका जसले ‘मनुष्य लगायतका प्राणीलाई घाम, पानी, अन्न, रक्षा, ज्ञान, …. जस्ता आवश्यक बस्तुहरु दिनेहरू’ हुन् ।  बोधिसत्त्व भनेका ‘सारा प्राणिलाई तिनीहरुका दुःख हटाइदिन्छु, भनेर प्रतीज्ञा गरेका सत्त्व’ हुन् । यस्ता दिनेवाला देवता र चर्यागर्ने बोधिसत्त्व हरुले कस्तो धर्म पालन गर्नु पर्दछ भनेर महायानको मार्ग दिएको हो । महायान भनेको कसरी शुद्धचित्त भई, म’मेरो भन्ने आत्मभाव नगरी, सबै प्राणिलाई बिना कुनै पक्षपात, यतिउति गरें भन्ने लेखाजोखा नराखि, सदा हर्षित रही, सदाकाल तत्कालै तिनीहरुका दुख हटाउँदै निर्वाणसम्म लिएर जाने मैत्रीकरूणाको चर्या हो । यसमा दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञा जस्ता दशओटा पारमिताहरुको चर्या र दश ओटा भूमिहरु शोधन गर्दै रहनु पर्दछ । आफूले बुद्धत्वको अवबोधन गरि सके पछि पनि आफू बुद्ध नबनी अरुलाई बुद्ध बनाउदै रहने अर्थात् बुद्धजननी भई रहनु पर्दछ ।

बोधिसत्व-महासत्त्वको स्तरमा पुग्नलाई कुनै पनि संभारहरु संकलित नगरी, त्यस्ता संभार लाभ हुनासाथ तत्क्षणै तत्कालै लोकहितको लागि समर्पण गर्नु पर्दछ । किनकी कुनै संभार फल बाकि रहँदै उसको देह नाश भएमा उसले पुनः पुनर्जन्म लिनुपर्ने भई भवचक्रमा फस्ने हुन्छ । यसैले बोधिसत्त्वले सदा ज्ञान र पुण्यको दान गरी पुण्यपरिणामना गरी बसेको हुन्छ ।

महायान भनेको जगतमा जो जति प्राणिहरू छन् ती सबै मेरा एक्ला छोरा सरह हुन् र ती सबै कुनै बेला मेरा मातापिता थिए भन्ने विचार गरी ती सबैलाई भलोकल्याण गर्ने रहने चर्या हो । यसले प्राणीमात्र नैरात्म्य होईन, सर्वसकल धर्महरु (अर्थात् बस्तु हरु) पनि नैरात्म्य हुन् भन्दछ । यस यानमा लागेका बोधिसत्त्व-महासत्त्वहरु यस लोकमा र निर्वाणमा दुबैमा एकसाथ रहेर पनि कतै नरही, अप्रतिस्थित निर्वाणमा रहेका हुन्छन् । यो शून्यताको चर्या हो । यसलाई पारमितायान पनि भनिन्छ ।

भगवान बुद्धले सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गरी श्रावकयान दिनुभएको सोह्रौं बर्षमा दोस्रो धर्मचक्र प्रवर्तनगरी महायानको ज्ञान दिनु भयो । त्यसको पनि तेस्रो बर्षमा तन्त्रयान दिनु भयो । यो तेस्रो धर्मचक्र सीतानदीको किनारमा कालचक्रतन्त्र र धान्यकटकमा नामसंगीतितन्त्र हरु एकसाथ विस्फारीत गरि देखाउनु भयो, भनिएको छ ।

तन्त्रयान भनेको श्रावकयान र महायान दुवैमा पारंगत भएका अत्यन्त माथिल्लो स्तरमा पुगेका साधकलाई ‘यसै एक जुनीमा बुद्ध हुन सक्ने’ मार्ग हो । तन् भनेको शरीर र त्राण दुःखबाट पार लगाउने हो । यस अनुसार साधकले ज्ञान र योगको साधना गरी यही हाडमासुको शरीरभित्र सारा देवता लगायत सारा लोकलाई प्रकट गरी एकै क्षणमा सम्यक् रुपमा सम्बुद्ध भई जाने गर्दछ । यसले ‘बाहिरको भौतिक जगतमा जे छ, त्यो यसै शरीरको अध्यात्म भित्र छ’ भन्दछ । ‘बाहिर जे छन ती भित्रै छन् र भित्र जति छन ती बाहिर छन्” अर्थात् बाहिर-भित्र भनेको एकै हो, छाया र प्रतिछाया मात्र हो भन्दछ । मन र तन एकाकार गरेको बलले यो संसारको सबै ऋद्धिसिद्धि आफ्नो अधिकारमा गरी सिद्ध बन्न सक्दछ ।

तन्त्रयान वास्तवमा अति गुह्य अति पवित्र अति शक्तिशाली अद्वैत ज्ञान हो । यस्तो गुह्यज्ञान बुझ्ने क्षमता नभएका हामी जस्ता सामान्य मनुष्यले पनि यस तन्त्रयानको लाभ लिन सकोस् भनेर जन्मदेखि मृत्यु पर्यन्तसम्म नानाबिधिका संस्कारहरु बनाई बाँधिदिएको हो । यसैले हामीले कुनै पनि परम्परा भनेर शास्त्रसम्मत संस्कारहरु व्यवहार गर्दा हामीले अञ्जान मै भएपनि तन्त्रयानलाई पालन गरिरहेका हुन्छौं । तर आजकाल तान्त्रिक भनिएका फूकफाक र बोक्सीविद्या भने यसका विकृत स्वरूप हुन् । अहिलेको बजारिया तन्त्र विद्या त साच्चैको पाखन्ड र ठगविद्या हुनपुगेको कुरा बडो दुखदायी छ । याद राखौं यो तन्त्रयान तपाई-हामी जस्ता सामान्य मानिसलाई निषेधित गरिएको छ । किनकी यसबाट प्राप्त हुने ऋद्धिसिद्धिको शक्तिलाई अरुको दुखमुक्ति गर्ने लोकल्याणको कार्यमा नलगाई, दुःख दिने कार्यमा प्रयोग गरेमा घोर बिपत्तिमा पर्दछ । यसैले यो मार्ग बडो खतरापूर्ण छ । यसमा लाग्दा पालन गर्नुपर्ने नियम अत्यन्त कठीन भएकोले तपाई हामी जस्ता साधारण मनुष्यलाई यो बर्जित गरिएको हो ।

अन्त्यमा,

भगवान बुद्धले सबै प्राणीलाई ‘न अति सुख र न अति दुःख’को मध्यम मार्गको उपदेश दिनुभयो । शून्यता भनेको चार ओटा पक्षहरु (अर्थात्, ‘छ’, छैन’, ‘छ पनि छैन पनि’, र ‘न छ न छैन’) सबैलाई एकसाथ देख्नु हो । जगत भनेको संवृत्तिसत्य (अर्थात् लोक-संसारिक सत्य) र परमार्थ सत्य (अर्थात्, सूक्ष्म सत्य) मिसमास भएको मायाजालको भ्रम हो । उहाँले आआफ्ना स्तर अनुसार जीवन जिउने कर्म गर्ने उपायहरु दिनुभयो । हरेक प्राणिका कर्म, ज्ञान, उत्साह र स्वभाव अनुसार बुद्ध हुने अनेक मार्ग-मार्गान्तरहरु दिनुभयो । सबैमा बुद्ध बन्न सक्ने क्षमता भएको बुद्धगर्भको बीऊ छ भनेर भन्नुभयो । त्यस बीऊलाई हुर्काउन सबैको क्षमता लगाव प्रयत्नको स्तर अनुसार हरेकको तह अनुसारको साधनाको विधि दिनुभयो । ‘प्रज्ञा अर्थात् ज्ञान र उपाय अर्थात् प्रयत्न एकाकार भएमा जे कार्य पनि सफल हुन्छ’ भन्ने प्रज्ञोपाय सिकाउनु भयो । उहाँले ‘जातिपाति उँचनीचको कुराको खण्डन’ गर्नुभयो । उहाँले सबैलाई ‘कर्म गर्ने स्वतन्त्रता दिनुभयो’ । उहाँले देश-काल-परिस्थिति हेरि यसका ‘मूलकुराहरु नछोडी सानातीना नियमहरु छोडन सक्ने विकल्प’ पनि दिनुभयो । यति मात्रै होईन, अरूका के कुरा, उहाँ भगवान स्वयंले दिनुभएको उपदेश समेत पनि जाँचीबुझी प्रयोग गरी मात्र लिन, अन्यथा नलिन समेत समेत अधिकार दिनुभयो । उहाँले यस्तो स्वतन्त्रता समेत दिनुभयो ।

भगवान बुद्ध कुनै काल्पनिक कथाका पात्र होइनन्, ऐतिहासिक पुरुष हुनुहुन्छ । उहाँले आजभन्दा २,५८६ बर्ष पहिले यही धरतीमा हाम्रै लुम्बिनीमा हाडमासुको शरीर लिएर मनुष्यरूपमा जन्मेर दुःखसत्यको अवबोधन गरेर “बुद्ध” हुनुभएको हो । कसैले उहाँको यस कृत्यलाई दिव्यरूपमा लिई ‘भगवानले देखाउनु भएको लीला हो, बुद्धनाटक मात्र हो’ पनि भन्दछ ।  उहाँलाई दशओटा नाम दिइएको छ; ‘अर्हत’, ‘सम्यक् सम्बुद्ध’, ‘तथागत’, ‘विद्या र आचरण सम्पन्न’, ‘सुगत’, ‘अनुत्तर’, ‘लोक-विदू’, ‘पुरुष-दम्य सारथि’, ‘देव र मनुष्यका शास्ता’, र ‘भगवान’ । उहाँको परिनिर्वाण भएपछि नागार्जुन जस्ता अनेक वज्रआचार्य गुरु तथा सिद्धपुरुष हरुले पनि धेरै व्याख्याहरु गरी बुद्धज्ञानलाई गहन, बिस्तृत र विपुल गरी बढाई दिएका छन् । अझ कसैले त क्रिश्चियन धर्मका येशू मसीहा स्वयं पनि प्रब्रज्जित महायानी बौद्ध थिए भनेर भन्ने गरेको पनि पाईन्छ ।

यस्तो विस्तृत विपुल गहन ज्ञान समेटरको बौद्ध धर्मलाई हामी अझै गहिरिएर बुझ्दै जाउँ । नबुझेको कुरा सोधने गरौं । बुझेको कुरालाइ आफ्नो जीवनमा पालन गरौं । त्यो ज्ञान अन्य सबै मनुष्यलाई बाँडौं । र सबै प्राणिका भलोकल्याण गर्दै जाऔं निर्वाण लाभ गरौं । यसरी हामी पनि बोधि ज्ञानलाई सार्थक गरी वास्तविक बौद्ध बनौं र अरुलाई पनि बौद्ध  बनाऔं ।

।। भवतु सब्ब मंगलम् ।।

नोटः- (यस लेखका लेखक प्रकाश मान श्रेष्ठज्यू नेपाल सरकारको निजामती सेवामा सह-सचिव भई सेवानिवृत हुनुहुन्छ ।