बुद्धं शरणं गच्छामि । धर्मं शरणं गच्छामि । सङ्घं शरणं गच्छामि ।
म, ‘प्रकाश मान श्रेष्ठ’ नामरूपधारी, यस धर्मसभामा यस धर्मसभाका आयोजकवर्ग, धर्मश्रवणगर्न यहाँ उपस्थित बुद्धसावकहरू र दृष्य अदृष्यरूपमा सम्मिलित हुनुभएका सकल अष्टपरिषद एवम् सत्त्वप्राणीहरूलाई अभिवादन गर्दछु । मलाई यस ‘समाजसेवा र बोधिचित्त’ जस्तो पवित्र विषयमा यहाँहरू जस्ता स्रोतापन्न श्रावकसङ्घ समक्ष आफूलाई लागेका केहि कुराहरू राख्न मौका दिनु भएकोमा यस बौद्ध युवक मण्डललाई र विशेषरूपमा हेरा रत्न शाक्य सरलाई धन्यवाद दिन चाहन्छु । र मेरो भनाई प्रस्तुतगर्न मेरा श्रद्धेय गुरुज्यू श्री भिमरत्न शाक्यज्यू संग अनुमति र आशिर्वाद माग्दछु । र यहाँहरू समक्ष म जे जति भन्नेछु, त्यो मेरो ‘काय, वाक, चित्तले जे भन्दछ, त्यै प्रस्तुत गर्नेछु’ भनि प्रतिज्ञा गर्दछु । साथै मैले जानेबुझेसम्म भगवानबुद्ध र वहाँका बुद्धसन्ततिका वचनको म वाट कुनै बिरोध हुने छैन । कदाचित म मा रहेको कल्मष प्रकट हुन लागेमा, कुनै कतै केहि गरी मार्गभ्रष्ट हुनलाएमा वा अज्ञानतावश गल्तित्रुटी हुन पुगेमा कृपागरी यहाँहरूले तुरुन्तै मलाई नियन्त्रणमा लिई अनुशासित गर्नुहुनेछ भनि अनुरोध पनि गर्दछु ।
सभामा केहि कुराको आदानप्रदान गर्नुअघि परस्परमा जानपहिचान भए त्यस सभामा गरिने आदान प्रदानको विषयको प्रभावकारीता बढने हुन्छ । पूर्णरूपमा अन्जान व्यक्ति सङ्ग एक्कासी गहन छलफल हुनसक्दैन । यसैले मैले मेरो बारेमा नै पहिले केहि बताउन चाहन्छु । ‘म’, हुन त बुद्धधर्ममा ‘म, वा मेरो’ भनि प्रकाशित गर्नु हुँदैन, तापनि आपसी व्यवहारको लागि मात्र प्रयोग गरेको अर्थमा ‘म’ भनेर भनिए पनि क्षम्य हुनेछ भनि ठान्दछु । यसैले ‘म’, प्रकाश मान श्रेष्ठ, नामरूपधारी एक पुद्गल, जसले बोधिसत्त्वयानको बारेमा सुनेको मात्र तिन वर्ष भएको छ । महायान-वज्रयानको बारेमा जान्न खोजेको चियोचर्चा गर्न सिकेको मात्र तिन वर्ष भएको छ । त्यो पनि जागीरवाट रिटाएरमेन्ट लिएपछि र सुप्रख्यात संस्कृतिविद् दाई सत्त्यमोहन जोशीज्यूको कृपा वाट । यसैले यहाँ मैले आफूलाई यहाँहरू भन्दा कनिष्ठ मानी आफ्ना अग्रज श्रावकसङ्घ समक्ष म अनुजले विनयधर्म पालनागरी अभिवादन गर्न चाहन्छु । मेरो अभिवादन स्वीकार गर्नुहोस् । बोधिचित्त जस्तो गहन विषयमा म जस्तो भर्खरको शिशुवाट यहाँहरू जस्ता प्रबुद्धका सङ्घमा केहि बोल्दा, त्यो पनि पहिलो पटक, मेरो ज्ञान भन्दा अज्ञानता पोखिएमा त्यसलाई क्षमा गरिदिनु होस् । कदचित म वाट कुनै अहंकार प्रकट भएमा त्यसलाई औंल्याई सच्चिने मौका दिनुहुन विनती पनि गर्दछु ।
कुनैपनि व्यक्ति उसको पूर्वसंस्कार र वर्तमान संस्कारको समष्ठि हो । व्यक्तिका प्रत्येक कृयाकलाप सोच वा उसका सर्वाङ्गीण व्यक्तित्त्व उसले प्राप्त गरेको संस्कार र उसले संकल्पगरि गरेको कृत्यमा भर पर्दछ । यस हिसाबमा म आफूलाई भाग्यमानी ठान्दछु । हुनत बुद्धदर्शनमा भाग्य भन्ने कसैवाट दिइने वस्तु हुदैन न त वरदान भन्ने कुरा नै हुन्छ । बुद्धदर्शनमा यसलाई कर्म संस्कार भन्नु भनिन्छ, जुन मैले पाएको थिएँ । त्यसै संस्कारवश म डोरिएर यहाँसम्म आइपुगेको हो भनेर भन्न खोजेको मात्र हो ।
मलाई वर्तमान भवमा उत्पन्न गराउन मेरा मातापिताले अनेक अनुष्ठान सत्कर्म पूजाआजा प्रार्थना जप तप ब्रत गर्नु भएको थियो । वंशै अपूतो हुन लाएको बेला, सौताको आगमन हुन लाएको बेला, पञ्चैबाज घन्काएर कान्छी भित्र्याउने सवै तैयारी पूरा भइसकेको बेलामा, घरमा पाँचओटा खशीबोका बाँधिसकेको बेला मेरो गर्भवास भएको रहेछ । सारा टोल छिमेक नातागोता बन्धुबान्धव इष्टमित्रको पुकार प्रार्थनाको माझ मेरो जन्म भएको रहेछ । कुलमा लागेको अन्धकारलाई हटाउने र मेरी बसुन्धरा जस्ती मातालाई नयाँ जीवन दिने भनेर मेरो नाम ‘प्रकाश मान’ राखिएको रहेछ । यसैले मेरो जन्म पछि मेरो पालनपोषण र योगक्षेम कल्याणको लागि मेरी आमाले के गर्न बाकि राख्नु भयो होला ? खैर, यस कथा लामो छ । कुनैबेला पछि फुर्सदमा चर्चा गरौला । अहिले भन्न खोजिएको के भने मेरो जन्म एक संस्कारित जन्म थियो । मातापिताको तपस्याको फल थियो । टोल छिमेक बन्धुबान्धले मागेको प्रसाद थियो । म आमाबुबाको मनोरञ्जनको दुर्घटनावाट जन्मिएको थिइन । शायद यसैले होला म मा जन्मजात सद्गुणहरू भएको मै आफै पनि अनुभव गर्दछु । मेरो आफ्नै अनुभवको सर्वाचीन संस्मरण पनि आमाको काखमा बसी सारीको आँचलभित्रबाट कुनै पण्डितब्राह्मणले गरेको कथावाचनको अनुहारमात्र रहने गरेको छ ।
यसैले होला म मा महाभारत र रामायणका कथा सानै उमेर मैं कण्ठस्थ भइसकेका थिए । गुरु, बाजे वा मान्नुपर्ने बृद्धजनलाई जहाँ देखे पनि चाहे बाटैमा किन नहोस्, सहजै ढोगिदिने गर्दथेँ । हप्ताको छ दिन स्कूलमा क ख ग घ पढने गर्दथें, र त्यसको सातौंदिन क्रिश्चियन मिशनरीहरूले चलाएको सन्डेस्कूलमा बाइबिलका कथा सुन्न जान्थे । हाम्रो घरको एकघर तल आनन्दबिहार भन्ने एक बुद्ध देउताको मन्दीर थियो, जुन अहिले पनि छ, त्यहाँ खेल्न जान्थेँ । त्यहाँ रहेको गोलो घातुको पाटामा बस्थेँ । अहिले थाहा पाएँ, म धर्मधातुमण्डलमा बस्ने गरेको रहेँछु । संगैको बज्रको चुचीमा मुख गाडी बच्चाले दुध पिएको जस्तोगरी खुब दुध पिउँथेँ । मैले साँच्चै घुटुघुटु दूध पिएको नै अनुभूति गर्दथेँ । घुटुघुटुको आवाज पनि निकाल्थे । शायद मान्धाता राजाले पनि यस्तै गरेका होलान् ।
म यो पनि किन उल्लेख गर्दैछु भने कुनै पनि उदाहरण दिंदा, उपदेश दिंदा, अनुशिक्षणगर्दा यथाशक्य आफ्नै अनुभूतकुराहरू अगाडी राख्नु पर्दछ । अन्यथा, त्यसको स्रोत उल्लेख गर्नु पर्दछ । कल्पनाले बखान गर्नुहुन्न । यसैले यहाँ उल्लेख गरिएका कुरा आफ्नो परिचय दिनको लागि प्रस्तुत गर्न खोजेको हो, यसलाई अन्यथा नलिनु होला । भगवान बुद्ध साक्षी हुनुहुन्छ, यी कुरा सत्त्य हुन् । म भगवान बुद्धको आनुभाव वाटै यो भन्दैछु, उदाहरण दिंदैछु ।
मैले, यस्तो एकातिरवाट हेर्दा आत्मप्रवञ्चना लाग्ने गरी किन जानीबुझी भन्दैछु होला । यहाँहरूलाई यस्तो लाग्न सक्छ । यस्तो अनुभूतिहुनु सामान्य नै हो, स्वाभाविक पनि हो । बरू यस प्रवञ्चनालाई सहजरूप लिएका यहाँहरूमध्ये कतिजना हुनुहुन्छ, हेरौं । सहजरूपमा लिएकाहरू सबै बोधिसत्त्व हुनुहुन्छ । यहाँ ‘बोधिसत्त्व’हरूलाई मेरो अभिवादन छ । बोधिसत्त्वलाई म प्रणाम गर्दछु । यहाँहरू पनि बोधिसत्त्व नै हुनुहुन्छ भन्ने कुरा यहाँहरूलाई पत्यार लागेन ? हनुमानलाई आफ्नो शक्तिको संस्मरण नभएको जस्तो । यो सत्त्य हो ।
अब मेरो प्रवञ्चनालाई सहजरूमा लिन नसकि मनमा खुल्दुलि लागेका, कदाचित यो किन भनेको होला भन्ने विचार मनमा प्रस्फुट भएकाहरू पनि हुनुहुन्छ होला । उहाँहरू प्रज्ञामार्गमा लाग्नु भएका हुन् । वहाँहरू कुनैपनि कुरा भनेको भरले स्वीकार नगर्ने हुनुहन्छ । बुद्धिको कसीमा जाँच्नुपर्ने । इन्टेलेक्चुयल । ज्ञाने परिसमाप्यते, गीतामा भनिएकै हो ।
अब कसैलाई, छ्या यस्तो पनि भन्ने कस्तो मान्छे होला, कस्तो घमण्डी रै छ, फुँइ गर्नुपर्ने भन्ने भाव पनि आएको होला; यहाँमा क्लेशमल द्वेष रहेछ भनि बुझनु होला । फेरि, तपाइहरूमध्ये कोहि केहि बुझेपनि नबुझेपनि लाटाले केरा हेरे जस्तो गरेका भए, उनीहरू मोहग्रस्त हुनुहुन्छ भनेर जान्नुहोस् । मोहग्रस्त हुनु भनेको राग या द्वेषग्रस्त हुनुभन्दा खतरनाक अवस्था हो । जे होस्, यसरी आफूले आफैलाई कुन वर्गको हो, कुन कुलगोत्रको हो भन्ने बुझने प्रयत्न गरेमा तपाईमा संस्कार रहेछ भनि जान्नुहोस् । आफ्नो पूर्वसंस्कार लाई खोतल्नुस्, भविष्यमा हुने गतिवारे सोच्नुहोस् । सेल्फ करेक्टिंग सिस्टमवाट अपरेट हुनुहोस् । केही संशय भए धर्मसभामा पोख्नुहोस् । रावणले दशओटा टाउकाहरूले एक आपसमा हेराहर गरी कुराकानी गरी आफैंमा छलफल गरेको जस्तै आफूले आफूलाई अवबोध गर्नुहोस् । दश किसिमले हेर्नुहोस । बोधिमार्ग भनेको यही नै हो ।
अव अज्ञान के हो, हेरौं । ज्ञान भनेको त सवैले बुझेकै हो । यहाँ यस हलभित्र उपस्थित सवै ज्ञानवानहरू नै हुन् । यस सभा भन्दा वाहिरका पनि सवै नै ज्ञानवानहरू नै हुन् । त्रिलोकमा सकल सत्त्वप्राणि सवै ज्ञानवान नै छन् । धेरै होस् थोरै होस् सवैमा ज्ञान छ । ज्ञानको नितान्त सर्वथा अभाव भएको कोहि छैन । यसैले तपाइहरू मध्ये कोहि पनि अज्ञानी हुनुहुन्न । वास्तवमा भन्नुपर्दा मैले आजसम्म अज्ञानी कोहि पनि भेटेकै छैन । बरू मैले विरोधी वा द्वेषी भेटेको छु, प्रेत वा नरकवासी भेटेको छु, तर ज्ञानहीन कोहि पाएको छैन । म भन्दा बढीज्ञानवाला, वा म भन्दा कम ज्ञानवाला भेटेको छु । तर अज्ञानी कोही कतै भेटेको छैन । यहाहरू मध्ये कोही अज्ञानी भए हात चैं उठाउनु होला, म दर्शन गर्न चाहन्छु । पूर्णरूपमा ज्ञानी र आत्यन्तिक अज्ञानी यी दुबै सीमान्तका कोटिष्ठ हुन् । उपमामा मात्र हुन्छन् । भगवानबुद्ध पनि त्रिकालका सकल सत्त्वप्राणिहरू मध्ये सर्वाधिक ज्ञानी हुन; यसैले सम्यकरूपमा सम्बुद्ध भनिएका हुन् ।
यहाँ मैले व्यक्त गरेका भनाई मेरो विचार हो, जुन त्रुटीपूर्ण हुनसक्दछ । वा यहाँलाई मन नपर्ने पनि हुनसक्दछ । तर, मेरो भनाईलाई भगवान बुद्धले नै दिनुभएको स्वतन्त्रताको अधिकारको प्रयोग गरेर राख्दैछु । आफैलाई पनि नकार्न सक्ने अधिकार दिएका वहाँ सिद्धार्थ गौतम यसैले मेरा सर्वाधिक प्रिय छन्, मेरा सर्वश्रेष्ठ आदर्श हुन् । यसैले भगवान पनि हुन् । अद्वितीय ।
अव आफ्नो विषय तिर फर्कौं । दिइएको विषय भन्दा वाहिर जानु हुँदैन । बोधिचित्त र समाजसेवामा चार शव्दहरू छन्; ‘बोधि’, ‘चित्त’, ‘समाज’ र ‘सेवा’ । यी चार शव्दहरूको अर्थ हामीले कसरी बुझेका छौं, हेरौं ।
बोधि भनेको भनेको विबुद्धता हो, जति हुनुपर्ने हो त्यति मात्रामा फक्रिनु हो, अर्थात् जान्नु बुझ्नु र प्रकाशित हुनु हो । बोधि भनेको जाग्रत हुनु हो । जाग्रत हुनु भनेको आफू र आफू वाहिरको विषय वस्तुको संज्ञान लिनु हो । अवबोधन गर्नु हो । चेतनता हो, चैतन्यता हो । अवेरनेस हो । हिन्दूदर्शनमा समेत परमेश्वरका त्रि-स्वभाव, ‘सत्’, ‘चित’ र आनन्द’ मा चित् तत्त्वत्लाई चैतन्यता मानिएको छ ।
बौद्धदर्शनमा चित्त भनेको कुनै बाह्य ईश्वरीय सत्ता होईन, यो स्वसंवेदन हो । यसले स्वसंचालितरूपमा बाह्य पदार्थसंग लगातार आलम्बन लिइरहन्छ । यसैवाट उसले ‘आत्म’बोध’ गर्दछ । आर्टिफिसियली इन्टेलिजेन्ट कम्प्युटर जस्तो । भोलीको कुनै कम्प्युटरले बाह्य पदार्थसंग इन्टरएक्टगरी आफूले आफ्नो संरक्षण गर्ने, आफू जस्तै अर्को उत्पादन गर्न सक्ने र आफ्नो गुणक्षमता बृद्धगर्दै लैजानेगरी कसैले सफ्टवेयेरको विकास गरेमा त्यस लाई ‘चित्त’ भनेर नाम दिए फरक पर्दैन होला । त्यो ‘चित्त’ले लिने भाव नै ‘म’त्व हो । म भन्ने यसैले भाव मात्र हो । परिकल्पित र परतन्त्र । तपाइलाई पो थाहा छ त्यो ‘कम्प्युटर’ हार्डवेयेर र सफ्टवेयेरको एक प्रणाली हो, एउटा भौतिक उपकरणमात्र हो । तर, त्यसबेला उसले त आफूलाई नै ‘स्वयम्भू’ ठान्नेछ । यसैले पञ्चमहाभूतको संयोजनवाट स्व:उत्पन्न हुने भूतभौतिकीय गुण हो, ‘चित्त’नामधारी तत्त्व । यसलाई आत्मावादीले परमात्मा, ईश्वर, जीब पनि भन्दछन् । यसैलाई मन वा हृदय पनि भनिने गरिन्छ । यी सवै नामशव्दका सूक्ष्मअर्थ फरक फरक भएतापनि सामान्य अर्थमा पर्यायरूपमा प्रयोग गरिन्छन् । यी सूक्ष्म विभेदहरूलाई यहाँ केस्रा केस्रागरी केलाउने यस सभाको अहिलेको उद्देश्य होईन; यसैले त्यसलाई यहाँ विराम दिउँ । कुनै बेला हेरा रत्न शाक्य सरले मौका दिनु भए पछि फेरि कुरा गरौंला ।
बरू यो जानौं कि चाहे व्यक्ति भनौं, चाहे पुद्गल, वा सत्त्वप्राणी, जीव, आत्मा, जे भनिएपनि त्यो तत्त्वरूपमा के हो । हिन्दूका छओटा, र यहूदि, क्रिश्चियन वा मुस्लिम दर्शनहरूमा ‘व्यक्ति’लाई ईश्वरभन्दा भिन्न एक इश्वरीय अंश मानिन्छ । चाहे निराकार होस् चाहे साकार । अद्वैतले ‘सर्वं खल्विदं ब्रह्म’ भनेता पनि ईश्वरको सत्ता भने स्वीकार्छ । उनिहरूको धारणामा व्यक्ति भनेको समष्ठिईश्वरीय सत्ताको एक सानोअंश, ‘व्यष्ठिजीब’ हो, जो भूतभौतिकीय पिंजडामा रहन बाध्य छ । यसैले बुद्धदर्शन ईतरकाले यसको उत्पादक (अर्थात् जेनेरेटर), नियन्ता (अर्थात् अपरेटर) र लयकर्ता (अर्थात् डिस्ट्रोएर) कुनै बाह्यशक्ति छ, जुन ईश्वर हो भनि मान्दछ । तर यहाँ बौद्धदर्शनमा पञ्चमहाभूतको संयोजनवाट स्वत: उत्पन्नहुने चित्तचैतसिकता वा पञ्चस्कन्धरूवाट ‘म’ भन्ने उत्पन्न भाव एक भ्रममात्र हो भन्दछ । यसैले हिन्दू’चित्त’ परमेश्वरको सत्तावाट संचालित हुन्छ भने बौद्धदर्शन’चित्त’को संस्कारको एक प्रवाह मात्र हुने गर्दछ ।
अब फेरि चित्तसंग टाँसिएर बसेको चित्तको जस्तै आचार व्यवहारगर्ने तर तृष्णा जगाउने चैतसिक भन्ने अर्को तत्त्व पनि छ, भनि बुझनु पर्दछ । हामीलाई इच्छा द्वेषतर्फ लैजाने यही चैतसिक भनिने क्लिष्टमनोविज्ञान हो । यसैलाई चित्त भनि चित्तसंगै घोलमेल गरेर भनिने पनि गरिन्छ । यसैले चित्त शव्द प्रयोग गर्दा हिन्दू’चित्त’, बौद्ध’चित्त’ वा ‘चैतसिकता’ के हो भन्ने प्रसंग संग जोडि हेर्न जरूरी हुन्छ । यहाँ हामीले हाम्रो विषयमा दिइएको ‘चित्त’ वास्तवमा क्लिष्टमनोविज्ञान हो । यस क्लिष्टमनोविज्ञानले जब बोधिज्ञानतर्फ आलम्बन लिन्छ, त्यो बोधिचित्त हुने गर्दछ । अर्थात् आफूले आफूलाई जब बुद्धता तर्फ लैजाने, शुद्धता तर्फ लैजाने आफूमा लटपटिएको अकुशलसंस्कार क्लेशमलहरूवाट मुक्त हुन प्रयास गर्दछ, त्यसबेला बोधिचित्तको उत्पाद भएको मानिन्छ ।
हामीलाई थाहा छ जीवन दु:खसत्त्य हो । चित्त आनन्दसत्त्य हो । चित्त मैत्रीकरूणाको अप्रमेय भण्डार हो । जब चित्तलाई क्लेशमल वा अविद्याले छोप्न थाल्दछ दु:खवेदनाले जीबलाई ग्रहण लगाउँछ । जति जति चित्त क्लेशमलबाट विशुद्ध हुँदैजान्छ दु:खसत्त्य निरोध हुँदै जान्छ र मैत्रीकरूणा बिवुद्ध हुँदै आउँछ । बोधिचित्त भनेको यही नै हो । यसैले बोधिचित्त भन्नाले ज्ञानको अवबोधन मात्र होईन, त्यस बुद्धज्ञानको आफैमा परीक्षणगरी स्वानुभूत गर्ने पनि हो, र अझ त्यस भन्दा गुरुतररूपमा भन्नुपर्दा त्यस अनुभूत सत्त्यलाई सवैमा बाँडनु वा परिपालन गराउनु पनि हो । अब यही ज्ञानलाई बाँडने कसरी हो ? यो परिपालन गराउने कसरी हो ? के आदेश निर्देश, नियन्त्रण, छेकबार वा मन्त्रणा गरी गर्ने हो यो ? होईन होईन । त्यसरी होईन । घोडालाई तानेर पानीको स्रोतसम्म लग्न सकिन्छ तर उसलाई उसको इच्छा बेगर पानी पिलाउन सकिन्न । यसैले त्यस्ता छेकबार आदि गरेर जोरजबर्जस्ती बोधिमार्गमा पठाउने भनेको हुनै सक्दैन । बोधिमार्गमा निर्याण गराउन मैत्रीकरूणा नै चाहिन्छ । कसैको इच्छाबिरूद्ध गर्न हुँदैन । बोधिमार्गमा विजय भनेको मैत्रीकरूणाले वशमा गर्ने हो, इच्छाविरूद्ध होइन । नत्र बोधिसत्त्वको आँसु किन बग्थ्यो ।
चित्तको क्लेशमल भनेको रागद्वेषआदि क्लेश, उपक्लेश र संक्लेशहरूको समूह हो, यसलाई क्लेशावरण भनिन्छ । यस वाहेक अर्को आवरण पनि हुन्छ, जुन ज्ञेयावरण हो । यो ज्ञानको आवरण हो । जवसम्म आफूमा ज्ञान भएको अवबोधन हुँदै गर्दछ चित्त पूर्णरूमा विमुक्त भएको मानिंदैन । हिन्दूधर्ममा ज्ञानको सिंढी चढी जतिसुकै माथी उक्लिए पनि पछि त्यही ज्ञानरूपी सिढीलाई लात्तीले हानी नखसालेसम्म ब्रह्मज्ञान प्राप्त हुन सक्दैन भनिएको छ । ज्ञेयावरण भनेको यही हो । यसैले पुद्गलनैरात्म्य र धर्मनैरात्म्य दुवै बुझनै पर्दछ । अर्थात् स्थवीरवाद र महायान रूपी दुवै खुट्टा प्रयोग नगरी बुद्धयानमा मार्गस्थ भए हामी केहि लङ्गडो नै रहने छौ । आकाशमा बादल कालो होस् वा सेतो, बादल बादलै हो, यसले घामलाई छेक्छ । जबसम्म यी दुवै प्रकारका बादलहरू हटदैनन् आकाश गगन, गते गते पारगते, भएको हुँदैन ।
यसरी गगनवत् भएको बोधिचित्त मैत्रीकरूणाको अनन्त भण्डार भएको हुन्छ । जतिजति आवरण हटदै जान्छ बोधिचित्त प्रकट हुँदै आउँछ । यसको कोरोलरी भनौं जतिजति मैत्रीकरूणा उत्पाद हुँदैजान्छ, त्यतित्यति चित्तको आवरणहरू फाटिदै जान्छ । यसैले कसैलाई भलोकल्याण गर्ने बोधिचित्तको उत्पाद हुनेसाथ त्यो सत्त्वप्राणी बोधिसत्त्व भैसकेको हुन्छ । बौद्धदर्शनको प्राण नै मैत्रीकरुणा हो । मैत्रीकरुणा भन्नु नै बोधिशव्दको सार हो । मैत्रीकरुणा प्रकट हुनु नै बोधिचित्तोत्पत्ति हुनु हो । यस धर्मसभामा उपस्थित यहाँहरूमा अरूको भलो कल्याणगर्ने चित्तको उत्पाद भएको छ कि छैन ? पक्कै भएको होला । यसैले तपाईहरू सबै पनि बोधिसत्त्व हुनुभयो । हो कि होईन ? बरू यहाँहरू मसाने बैरागी जस्तै क्षणिकरूपमामात्र बोधिचित्त उत्पाद गरेको नहोस् । अब यहाँहरूमा बोधिचित्त उत्पन्न भएकोले यहाँहरू कालान्तरमा सम्यकसम्बुद्ध हुने पक्का भयो । यो बुद्धवचन हो, बुद्धले गर्नुभएको व्याकरण हो । यसैले तपाईका हृदयमा बलेको बोधिचित्तको ज्योतिलाई तेल घ्यू थप्नुस् । अझै छिट्टै वा तुरुन्तै वा यही क्षणमा सम्यकसम्बुद्ध हुने आकांक्षा भए अझै मट्टीतेल वा पेट्रोल नै थप्नुस् । यो सबै तपाइ मैं भर पर्ने कुरा हो ।
अब हेरौं समाज सेवा । सेवा भनेको ‘स’ र ‘एव:’ हो अर्थात् ‘उ पनि म जस्तै’ भन्ने हो । मैत्रीकरूणा नै हो । यसैले सेवा भनेको ‘उ’को परिचर्या गर्ने हो, ‘उ’को भक्ति गर्ने हो, ‘उ’लाई पूजा गर्ने हो, ‘उ’को आवश्यकता पूर्ति गर्ने हो, ‘उ’लाई परेको अप्ठ्यारो बाधाअडकाउ फुकाउने हो, ‘उ’को रोगव्याधि बाट मुक्त गर्ने हो, ‘उ’को क्लेशमलवाट विमुक्त गर्ने हो, अर्थात् हरेक ‘उ’का आआफ्ना स्वभावलाई विबुद्धरूपमा प्रकाशित हुन दिई प्रभास्वर गर्नु हो । यसैले सेवागर्न ज्यादै गाहारो हुन्छ । रामायणमा सेवा गर्ने लक्ष्मण १४ वर्ष सुतेका थिएनन्, न दिउँसो न राती । महाभारतमा सञ्जय दिनभरी युद्धगरेर फेरि रातभरी धृतराष्ट्रलाई युद्धको वर्णन गर्नुपर्दथ्यो । हनुमानको त कुरै नगरौं, रामचरितमानसमा उसलाई ‘सचिव’ भनिएको छ । हाम्रा सचिवज्यू हरूलाई आफूलाई किन सचिव भनेर नामपद दिएको होलान् भनि कहिले सोच आए आएनन् थाहा भएन । देवी यशोधरालाई नै लिउँ । बिचरी यशोधरा, उसलाई कसैले सम्झदैन । यशोधरा कोहि भन्दा कम थिइनन् । विदुषी यशोधराले भगवानबुद्धको कपिलवस्तु आगमन हुँदा सोधेकि थिइन्, के यहाँको कार्य यहाँ घरमै बसी सम्पन्न हुन सक्दैन थियो ? जसको जवाफ भगवानले समेत दिनु भएको थिएन । त्यस्ती यशोधरा आफ्ना पति राजकुमार सर्वार्थसिद्धार्थले महानिभिष्क्रण गर्दा निद्रा नपरेतापनि सुतेको एक्टिंग गरेर आफ्ना श्रीमानको मार्गमा बाधा नपुराई सहयोग गरेका थिए । बुद्धले जब जब जन्म लिएका थिए तब तब यशोधराले हरेक पटक उसलाई पूर्णतामा लैजान मद्दत गरेका थिए, हरेक पटक सेवा गरेका थिए । यसैले यशोधरा सेवाको प्रतिमूर्ति हुन् । यो कुरा स्मरणमा रहोस् ।
अब हेरौं समाज । कतै क्षेत्री समाज त कतै ज्यापू समाज । कतै श्रेष्ठसमाज त कतै हजामको पनि समाज । यसै गरी सवै संघ, संस्था, निकाय, ट्रेड यूनियन, अनेक अनेक दबाव समूहहरू । खण्ड विखण्ड भएको समाज । ती सबै सबै आजका समाज हुन् । हामीले आजको भाषामा बुझ्ने गरेको समाज यही नै हो । आफ्नो जातीय वा वर्गीय वा समुदाय वा पेशागत वा भौगोलिक वा निष्ठाको आधारमा जम्मा भएका समूहको भीड, आजको समाज । आजका यी समाज आफ्नो र आफ्ना सदस्यहरूका बिच समूहगत हितकल्याण गर्न बनिएका हुन् । सङ्घौ शक्ति कलौ युगे । यो ठीक पनि हो । तर, यिनिहरूले आआफ्नो सङ्घ भित्र रहेर आफ्ना स्वार्थसाधना गर्दा आफू इतरका बृहत्तर समष्ठिसमाजको हित बिरुद्धको कार्यमा लाग्नु हुँदैन । त्यत्ति अनुशासन त पालन गर्नु पर्दछ । अधिकारसंग कर्तव्य पनि गाँसिएको हुन्छ । आआफ्नो साथै बृहत्तर समाजको हितसाधना हुने कार्य गर्नु पर्दछ, त्यो गर्दा कमसे कम बृहत्तर समाजको कल्याणमा हानी नहोस् । प्यारेटो अप्टिमा भनेको यहि हो कि ? तर, यसरी आफू इतरको बृहत्तर समष्ठिसमाजको हितकल्याणको कार्य गरेको ज्यादै कमै अनुभूत हुने गरेको छ । यो मेरो क्लेशमल बोलेको हुनसक्छ, तर म चाहन्छु, म गलत सावित होउँ ।
यसैले कदाचित, आयोजकले मलाई दिएको विषय यस्तै ‘स्वार्थी’समाजको सेवा कसरी गर्ने हो भन्ने भनाइ रहेको भए कृपया स्पष्ट गरिदिनु होला । म पछि फेरि त्यसमा फर्कनेछु ।
हाम्रो बुद्धदर्शनको महायानी-वज्रयानी परम्परामा नववैपुल्यसूत्रहरू धर्मका आधारभूत शास्त्रहरू हुन् । त्यसमा ‘तथागतगुह्यक’ नामको एक ग्रन्थ पनि छ, जसलाई ‘गुह्यसमाज’ पनि भनिन्छ । यो बुद्धदर्शनको पहिलो र सर्वाधिक मान्यताप्राप्त तन्त्रशास्त्र हुो । तन्त्रशास्त्र भनेको मारण, मोहन, वशीकरणगर्ने बोक्सी विद्या होईन, ती त तन्त्रज्ञानको विकृतरूप हो । तन्त्रज्ञान सर्वोच्चहित गर्ने ज्ञान हो । यसले न्यायशास्त्रका आठैओटा प्रमाणहरू लाई ग्रहण गर्दछ । अगम भएकोले आगम पनि भनिन्छ । गुरुवचनद्वारा ग्रहणगरी आगमन गराउनुपर्ने भएकोले पनि आगम भनिन्छ । खैर, यो कुरा यहाँ छोडौं अहिलेको यो हाम्रो विषय होइन । त्यस पवित्र तन्त्रशास्त्रमा प्रकटगरी देखाउन नसकिने अर्थात् गुह्यता मा रहेको काय, वाक र चित्त गरी त्रि’समाज’को मिलनलाई समाज भनिएको छ । बौद्धधर्मको अद्वैत पक्ष यही हो । अर्थात्, समाज भनेको काय, वाक र चित्तलाई एकाकार गर्नु हो । यो भनेको चित्तको मनन गर्ने, शरीरको चेष्टाकर्म गर्ने र वाकको बोल्ने कार्यहरू एउटै विषयविन्दुमा राख्नु हो । त्रिपुरासुरका तिनजना छोराहरूले आकाशमा सुन चाँदी र फलामका तिनओटा लोकहरू बनाई चलायमान राखि ति तिनैओटा एकैबिन्दुमा त्रिपुटि परेको बेलामात्र एकैक्षणमा एकै बाणले नाश गर्न सके मात्र नष्ट हुनसक्ने भन्ने वरदान रहेको कथा सवैले सुनेकै हो । स्वस्थानिकथामा यसको उल्लेख छ । बोधिचत्त भनेको पनि त्यही हो । चाहे ध्यान गर्नुहोस्, चाहे कर्म गर्नुस्, चाहे सेवा गर्नुस् मन, वचन र बोली एकै त्रिपुटिमा रहोस् । पाखण्डता नहोस् । त्यत्ति मात्र हो । समाधि भनेको पनि यही नै हो ।
यो कुरा न यहाँ हरूलाई किन भन्दैछु भने यहाँहरूको लागि बुद्धदर्शन कुनै नौलो विषय होईन । यहाँहरू म जस्तो भर्खरको बामे सर्न लाएको नवजात शिशु पनि होइन । मलाई लाग्दछ बौद्धशास्त्रले यही भन्छ । शास्त्रीय परिभाषा यहि हो । दुई-अढाई हजारवर्ष पहिले बनाईएको यी सूत्रका शव्दका वास्तविक आशय के हो भनि सटिकतासाथ भन्न मुश्किल छ, तर मैले बुझेसम्म यही नै हो । बरू, तपाइले कसरी बुझनु भयो मलाई थाहा छैन । यहाँले अन्यथा रूपमा बुझे पनि हुन्छ । म तपाइको विचार स्वतन्त्रताको सम्मान गर्दछु । बिरालो कालो होस् वा सेतो उसले मुसाको शिकार गर्नुपर्दछ । समाज भनेको पनि त्यस्तै हो । हेर्नुहोस्, बौद्धसङ्घमा पनि चार कारणले भिक्षु बसेका हुन्छन् । फेरि सवै कारण वा हेतु प्रत्यवाट संचालन हुने हो । ती हेतुलाई पहिचान गरी त्यसलाई उपायकौशल्यतागरी आफ्नो काय, वाक र चित्तलाई एउटै बनाई समाज सेवा गर्नुहोस् । तपाईका शरीरका कृयाकर्म, चर्या, अनुष्ठान, आजिबीका, आहार, विहारलाई कुशल पवित्र र धार्मिक बनाउनु होस् । तपाइका वचन शान्त, शीतल, शुद्ध, होउन; कौकृत्य गर्न नपरोस्, भित्र जे छ त्यही मात्र प्रकट गर्नुहोस् । चित्तलाई त केहि गर्नै पर्दैन । खाली यसमा टाँसिएका, मिसिएका, अल्झिएका घोलिएका विकारहरू वाट यसलाई शुद्धि गर्नुहोस् । त्यत्ति गरे पुग्छ । यसको लागि विपश्यनमा गर्नुस् । यसवाट पञ्चरङ्गी रङ्गमा आकाशधातुले ढाकेसम्मका क्षेत्रमा निर्मलज्योति प्रभास्वर हुनेछ ।
त्यो भनेको के त ? तपाई श्रावकयानमा सहजता साथ लागेको भए निर्वाण हुनु हुनेछ । महायानमा लागेको भए निर्वाण नलिई बोधिसत्त्व-महासत्त्वभई जगतहितको लागि अनन्तकालसम्म चर्या गर्नुहुनेछ । प्रत्येक-बुद्धयानमा भए खग्गविषाण जस्तै एकलै बुद्धत्व प्राप्त गर्नुहुनेछ । वज्रयान भए तपाई यसै जन्ममा नै सम्यकसम्बुद्ध हुन सक्नुहुनेछ । तपाई शय जन्ममा, सातजन्ममा, यसैजन्ममा वा एकैक्षणमा पनि अभिसम्बोधि पाउन सक्नुहुनेछ । यो सवै तपाईको प्रयासमा भर पर्ने हो । यो कुनै धर्म वा सम्प्रदाय विशेषको सत्त्य होइन । सर्वकालीन र सर्वदेशीय हो । यसैले यो बोधपुरुषको दर्शन हो, बुद्धिको दर्शन हो, बुद्धको दर्शन हो, प्रबुद्धको दर्शन हो, विबुद्धको दर्शन हो, सम्यक्सम्बुद्धको दर्शन हो ।
अब यी चारैओटा शव्दहरू, ‘बोधि’, चित्त’, ‘समाज’ र ‘सेवा’लाई एक ठाउँमा राख्दा यो निश्चय हुन्छ कि यो एक बोधिसत्त्व-महासत्त्वको चर्या रहेछ । बोधिचर्या रहेछ । शान्तिकर आचार्यको बोधिचर्यावतार पढनु भएकै होला । दशपारमिता सुन्नु भएकैहोला । दशभूमिश्वर देख्नु भएकै होला । सुवर्णप्रभाका करूणामय अवलोकितेश्वर बोधिचर्याका उत्कृष्ट उदाहरण हुन् । अझै गम्भीररूपमा लाग्ने भए अभिधर्म हेर्नुहोला ।
क्रिश्चियनको मदर मेरी वा मेरि मग्दालिन पनि करूणा कै अवतार हुन् । जिसस ख्रिष्ट समेत महायानी बुद्धधर्ममा दीक्षित थिए भन्ने पनि भनिएको पाइन्छ । हिन्दूहरूको मत्स्येन्द्रनाथ करूणाका अवतार हुन् । हाम्रा बुङ्गद्यो, जसलाई अवलोकितेश्वर पनि भनिन्छ, वहाँ स्वयं करूणामय हुनुहुन्छ । उहाँ ‘शून्यता’को प्रतीक माता कामख्याकी पुत्र हुन् । उहाँ माताले गरेको विरोध वावजूद सुदूरटाढाको नेपालवासीका तीर्खा मेटाउन यहाँ आइदिनु भएका हुन् । यसैले करूणामय भनिएका हुन् । त्यति मात्रै हो र, लोकधातुमा एउटा सम्म पनि सत्त्वप्राणी रहेसम्म उसलाई निर्वाणमा नपठाई म निर्वाण लिनेछैन भन्ने ‘न भूतो न भविष्यति’को प्रतीज्ञा गरेका महासत्त्व हुन् । यसैले वहाँ करूणामय भगवान अवलोकितेश्वरलाई साक्षीराखी, वहाँलाई आदर्श मानी वहाँको संरक्षणमा, वहाँको निर्देशनमा हामीले आफूलाई समर्पित गर्नु वास्तवमा समाजसेवा हुनेछ ।
के तपाइमा सत्त्वप्राणीको सेवागर्ने भाव जाग्रत भएको छैन । यदी छ भने तपाई बोधिसत्त्व भैसक्नु भयो । अब तपाईको प्रगति हुँदै कालान्तरमा महासत्त्व पनि हुनु हुनेछ । तत्पश्चात सम्यक् सम्बुद्ध पनि हुनु हुनेछ । भविष्यका सम्यकसम्बुद्धलाई म श्रद्धा सहित अभिवादन गर्दछु । कृपया मेरो एडभान्स नमस्कार स्वीकार गर्नुहोस् । बोधिचर्या गर्दै जानुस् । मैत्री, करूणा, मुदिता र उपेक्षाको चतुर्ब्रह्मविहार गर्दैजानुस् । गर्दै जानुस् । गर्दै जानुस् । अझै गर्दै जानुस् । माइल्स टू गो बिफोर आइ स्लीप माईल्स टू गो बिफोर आइ स्लीप ।
तपाइले कसरी ‘सेवा’ गर्नु हुने हो त्यो तपाइ नै जान्नुस् । किनकि तपाइले सेवा भन्ने कुरालाई, कसरी लिनु भयो त्यो त्यसमा भर पर्ने हो । भनेको मतलब, सेवा तपाइको भित्री आभ्यन्तरवाट प्रस्फुटन गर्नुहोस् र जे प्रस्फुटन भयो त्यो पालना गर्नुस् । तपाई भित्रको तपाइले जे भन्यो, त्यो गर्नुस् । त्यसलाई बुद्धि वा तर्क लगाएर आफ्नो अनुकुल बनाउने प्रयास नगर्नुस् । चाहे कुनै वस्तु दिएर होस्, चाहे रोगव्याधिमा साथ दिएर होस, चाहे उसका मार्गदर्शक भएर होस्, सेवा गर्नुस् । सेवामा ठूलो सानो भन्ने हुँदैन । एउटा सामान्य घोटाको टापको एउटा सानो किल्लाको अभाव युद्धमा हारजीतको निर्णायक कारक तत्त्व हुन सक्दछ । यसैले जे गर्नुहुन्छ, काय, वाक, चित्तलाई एकाकार गरी गर्नुस् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै ‘मानिस भै मानिसको त्यो सुन्दर मुहार हँसाउनुस्’ । बरू सक्नुहुन्छ भने कुनै फल वा धन, मान, यश कीर्ति आजिबीका वा केहिको पनि परवाह नगर्नुस् । भए, बेशै हो । नभए, झन बेश भन्ने कुरालाई मनमा गाँठ बाँध्नुस् ।
तर, के यो यसो गर्नु यस घोर कलियुगमा सम्भव छ ? के कथामा भनिएका यूटोपियन वा प्लाटोनिक कथाकारितालाई जस का तस लागू गर्न सकिन्छ ? के पच्चीस सये बर्ष अघिको वातावरणमा स्थापित आदर्श आज व्यावहारिक हुनसक्छ? तपाइका मनमा कुरा खेल्या होला, मेरो मनमा जस्तै ।
मलाई लाग्दछ, ‘इन टोटो’ रूपमा कपिपेस्ट गर्न हुँदैन होला । तर, हुन त अवश्य हुनु पर्छ । बरू समयसापेक्ष परिमार्जन हुनै पर्दछ । उपायकौशल्य गर्नै पर्दछ । व्यवहार कुशल हुनै पर्दछ । संस्मरण गरौं, भगवानबुद्धको परिनिर्वाणको बेलामा भगवानले केहि सोध्न बाँकी छ भने सोध भनेर तिन पटकसम्म भन्दा पनि कसैले केहि सोधेन, भगवानको शारीरिक पीडामा आफै पनि पीडाबोध गरी भावविकल भई आनन्द भिक्षु लगायत सवै श्रावकसङ्घगण दु:खी हुँदै रूँदै बसे । जसको फलस्वरू बुद्धधर्ममा फाटो पर्यो । ‘अपरिवर्तनीय’ स्थवीरवाद र ‘परिवर्तनीय’ महासाङ्घिक धारहरूमा विभाजित भैगए । हाम्रो नेपालको पारम्परिक मार्ग महासाङ्घिक समूहको सन्तति भएर महायान र तत्पश्चात वज्रयान हुन पुगेको हो । आज बौद्धधर्मको भाई फुटे गँवार लुटे भन्ने कारक तत्त्व यही परिवर्तनको कुरा नै हो । यहि रोग आज पुन देशको राजनीतिमा देखापर्न थालेको देखिन्छ । कदाचित यहाँले यसमा केहि निकास दिन सक्नु भएका त्यो भन्दा ठूले सेवा देशलाई अर्को हुने थिएन जस्तो लाग्दछ ।
आज सेवा पनि निरपेक्ष गर्ने स्थिति छैन । अन्याय अत्याचारको विरुद्ध गुरा गरे राजनीति गर्यो भनिन्छ । कुनै केश रिपोर्ट गर्न पुलिस कहाँ गए पहिले तपाइलाई नै केरकार गर्छ । डक्टरले सेवा गर्दा फिस लिन्छ, कसैले त ठग्छ पनि । तैपनि सेवा गरेँ नै भन्दछ । मास्टरले तलब लिएर पढाउँछ तर गुरु भनाउन चाहन्छ । मूर्तिकारले आफूखूशी मूर्ति कुँदेको हुन्छ तर समाजसेवा गरेको भन्छ । म पनि राष्ट्रसेवक भई घुस्याहा मानिने करअड्डामा जागीर खाँदा त्यहाँ पनि ‘जलमल दिनु, झरेका फल खानु तर रूख नकाट्नु’ भन्ने अघोषित आदर्श थियो, सेवाभाव थियो । यसरी जसले ले कार्य गरेपनि, जे बोले पनि सेवा नै भन्ने चलन छ । यसैले सेवाको अर्थ बुझनु सरल छैन । तपाइलाई लाग्ला कसैको दु:ख हटाउनु सेवा हो । पक्कै होला । सर्पले भ्यागुतो निल्न लागेमा के गर्ने ? विष्णु भगवानले ग्राहलाई मारेर गजलाई बचाएको के सेवा भन्नुहुन्छ ? तपाइले अहिले पाएको दु:खकष्ट तपाइको पूर्वकर्मको कमाइ हो । आफ्नो कर्तूत भोग्न पर्ने कि नपर्ने ? तपाइ प्रतिप्रश्न गर्नुहोला पूर्वसंचित कर्म भोग्नै पर्ने भए आज फेरि धर्मकर्म किन गर्नुपर्यो त ? ठीक हो पूर्वकर्म लाई निर्बीजगरी विपाक गर्न सकिन्छ । तर, कसैले चेष्टा नै नगरेको, चाहना नै नभएको, दु:ख पाएको छु भन्ने ज्ञान समेत नभएकोलाई के गर्न सक्नुहुन्छ, गर्नुहुन्छ ? सुँगुर स्वर्गजान नमानेको जस्तो ?
मलाई एउटा घटना याद छ । शायद १९८४ को दिसेम्बर होला । अमेरिकाको बोस्टनको घटना । गरीब र मगन्तेहरू त्यहाँ पनि हुन्छन् । हिमपात भएकोले तिनिहरूलाई जाडो भयो होला भनेर सुरक्षित राख्न सरकारले उठाएर लग्यो । न्यानो कोठा र खाना पीनाको व्यवस्था गर्यो । तर, कुरा उठयो त्यस राज्यको संसदमा । के कसैलाई आफ्नो इच्छा बेगर लग्न पाइन्छ, चाहे राम्रै विचारले गरिएको किन नहोस् । यो स्वतन्त्रताको हनन भएन ? के तिनिहरूले मलाई न्यानो कोठा र खाना देउ भनेका थिए, भनेर । भोलिपल्टै सरकारले माफी माग्दै जहाँ जहाँ वाट उठाएका थिए त्यहिं त्यहिं पुराइदियो । कसैको भलो कल्याण या सेवा भनेको के हो त ?
यसैले सेवा गर्न तम्सिएका भगवान अवलोकितेश्वर किन रोएका होलान्, सोचौं । के वहाँमा सत्त्वप्राणिको उद्धारगर्न सक्ने क्षमता नभएर हो कि? त्यसो त होइन होला । कुरा के भने वहाँसंग गएर उद्धार गरि पाऊँ भनेर जाने भएनन् । सवै मस्त भए; जब सूर्य अस्त नेपाल हुवा मस्त । वहाँ त रथमा घुमाइ रमाईलो गर्ने वहाना हुनुभयो । छोयलाबजी खाने बहाना । हामी हिलोमा सुगुँर रमाए झै रमायौं । यसैले बोधिसत्त्व रुनु भयो । यसैले सेवाको परिभाषा के छ, तपाइ को ? आज सडकको बिचमा कसैलाई कुटे पनि लुटे पनि तपाई लुसुक्क परि जानु हुन्छ, टाउको अर्कोतिर फर्काएर । किन ? र फेरि सेवा गर्ने भाव व्यक्त गर्नु हुन्छ । यसैले पहिले आफू स्पष्ट हुनुहोस् । इफ्स र बट्स धेरै छन् । अनुत्तरित प्रश्न मात्र होइन ब्रह्मजालजस्ता जेलिएका कुराहरू धेरै छन । के सोच्नु हुन्छ । कि सेवा गर्ने विचार त्याग्नु हुन्छ ? डरछेरूवा भएर । यसैले भनिएको हो काय वाक र चित्तलाई एक गर्नुहोस् ।
सेवाको प्रथान सोपान दान हो । दान भनेको आफू मिटाई अरूलाई दिनु हो । तपालाई थाहा भएकै हो । दानवीरमा बलीराजा जस्ता कोहि भएनन् । उनले त्रिलोक पर्यन्त दान दिए आफ्नो टाउको समेतमा खुट्टा थापे । त्यत्रो ‘सेवा’ गरेर के पाए ? बल्लतल्ल उनै करूणामय भगवान गएर मुक्त गराउन पर्यो । रामचन्द्रले पनि सारा राज्य दान दिई कुनै ब्राह्मणको प्रतिनिधिभई कुशलतापूर्वक व्यवस्थापन सम्म गरेका हुन् । यसैले रामराज्य भनिएको हो ।
अर्को कुरा छ । अन्यायको विरूद्ध लडनु । यो सेवा हो कि होइन । शमशुद्दीनले नेपाल क्रमणगर्दा कुनै प्रतिरोध नगरी गई डाँडाको कुनाकाप्चा कन्दरामा लुकि धूपबत्ती बाली घण्ट बजाइ पाठपूजा गर्दैरहनु सेवा हो कि आक्रमणकारीको विरूद्ध होमिनु सेवा हो ? आआफ्ना विचार होलान् । मुण्डे मुण्डे मतिर्भिन्ने । तर, कमसेकम तपाइ आफ्नो गुणचरित्र संस्कारवश, स्वभाव अनुसार गर्नुस् । अर्जुनले जस्तै । कागले हाँसको प्वाँख सिउरेर हाँस बन्न सक्दैन, नौटङ्कि मात्र हुनजान्छ । यसैले काय वाक चित्त लाई एकाकार गर्नुस भनिएको हो । ‘सर्वधर्मं परित्यज्य मामेकं शरणं शरणं ब्रजेत्’ पनि यसैलाई भनिएको होला, शायद् ।
हिन्दू धर्ममा अहैतुकि कृपा भनिन्छ । यतो भनेको बिना कुनै कारण भएको कल्याणकार्य हो । बुद्धधर्ममा आफ्नो कुशलकर्मको पुण्यसंभार तुरुन्तै अरूको कल्याणको लागि परिणामाना गर्ने विधान छ । यसमा बुद्धि खियाउनै पर्दैन । वज्रबुद्धि भनेको यही हो । उनिहरूका अनुसार यस्ता तर्कसर्क गर्ने प्राणी बोधिसत्त्व हुनै सक्दैन । तर्क सर्क त ज्ञेयावरण हो । कुनै क्लेशावरण या ज्ञेयावरण भएका प्राणी बोधिसत्त्व-महासत्त्व हुनै सक्दैन । कृमिकिटलोक होस् वा नरकप्रेतलोक त्यहाँ गई त्यहाँका प्राणीलाई उद्धारगर्ने क्षीतिगर्भसंग भगवानबुद्धले त्यहाँ किन गएको भनि सोधेका थिए, उनले जवाफ दिएका थिए, ‘म नगए त्याहाँ को जान्छ त ?’ यही हो बोधिसत्त्वको आदर्श, बोधिचित्तको कथा व्यथा ।
अहिलेको परिप्रेक्षमा तपाईलाई यस्ता पच्चिस सये वर्ष पुराना परिवेशमा गढिएका कथाहरू सुनाएर त्यसै गर्नुस् भनेमा, मलाई विश्वास छ तपाइहरू पालना गर्न सक्नु हुनेछैन । कलियुगमा वीर्यताको कमी हुने छ भनिएकै हो । बरू त्यस्ता आदर्शका मूल मर्मलाई यथावत राखि आजको देश काल परिस्थिति अनुसार के कसो गर्नुपर्ने हो र त्यो के कसरी गर्न सकिन्छ भन्ने छलफल गर्न बेश होला । तपाइका जिज्ञासा जागृत पनि भए होला । बरू यसैमा छलफल गरौं । आपसमा ब्रेनस्टोर्मिङ्ग गरौं । त्यसो गर्न नै बेश होला । आजको समाजमा समाजका परिभाषा र गुणचरित्र धेरै बदलिइसकेको छ । यसैले यो एकोहोरो गन्थन गर्नु भन्दा त्यसै गर्न बेश होला । यहि उपयुक्त होला । यही बेश होला । कि कसो ?
यति भनि म मेरो भनाइ टुँग्याउन मेरा गुरुज्यू श्री भीमरत्न शाक्य र यहाँहरू संग अनुमति माग्दछु । साथै हेरारत्न सरले मस्यौदा हेरि मेरो बाल्य-अज्ञानतालाई औंल्याई सच्याइ दिनु भएकोमा म हार्दिक कृतज्ञता व्यक्त चाहन्छु । र यस प्रबुद्ध बोधिसत्त्व समाजले मेरो कमी कमजोरी लाई नहेरि क्षमा गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित दु:खभाग्जन ।
अस्तु ।
Text of lecture on ‘Social Service and Bodhicitta’ at YMBA (Young Men’s Buddhist Assosciation) Lokd Kirti Mahavihar, Lagankhel, LalitpurDecember 29, 2012