यस कोरोना भाईरस नामको करुणाहीन राक्षसीको प्रकोपबाट पीडित र दु:खी भएको अवस्थामा तपाई हामी केही बसिबियाँलो गरौं भनि फेरि एउटा कथा लिएर यहाँहरु समक्ष उपस्थित भएको छु । यो कथा भगवान बुद्ध हुनु अघि उहाँले ज्ञानसम्भार र पुण्यसम्भार गर्ने क्रममा अर्थात् दु:खको बोध गर्दै खारिंदै जाने क्रममा लिनुभएका अनेक जन्मका लीला मध्येको मृगयोनिको कथा हो । कथाको शिर्षक छ, बोधिसत्त्व मृग ।
बोधिसत्त्व मृग ।
कुनै देशमा एक राजा थिए । राजाको नाम याद भएन । उनि विद्वान र पराक्रमी मात्र होईन वास्तवमै ज्ञानी र चक्रवर्ती पनि थिए । धार्मीक र प्रजापालक भनेर त भन्नै परेन । एकदिन त्यस राजा आफ्नो दरबारमा सभामा बसिराखेका थिए । त्यसैबेला देशको सीमान्त प्रदेशका एकजना बनपालेले एउटा समाचार ल्याएर राजालाई सुनायो । महाराज बनमा एउटा अनौठो मृग देखिएको छ, त्यसलाई दरबारमा ल्याएर राख्नुहोस् । त्यो मृग ज्यादै तेजिलो छ । उसको शरीरको रौं सबै सुनका छन् । उसमा दिव्य आभामण्डल छ । उ कुनबेला कहाँबाट कहिले प्रकट भएर आउँछ, मैले धेरै कोशिस गरेर पनि पत्ता लाउन सकिन । मेरो बिचारमा यो मृगमा दैवी रहस्य छ । लाग्दछ, कुनै देवता मृग भएर घुम्न आएको हो ।
राजा आफै शास्त्रज्ञ थिए । उसले राज्यका गुरुज्ञानीहरु संग सोधे । उनीहरुले शास्त्रको अध्ययन गरी भने । महाराज, यो मृग समान्य मृग होईन । यो बोधिसत्त्व मृग हो । यो मृगको दर्शन मात्र गर्न सकेमा मनुष्यजुनि सफल हुने हुनजान्छ । यसलाई हजूरको राज्यमा ल्याउन सकेमा सारा देशकै भलोकल्याण हुने निश्चित छ । हजूर चक्रवर्ती सम्राट हुनु हुनेछ ।
राजाले देशभरी झ्याली पिटाए । कसैले त्यस दिब्य मृगलाई दरबारमा ल्याउन सक्दछ, भने आधा राज्य दिने घोषणा गरे । तर त्यस मृगलाई मार्न वा पाशोले छोप्न नपाईने, तर्साउन वा दौडाउन नपाइने, समात्न वा वाँध्न नपाईने, पीटन वा घाउ गर्न नपाईने आदि शर्त राखिदिए । कसैले त्यसो गरेमा वा गर्ने प्रयास गरेमा वा त्यस मृगको स्वतन्त्रता र स्वच्छन्दतामा कुनै केहि बाधा अवरोध पुराए मृत्युदण्ड दिने घोषणा गरे । त्यस मृगलाई अपमानित नगरीकनै सम्मानपूर्वक उसको खुशीराजीमा स्वईच्छामा राजाको दरबारमा ल्याउन सक्नेलाई भने आधा राज्य दिने घोषणा गरे । त्यसको लागि राजाबाट पूर्वसूचना गरी स्वीकृति लिई मात्रै प्रयास गर्न पाईने भन्ने समेत देशै भरी झ्याली पिटाई घोषणा गरे ।
तर त्यस्तो महाकठीन र असंभव लाग्ने तरीकाले बनमा फिर्ने मृगलाई ल्याउने को? कसले आँट्ने? कोही अगाडी आएन । राजा खिन्न भए । धेरै पछि, अन्त्यमा एकजना बूढी आईमाई अगाडी आयिन । बूढी भनेर यहाँ पाको उमेरका अनुभवी र बुद्धिमती महिलालाई भन्न खोजिएको हो, अन्यथा नसोचिदिनु होला । तिनले भनिन्, महाराज मलाइ मौका दिनुहुन्छ भने, म त्यस अनौठोको दिव्यमृगलाई हजूरको दरबारमा हजूरले भनेजस्तै गरी उपस्थित गराइदिन सक्छु । राजाले भने, तिमीलाई जे जति जस्तो सर्जाम चाहिन्छ, लैजाऊ । सेना र सेवकहरु पनि लिएर जाऊ । तिमीले ल्याउन सक्यौ भने आधा राज्य दिनेछु । तिनले भनिन्, महाराज मलाई हजूरको आधाराज्य चाहिंदैन । हजूर जस्तो धर्मात्मा राजाको सेवा गर्न पाए मलाइ पुग्छ । मलाई सेना वा केही सर्जाम पनि चाहिदैन । मलाइ बरू केही मह पाऊँ । त्यत्ति मह भए मलाई पुग्छ । म एकलै जान्छु । भगवानले चाहेमा म सफल पनि हुनेछु । हाम्रो देशकै भलो हुनेछ । हजूर चक्रवर्ती सम्राट बन्नुहोस् । मलाई आशिर्बाद दिनुहोस् ।
त्यो आईमाई केहि मह लिएर त्यस बनमा लागिन, जहाँ त्यो दैवी मृग देखिएको थियो । त्यहाँ उनले कैयौं दिन रातभर जाग्राम बसेर मृगको चीयोचर्चा गर्दै हेर्दै रहिन । कुन बेला आउँछ, कुन बेला जान्छ, के खान्छ, कहाँ खेल्छ, सबै बानीबेहोरा बुझ्दै गरिन । यसरी धेरै दिनरात त्यस मृगको आनीबानी चर्या गोप्यरूपमा सबै कुरा बुझिसके पछि, एकदिन त्यस मृगले नियमित रूपमा बिहान उसको घाँस खान आउनु अघि नै राती नै तिनले त्यसको घाँस खाने स्थानमा घाँसमाथी मह मोलेर लुक्न गईन् । जब त्यस बिहान त्यस मृगले घाँस खान थाल्यो, उसलाई अनौठो भयो । यत्ति मीठो घाँस उसले कहिले खाएको थिएन । उसले बुझ्नै सकेन । कहिले मह खाएको भए पो । आनन्दित हुँदै फुर्किंदै उ फर्की गयो ।
भोलिपल्ट पनि मह मोलिएको घाँस खायो । के हो के हो के हुँदैछ बुझ्नै नसकी उ तृप्त हुँदै आनन्दित हुँदै फुर्किंदै उफ्रिंदै गयो । यसैगरी केहि दिन बिते । सँधै भरी हरेक दिन मह मोलेको घाँस खाँदा खाँदा उसलाई त्यही सामान्य लाग्न थालेको थियो । उसलाई अरू ठाउँको घाँस वा पात कसोकसो खल्लो नमीठो लाग्न थालेको थियो । अब उ त्यही उसै एकै ठाउँको मात्र घाँस खाने गर्थ्यो, जहाँ मह मोलिएको हुन्थ्यो ।
त्यस बुद्धिमती आईमाईले कहिले काहि जानाजानी मह मोल्न ढीलो गरिदिएमा त्यस मृग हेरेर पर्खिबस्ने गर्न थालेको थियो । यसरी नै त्यस आईमाई संग देखादेख हुँदा पनि उ भाग्ने पनि गर्दैनथ्यो । तिनीले घाँसमा मह मोलेको पनि मोलुञ्जेल हेरिरहन्थ्यो । र घाँसमा मह मोल्न छोडे पछी खुरुक्क आएर घाँस खान थाल्थ्यो । यसरी हुँदा हुँदै त्यस मृगमा त्यस आईमाइ प्रति डर हराउँदै गएर उसको बच्चा जस्तै पाल्तू हुँदै उफ्रिँदै गर्न थाल्यो । घाँस पनि उसको हातैबाट खानुपर्ने र उ जहाँ गए पनि पुच्छर हल्लाउँदै पछिपछि लाग्दै जाने गर्न थाल्यो । आमा र बच्चा जस्तै सम्बन्ध गाँसिदै गएको थियो । मायाको कारणले बोधिसत्त्व समेत मायाजालमा बाँधिदै थियो ।
छ महिना पनि पूरा हुनै लाएको थियो । त्यस आईमाईले त्यो दिब्य मृगलाई पछि लाउँदै भरी दरबारमा उपस्थित भए । त्यस दिव्य मृग घाँटीमा टीनटीनको घन्टी जाउँदै पुच्छर फर्फराँदै तिनी आमाको मातृस्नेहको पछि लाग्दै जाहाँ पनि जाने गर्दथ्यो । त्यसैले राजाले तोकेको सारा शर्त पालन गरी त्यस बिदुषीले बोधिसत्व लाई राजाको भरी दरबारमा पुराई राजालाई प्रणाम गरिन् । त्यस्तो दिब्य मृगरूपका आएका बोधिसत्त्व-महासत्त्वलाई देखेर राजा जुरुक्क उठेर नमस्कार गरे । जमीनमा घुँडाले टेकी बोधिसत्त्वको सम्मान गरे । राजाको साथै मन्त्रीगण र तिनीहरुको देखासिकीमा सबै भारभारदार र जनसमूहले पनि त्यस मृगको दर्शन गरे ।
सम्पूर्ण सभाले आफूलाई ढोकेको देखेर मृग झस्कियो । एक्कासी झसंग भयो । उसको शरीरका रौं जुन सुनका थिए, फर्फरायो । सभा भवन नै पहेलो सुनौलो आभामा टल्कियो । बिस्मित हुँदै उद्गार पोखे, अहो म कहाँ आईपुगेँ । म बोधिज्ञानको खोजीमा लागेको कैयौं महाकल्प बितिसक्यो । अनेकौं जन्म जन्मान्तर सम्म पुण्यसम्भार र ज्ञानसम्भार गरिसकेको छु । सम्पूर्ण शास्त्रज्ञान लिई ध्यान तपस्यामा पारंगत भईसकेको हूँ । तर आज एक क्षणको अनुस्मृति भंग हुँदा जिभ्रोको तृष्णारागले गर्दा मोहित भई मायाजालमा फस्न पुगेँ । अहो, म जस्तो बोधिसत्त्व भईसकेको सत्त्वप्राणी पनि यसरी फस्न पुगेँ भने यो इन्द्रियसुख भनेको कति बलवान रहेछ ।
तब यसरी आफूले आफूलाई चिन्ही उद्गार पोखे, पश्चात त्यस दिब्य मृग रूपधारी बोधिसत्त्वले मनुष्यको बोली बाट राजालाई भने । हे राजन, तिमीलाई म बन्दना गर्दछु । मलाई मायागरी माता समान भई मलाइ यहाँ सम्म ल्याउने यी आमालाई पनि बन्दना गर्दछु । मलाई आँखा खोलीदिने यहाँहरुमा नमस्कार गर्दछु । जतिसुकै अध्ययन भएपनि ज्ञान भएपनि सदाकाल सतत अनुस्मृतिमा बस्न सकिएन भने यी पञ्च-ज्ञानेन्द्रियहरु अनियन्त्रित भइजाने हुने गर्दछ । यो मैले अनुभूति गरेँ । मैले यो बिर्सेँ की बनमा, बनको बिचमा त्यत्ति मीठो घाँस कहाँबाट आयो । मेरो जिभ्रोको स्वादको रागले गर्दा मेरो अनुस्मृति हरायो, सारा ज्ञान बिस्मृत भयो । म जस्तो बोधिसत्त्व त यसरी वशीभूत हुनगएँ भने यो जिभ्रोको मीठो-नमीठो स्वाद, नाकको बासना, कानको सुन्ने संगीतमय आवाज, आँखाको देख्ने नानबिध दृष्य र छालाको स्पर्शको सुखबेदना दुखबेदना गराउने पाँचैओटा ईन्द्रियले तानेको अवस्थामा प्राणीलाई बोधिमार्गमा लाग्न कति कठिन रहेछ । हे राजन ! मैले ज्ञान पाएँ । अब म जान्छु । तपाई र तपाईको देशको भलो होस् ।
यति भनेर त्यस बोधिसत्त्व मृग अन्तर्ध्यान भैगयो । यति भनेर म प्रकाश मान श्रेष्ठ पनि यहाँहरु समक्ष बिदा माग्दछु । केही कमेन्ट छ भने कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला । ध्न्यवाद । भवतु सब्ब मंगलम् ।